दुई हप्तासम्म पनि खुलेन डोल्पा जोड्ने मुख्य सडक

डोल्पा, २३ कात्तिक ।
डोल्पा जोड्ने मुख्य सडक अन्तर्गत पर्ने जाजरकोट–डोल्पा सडकखण्डको खदाङ्ग–त्रिवेणी खण्ड दुई सातासम्म पनि खुल्न सकेको छैन् । त्रिपुरासुन्दरी नगरपालिका ५ मा पर्ने कुच्ची भिर नजिकै दुई सय मीटर माथिबाट खसेको भिषण सुख्खा पहिरोका कारण अवरुद्ध भएको उक्त सडक दुई साता बितिसक्दा समेत खुल्न नसकेको हो ।

निरन्तर रुपमा माथिबाट सुख्खा पहिरो खसिरहेकाले सडक खुलाउन निकैनै समस्या भइरहेको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ ।
पहिरो पन्छाउनकालागि एक साता देखि दुई वटा डोजर प्रयोग गरिए पनि निरन्तर खसिरहेको पहिरोका कारण सडक खुलाउन नसकिएको वडा नं ६ का सदस्य अमृत सार्कीले जानकारी दिए । “लगातार डोजर प्रयोगपछि पहिरो घट्छ,फेरी खसेर जस्ताको तस्तै बनाई दिन्छ,काम गर्न निकै समस्या भएको छ” सार्कीले भने ।

पहिरो पन्छाउँदा पन्छाउँदै नगरपालिकाको डोजर आंशिक रुपमा पुरिएको र अर्को डोजर प्रयोग गरि निकालिएको वडा सदस्य सार्कीले बताए । पहिरो ठुलो भएकाले ज्यानै जोखिममा राखेर काम गर्दा समेते पन्छाउन नसकिएको डोजर चालकको गुनासो छ । सुख्खा पहिरोले सडक आसपासको पचास मीटर सडक पुर्ण रुपमा क्षति पुरयाएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

सामाग्री ढुवानी ठप्प
सुख्खा पहिरोका कारण दुई साता देखि अवरुद्ध सडक खुल्न नसकेपछि जिल्लामा दैनिक उपभोग्य सामग्री ढुवानी ठप्प भएको छ । सडक नखुलेकै कारण दुर्गमका जनतालाई सरकारल् उपलब्ध गराउँदै आएको सहुलियतको चामल समेत ढुवानी रोकिएको खाद्य ब्यवस्था तथा व्यापार कम्पनी डोल्पाले जनाएको छ ।

दैनिक उपभोग्यबस्तु तथा यात्रु बोकेर खदाङ्ग लागि हिँडेका जीप,ट्रयाक्टर लगायतका सवारी साधनहरु बिच पहिरो नजिकै आएर रोकिएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए । शुक्रवार जोखिम मोलेर तीनवटा ट्रयाक्टर र केही गाडी पास भएपनि निर्धक्क आवत–जावत गर्ने अवस्था सडक पुर्ण रुपमा खुलेपछि मात्रै रहने उनले प्रष्ट पारे ।

नजिकिँदै गरेको तिहारकालागि आवाश्यक चामल,तेल,माला लगायतका सामानहरु ढुवानीहुन सकेको छैन भने भएको सामानमा व्यापारीले मुल्य बडाएरु बेच्न थालेकाछन् । बाटोको कारण बजारमा सामान महंगिन थालेपछि उपभोक्ता मारमा परेकाछन् । जिल्लामा मानिस आवागमन गर्ने देखि सबै प्रकारका दैनिक उपभोग्य सामाग्रिहरु सस्तोमा ढुवानी गर्ने सजिलो एवं भरपर्दो सडकलाई यथासिघ्र खुलाउन सडक विभागलाई डोल्पालीको माग छ । अत्यावश्यक कामले आवतजावत गर्ने मानिसहरु ज्यान जोखिममा पारेर पहिरोबाटै हिँड्न बाध्य भएको स्थानीयले बताए ।

तपाईको प्रतिक्रिया