क्याम्पसलाई शिक्षाको ‘हव’ बनाउँछु

जीवनमा सफल हुन संघर्ष त जो कोहीले पनि गर्नैपर्छ । जो व्यक्ति जीवनमा संर्घषदेखि हार मान्दैन त्यो व्यक्ति नै भविष्यमा सफल हुन्छ । यस्तै संर्षघ गर्दैअघि बढेका र जीवनमा सफल भएका व्यक्ति हुन् माधव खनाल । उनी सुर्खेत क्याम्पस शिक्षाका प्रमुख हुन् । उनले पनि जीवनमा सफल हुन धेरै मेहेनत र परिश्रम पनि गरे । त्यही मेहेनतको फल आज उनले पाइरहेका छन् । प्रस्तुत छ उनै खनालसँग हाम्रा सहकर्मी गीता थापाले आजको जम्काभेटमा गरेको कुराकानीको सम्पादित अंश ।

सानैदेखि इमान्दार

वि.स २०२३ सालमा दैलेखको दुल्लु नगरपालिकामा जन्मिएका माधव खनालको बाल्यकाल रमाइलोसँग वित्यो । घरको पाँच भाई बहिनी मध्येका खनाल जेठो छोरा भएकाले पनि उनले सबैको माया अलिबढी नै पाए । उनले बाल्यकाल घर र मामा घरमा विताए । बाल्यकालदेखि नै उनी गम्भीर र इमान्दार स्वभाकका थिए । कसैसँग झगडा नगर्ने, कसैको मन नदुखाउने, सोझो स्वभावका थिए ।

मामाको घरमै कखरा चिने

खनाल मामा घरमा बस्दादेखि नै सामान्य अंक अक्षरहरु चिनिसकेका थिए । मामाघरको हजुरबुवाले उनलाई कखरा सिकाउनु भएको थियो । उनले हजुरबुवासँग संस्कृतका शब्दरु सिके । विद्यालयको औपचारिक पढाइ दैलेख स्कुलबाट सुरु गरे । उ बेला ४ कक्षासम्मलाई प्रावि शिक्षा हुने गथ्यो । कक्षा ५ देखि विजया मिडिल स्कुल दैलखमा पढे । १५ महिने (सीएमए) अहेव पढेका उनले तत्कालिन वीरेन्द्र बहुमुखी क्याम्पसबाट आइए र महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट उनले स्नातक गरे । २०५० सालमा उनले त्रिवि विश्वविद्यालय काठमाडौं कृतिपुरबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेका हुन् । उनले एक वर्षीय वीएड र एमएड पनि अध्ययन गरेका छन् ।

जागिरको सुरुवात

खनाल एसएलसी दिइसकेपछि शिक्षक पेशामा आवद्ध भएका हुन् । चिगौडी दैलेखको निमाविमा केही अवधीका लागि शिक्षक भएर पढाउन सुरु गरे । त्यसपछि उनी सुर्खेतमा सीएमए पढ्न आए । पढाई सकेपछि उनको पोस्टिङ रुकुम भयो । नेपालगञ्जमा बस्दा उनले पढाइ र जागिरलाई सँगसँगै नितरन्तरता दिएका थिए । उनले सीएमएको जागिर पनि गरे । पछि सीएमएको जागिर छोडेर काठमाडौं मास्टर पढ्न गएका थिए । मास्टर सकेर फर्केपछि उनी फेरि दैलेखको विजया मावि दुल्लुमा ५ वर्ष अध्यापन गराए । २०५५ सालदेखि उनले सुर्खेत शिक्षा क्याम्पसमा पढाउन सुरु गरेका हुन् । उनले अर्थशास्त्र विषय पढाउथे । २०५५ सालदेखि उनी अहिलेसम्म सुर्खेत शिक्षा क्याम्पसमा नै अध्यापन गराइरहेका छन् । अहिले सुर्खेत शिक्षा क्याम्पसको प्रमुखसमेत हुन् । गत असार महिनामा उनी सुर्खेत शिक्षा क्याम्पसको प्रमुख बनेका हुन् । अहिले सुर्खेत शिक्षा क्याम्पसमा प्रमुखको जिम्मेवारी सम्मालिरहेका छन् । उनी भन्छन्, ‘धेरै संघर्षपछि अहिले म सुर्खेत शिक्षा क्याम्पसको प्रमुखको जिम्मेवारीमा छु, इमान्दार भएर काम गरीरहेको छु र आगामी दिनमा पनि मेहेनत इमान्दार पूर्वक काम गर्नेछु ।’ यसअघि उनी दुई पटकसम्म सहायक प्रमुख पनि भएर काम गरिसकेका छन् ।
क्यापसलाई भौतिक, शैक्षिकस्तर उकास्नका लागि योजनावद्ध ढंगले अगाडी बढेका छन् । कोरोना भाइरसको महामारीले अहिले शैक्षिक क्षेत्रहरुमा धेरै असरसमेत गरेको छ । यही महामारीकाबीच सुर्खेत शिक्षा क्याम्पसको प्रमुखको जिम्मेवारी पाएका खनाललाई काम गर्न पनि चुनौती थपिएको छ ।

शिक्षाबाटै समाजसेवा

सबै बालबालिकाहरुको खनाल बाल्यकालदेखि नै पढाइमा औधी रुची राख्थे । बाल्यकालदेखि नै मेहेनत गरेर पढ्ने गर्थे । सानैदेखि समाजसेवामा रुची रुचि राख्थे । सानालाई माया गर्नु पर्छ र ठुलालाई आदर सम्मान गर्नुपर्छ भाव उनीमा थियो । परोपकारी मन भएका खनाललाई जुन क्षेत्रमा लागे पनि समाज सेवा गर्ने सोच थियो । पढ्दै जाँदा उनी साथीहरुको संगतले १५ मिहने सीएमए पढे । स्वास्थ्य क्षेत्रमा लागेर सेवा दिनुपर्छ भनेपछि उनले केही समय जागिर पनि गरे । तर उनलाई चिन्त भने बुझेन । काम खटिएर गर्नु पर्ने, सुरुमा उनले सीएमए भनेको डाक्टर नै हो भनेर पढेका थिए । सीएमए भनेको सामान्य काम मात्र रहेछ भन्ने थाहा पाएपछि फेरी शिक्षण पेशामा नै फर्किए । स्वास्थ्य क्षेत्रमा लागेर पनि धेरैको सेवा गरे । विरामीहरुको उपचार पनि गरे । कति व्यक्तिको उपचार गरेर ज्यान समेत बचाएका छन् उनले । उनी भन्छन्, ‘स्वास्थ्य क्षेत्रमा लागेर धेरैको उपचार गरे, सेवा पनि गरे, कतिको ज्यान बचाउन पनि सफल भए त्यस कुरामा गर्भ लाग्छ ।’ तर, पनि स्वास्थ्य क्षेत्रमा सन्तुष्ट भने भएनन् । शिक्षक भएर पनि समाज सेवा गर्न सकिन्छ भन्दै शिक्षण पेशामा आवद्ध भए । शिक्षक भएपछि हजारौ बालबालिकालाई भविष्यको एउटा बाटो दोहो¥याउने उज्यालो शिक्षा दिन सकिन्छ भन्ने उनलाई लाग्यो । त्यसैले शिक्षा क्षेत्रबाट नैसमाजसेवामा लागे । साथीहरुले अझ राजनीतिमा लागे समाजसेवा गर्न सहज हुन्छ भन्दै उस्काएका पनि थिए । तर राजनीतिमा लाग्न हुँदैन भन्दै आफै निर्णय गरेर शिक्षण पेशामा लागे । सुर्खेत क्याम्पस शिक्षामा प्रमुख भएपनि उनले प्रमुखको भत्ता लिएका छैनन् । उनले भने, ‘क्याम्पसको अवस्था अहिले कोरोना महामारीले खस्किरहेको छ यस्तो अवस्थामा मैले भत्ता लिएको छैन । मेरो सानो सहयोगले पनि क्याम्पसमा केही सहयोग होस् भनेर मैले मेरो मात्र होइन अन्य विभागीय प्रमुख, सहायक प्रमुख र कर्मचारीहरुलाईसमेत भत्ता नलिन आग्रह गरेको छु ।’

अबको योजना

खनालका अनुसार सुर्खेत क्याम्पस शिक्षा दश वर्षअघि भौत्तिक पूर्वाधार, शैक्षिक गुणस्तर लगायत सबै कुरामा सुविधा सम्पन्न र राम्रो थियो । तर, अहिले एउटै जिल्लामा धेरै क्याम्पस सञ्चालन हुँदा विद्यार्थीहरुको आर्कषण सुर्खेत क्याम्पस शिक्षामा कम भएको छ । विद्यार्थीहरुको संख्या कम भएको छ । यसलाई सुधार गर्नका लागि वीवीएका कार्यक्रम सञ्चालन गर्ने र एलएलवीको पढाई पनि सुरु गर्ने अबको योजना रहेको छ । यो विषय पढाउन सकेपछि विद्यार्थी संख्या बढ्ने खनालको भनाई छ । उनका अनुसार सुरुवाती दिनमा क्याम्पसमा सातहजार विद्यार्थी थिए । अहिले घटेर आधा विद्यार्थी छन् । विहान र दिउँसोको सिफ्टमा पढाइ गर्दा क्याम्पसको आर्थिक भार पनि बढ्ने र शैक्षिक गुणस्तर पनि घट्ने भएकाले खनालले अब विहानी सिफ्टमा मात्र पढाइ सञ्चालन गर्ने योजना बनाएका छन् । यसका लागि विद्यार्थी, शिक्षक, कर्मचारी र सम्बन्धित सराकारवालाहसँग बसेर छलफल गरेर केन्द्रमा पठाई सकिएको छ । क्यापसलाई नगर समितिले भोग चलनका लागि दिएको जग्गा नगर समितिसँग समन्वय गरेर क्याम्पसकै नाममा गराउने योजना बनाएको खनालले बताए । जीर्ण क्याम्पस भवनहरु व्यवस्थित बनाउने योजना छ । खनालको क्याम्पसलाई शिक्षाको हव बनाउने योजना रहेको छ ।

तपाईको प्रतिक्रिया