सांसद पहिलो पटक गाउँ पुगेपछि …

सुर्खेत, २२ कार्तिक ।
भेरीगंगा–१ साविक लेखपराजुल गाविस वडा नं. १ मनिरामकाँडाका ५५ बर्षिय दधे बुढा गाउँमा सांसद पुगेपछि दंग पर्नुभयो । देशमा प्रजातन्त्र आएपछि पटक पटकका निर्वाचनमा मतदान गरेका उनले आफुले भोट हालेका प्रतिनिधिले गाउँमा पाईलो टेकेको पत्तो पाएका थिएनन ।

‘पटक पटकका सांसदीय निर्वाचनमा भोट माग्न त आउनु भयाे भने भोट हालेर जिताएका सांसदलाई पनि हामीले भेटाएनौं’ स्थानीय दधे बुढाले भन्नुभयो ‘यो गाउँमा पहिलो पटक हामीले सांसदसंग भेट्ने, आफ्ना समस्या सुनाउने अवसर पायौं । अव त केही विकास हुन्छ कि ?’

पहिले सुर्खेत निर्वाचन क्षेत्र नं. ३ मा पर्ने उक्त क्षेत्रबाट निर्वाचित सांसदहरु शिवराज जोशी, नर बहादुर विष्ट, तप्त बहादुर विष्टले एक पटक पनि पाइलो नटेकेको स्थानीयको गुनासो छ । पुर्नसंरचनासंगै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ भेरीगंगा नगरपालिकामा समेटिएपछि निर्वाचित सांसद धु्रवकुमार शाही पहिलो पटक उक्त गाउँमा पुग्नुभएको हो । गाउँको भौगोलिक अवस्था, विकटता, समस्या र सम्भावनाहरुका बारेमा जानकारी लिने उद्देश्यले सांसद ५ घण्टाको पैदल हिडेरै उक्त गाउँ पुग्नुभएको हो ।

मनिरामकाँडा गाउँमा पहिलो पटक प्रतिनिधि सभा सदस्य धु्रव कुमार शाही पुगेपछि स्थानीयहरु दंग परेका थिए । सांसद शाहीलाई गाउँको विकास निर्माणका बारेमा स्थानीयबासीन्दाले थुप्रै माग राखेका छन् ।  बर्दिया राष्ट्रिय निकुञ्जका जंगली जनावारहरुबाट पिडित भएको, खानेपानी, विद्युत र सडकको ठुलै समस्या रहेको सांसद शाहीलाई जानकारी गराएका थिए ।

छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै सांसद शाहीले आफु निर्वाचित भएपछि विकास निर्माणका दत्तचित्त भएर खटिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी जनताको काम गर्ने हो । सेवा गर्ने हो । विकास निर्माण गर्ने हो । नहुने कुरा कसैले गर्नुहुँदैन । सक्ने काम गर्ने हो । झुटो खेती फस्टाउँदैन । भएका काम तपाईहरुले देख्नुभएकै छ ।’

भेरीगंगा नगरपालिका र समग्र लेखपराजुलको समस्याका बारेमा आफु जानकार रहेको बताउँदै सांसद शाहीले एक बर्षभित्र अतिविकट मनिरामकाँडामा मोटरबाटो पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पहिलो पटक आउँदा यहाँको वस्तुस्थिति, विकटताका बारेमा अनुभूति भएको उहाँको भनाई थियो ।

मनिरामकाँडा गाउँसम्म मोटर बाटो पुरयाउन तत्काल कालपानी–टाकुरी–भरयाङ हुँदै मनिरामकाँडा पुग्ने गरी बजेट व्यवस्थापन गरिने बताउनुभयो । पर्यटकीय मार्ग हेर्रे–मनिरामकाँडा मोटर बाटोका लागि संघ र स्थानीय सरकारको साझेदारीमा समपुरक करिव डेढ करोड बजेट नगरपालिकामा पठाइएको भएपनि कार्यान्वयनतर्फ अगाडी बढ्न नसकेको बताउनुभयो । ्भेररीगंगा नगरपालिकाको नेतृत्वले चिन्ता र चासो लिएर कार्यान्वयनमा जान सकेमा चालु आर्थिक बर्षमै टेण्डर हुने उहाँले जानकारी दिनुभयो ।

साविक लेखपराजुलका सबै वडामा विद्युतिकरण गर्ने गरी टेण्डर भै निर्माण कार्य सुरु भएको, भेरीगंगा–१ बसेरी–थापाडेरा र वीरेन्द्रनगर–९ शक्तेकाँडा जोडने झोलुङ्गे पुल निर्माणका लागि ठेकेदार छनौंट भै निर्माण कार्य सुरु भैसकेको, संघीय सरकारबाट भेरीगंगा–२ मा समझीघाटमा पर्ने छिन्चु खोलामा पक्की पुल निर्माणको बजेट स्वीकृत भै टेण्डर प्रक्रियामा गएको जानकारी दिनुभयो । त्यसैगरी मनिरामकाँडामा लिफ्ट खानेपानी आयोजनाको टेण्डर हुने अन्तिम प्रक्रियामा रहेको बताउनुभएको छ ।  भेरीगंगा नगरपालिकाका २५० बढी घरपरिवारकाे खरकाे छानामा जस्ता पाता लगाउन सहयाेग गर्ने गरी अावेदन संकलन भैरहेकाे जानकारी दिनुभयाे ।

छलफल तथा भेटघाट कार्यक्रममा नेकपा जिल्ला कमिटी सुर्खेतका सचिव कृष्ण जिसी, नेकपा प्रदेश कमिटी सदस्य तथा भेरीगंगा इन्चार्ज हरिमाया शर्मा, सुर्खेत प्रदेश सभा निर्वाचन क्षेत्र १ (ख) समन्वय कमिटी संयोजक बोधविक्रम जिसी, नेकपा जिल्ला कमिटी सदस्य यज्ञ प्रसाद ढकाल, नेकपा भेरीगंगा नगर कमिटीका अध्यक्ष नरेन्द्र कार्की, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य दीपक बुढाले मनिरामकाँडा गाउँको समस्या र जनप्रतिनिधिहरुको ध्यानाकर्षणका बारेमा सुझावहरु राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया