सम्पादकीयः डेंगुको जोखिम

कोरोनासँग जुध्दै आठ महिना वितेका छन् । कोरोनाको त्रास अहिले पनि कम भएको छैन । लकडाउनका कारण अर्थतन्त्र नै धरासायी बनेको छ । श्रमिकले रोजगारी गुमाएका छन् । विद्यालयहरु पूर्णरुपमा संचालनमा आउन सकेका छैनन् । यस्तो अवस्थामा विभिन्न प्राकृतिक प्रकोप र सरुवा रोगको संक्रमणले थप पीडा दिलाएको छ । कर्णालीमा कोरोनाबाट धेरैले आफन्त गुमाएका छन् । अहिले पनि धेरै नागरिक आइसोलेसनमा छन् । कोरोना रोकथामका लागि प्रदेश सरकार र स्थानीय तहले विभिन्न काम पनि गरिरहेका छन् । यही महामारीका बिचमा डेंगुको संक्रमण पनि फैलिएको छ । मुख्यगरी यसको असर कर्णालीको राजधानी वीरेन्द्रनगरमा देखिएको छ । पछिल्लो दुई साताको अवधिमा मात्र सुर्खेतमा साढे तीन सय जनामा डेंगुको संक्रमण भएको छ । यसमा अधिकांश वीरेन्द्रनगरका बासिन्दा छन् । स्वास्थ्यकर्मीका अनुसार एउटै परिवारमा धेरै सदस्यलाई पनि डेंगु भएको छ ।

कोरोना महामारीमा डेंगुको संक्रमणले थप जटिलता ल्याएको छ । चिकित्सकका अनुसार कोरोना जस्तै डेंगुको पनि औषधि छैन । डेंगुको लक्षणअनुसार उपचार गर्नुपर्ने हुन्छ । यसकारण पनि डेंगुको संक्रमणबाट जोगिनु र पूर्व सावधानी अपनाउनु नै बुद्धिमानी हो । तर पनि शहरीकरण, फोहोर र पानी जम्ने खाल्डाका कारण शहरी क्षेत्रमा डेंगुको संक्रमण फैलिएको हो । लामखुट्टेको टोकाइबाट यसको संक्रमण हुने गर्दछ । यसका लागि डेंगुबाट बच्ने मुख्य उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु हो । यसका लागि असोज र कातिर्कको महिनामा सक्रिय हुने डेंगु सार्ने लामखुट्टेको टोकाइबाट बच्न जरुरी छ । त्यसका लागि घरआँगनमा रहेका पानी जम्ने खाल्डा पुर्ने, पानी जम्ने खालका पुराना टायर हटाउने र आँगनलाई सफा गर्न आवश्यक छ । यसका लागि मुख्यगरी शहरी क्षेत्रमा टोल विकास संस्था र समूहले पहल गर्न सक्छन् । आफ्नो घर र आँगन सफा राख्ने र लामखुट्टेको टोकाइबाट बच्न सकेको खण्डमा डेंगुबाट बच्न सम्भव पनि छ । रोग लागेर उपचार गर्नुभन्दा पनि रोग नै लाग्न नदिनु उपयुक्त हो ।


समयमै उपचार पाएका कारण डेंगुलाई जित्नेको संख्या धेरै छ । तर डेंगुको संक्रमणबाट ज्यान नै जान सक्छ । औषधि नै नभएका कारण पनि यसलाई सामान्य रुपमा लिइनु हुँदैन । कोरोनाबाट त्रसित भएर आवश्यक सावधानी अपनाएजस्तै डेंगुको संक्रमणबाट जोगिन पनि आवश्यक सावधानी अपनाउनु जरुरी छ । वीरेन्द्रनगमा स्वास्थ्य कार्यालय र नगरपालिकाले त सचेतनामुलक अभियान थालेका छन् । सँगसँगै स्थानीय बासिन्दाले पनि लामखुट्टे नष्ट गर्ने अभियानमा सक्रिय हुन आवश्यक छ । सरकारी प्रयासले मात्र यस्ता महामारी र संक्रमणलाई रोक्न सम्भव छैन । यसमा व्यक्ति, समूह र टोलले पनि आवश्यक सतर्कता र सावधानी अपनाउनुपर्ने हुन्छ । कोरोना महामारीकै बिचमा देखिएको डेंगुको संक्रमणबाट जोगिन सबैले सतर्क हुनुपर्दछ । यसो भएको खण्डमा मात्र तीव्र रुपमा फैलिएको डेंगुको संक्रमणबाट सुरक्षित हुन सम्भव छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार