कोरोना भ्याक्सिन नबन्दै निःशुल्क उपलब्ध गराउने निर्णय

दीपक बुढा/सुर्खेत

सुर्खेत, २० कात्तिक ।

विश्वमा कोरोनाको महामारी भएको झण्डै दश महिना पुगिसकेको छ । कोरोनाकै कारण विश्वका लाखौँ नागरिकले ज्यान गुमाई सकेका छन् । करोडौँ नागरिक संक्रमित भएका छन् । कोरोनाकै कारण विश्वअर्थतन्त्र धरासायी बनेको छ । उद्योग, व्यावसाय दिनप्रतिदिन धरासायी हुँदै छन् । निम्न आय भएका र श्रमिकबर्ग सबैभन्दा पीडित छन् । कोरोना त्रासकै कारण अझै पनि केही देशमा लकडाउन छ । आम नागरिकहरु पुरानै कार्यतालिकामा फर्कन सकेका छैनन् । मानव अस्तित्वलाई नै संकटमा पार्नेगरी महामारीका रुपमा फैलिएको कोरोनालाई औषधि पत्ता लगाउन विश्वका बैज्ञानिकहरु रातदिन खटिएका छन् ।

शक्तिशाली राष्ट्रबीच कसले कोरोनाको भ्याक्सिन अगाडि तयार पार्ने भनेर होडबाजी नै चलेको छ । अझै पनि वैज्ञानिकहरु सफल भएका छैनन् । नेपाल लगायत सिमित देशले मात्रै कोरोना भ्याक्सिनको परीक्षण गरिरहेका छन् । तर कर्णाली प्रदेश सरकारले भने भ्याक्सिन तयार नहुँदै नागरिकलाई निःशुल्क रुपमा कोरोना भाइरस उपलब्ध गराउने निर्णय गरेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश विपत व्यवस्थापन केन्द्रको बैठकले निःशुल्क रुपमा कोरोना भ्याक्सिन उपलब्ध गराउन पूर्वतयारी थाल्ने निर्णय गरेको हो । बुधबार बसेको प्रदेश विपत व्यवस्थापन समितिको बैठकले संघीय सरकारको अनुमतिमा कर्णाली प्रदेशमा पनि कोरोना भ्याक्सिन प्रयोग गर्ने, कर्णालीमा आवश्यक भ्याक्सिनको आँकलन गर्ने र सोही अनुसार आम नागरिकलाई निःशुल्क रुपमा भ्याक्सिन उपलब्ध गराउनेगरी पूर्व तयारी थाल्ने निर्णय गरेको हो । कोरोना भ्याक्सिन र मूल्य एकीन नहुँदै प्रदेश सरकारले सस्तो लोकप्रियताका लागि यस्तो निर्णय गरेको हो । ‘नेपालमा फाभिर २०० नामको औषधि क्लिनिकल परीक्षण सुरु भएको हो तर बाह्य देशबाट भ्याक्सिन झिकाइएकै छैन’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले भने, ‘भ्याक्सिन तयार नहुँदै कसरी निःशुल्क उपलब्ध गराउँछु भन्न सकिन्छ ?’ भ्याक्सिन तयार हुन वित्तिकै नेपालमा झिकाउने गरी सरकारले पूर्वतयारी अवस्थामा रहेको उनको भनाई छ ।

कोरोना भ्याक्सिनका बारेमा संघीय सरकार नै अलमलमा परेको समयमा भने कर्णाली प्रदेश सरकारले निःशुल्क रुपमा कोरोना भ्याक्सिन उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश सरकारले निःशुल्क रुपमा भ्याक्सिन उलब्ध गराउने पूर्व तयारीको जिम्मा सामाजिक विकास मन्त्रालयलाई दिएको छ । तर सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख बृषबहादुर शाहीले भने यसबारे अनविज्ञ देखिन्छन् । ‘भ्याक्सिनको बारेमा छलफल भयो होला तर यसबारे महाशाखालाई जानकारी छैन’ उनले भने, ‘पूर्वतयारी त गर्न सकियो तर अहिले कसरी निःशुल्क उपलब्ध सकिन्छ भन्ने एकिन गर्ने ?’

महामारी अन्त्य नहुँदै क्वारेन्टान हटाइने


कोरोना महामारी अन्य नहुँदै कर्णाली प्रदेश सरकारले भने सबै क्वारेन्टाइन हाउने भएको छ । बुधबार बसेको कर्णाली प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकले प्रदेशका सबै क्वारेन्टाइन हटाउने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले कर्णालीका सबै क्वारेन्टाइन हटाउने निर्णय गरेको हो । क्वारेन्टीका सामग्रीहरु भने नेपाली सेनाले जिम्मा लिने र आवश्यक परेको खण्डमा उपयोगमा ल्याउने भको छ ।

प्रदेशभर आठसय ९१ वटा स्थानमा ४१ हजार नौँसय ५६ बेड संख्याका क्वारेन्टाइन छन् । बाहिर मुलुकबाट आउने नागरिकहरु कम हुँदै भन्दै कर्णालीका क्वारेन्टाइन हटाउने निर्णय गरिएको हो । क्वारेन्टाइनमा बस्ने नागरिकहरु कमी भएको भन्दै तत्काललाई सबै क्वारेन्टाइन हटाइने छ । तर आवश्यक परेको स्थानमा भने पुनः क्वारेन्टाइ निर्माण गरिने छ । आगामी दिनमा क्वारेन्टाइन आवश्यक पर्नेसक्ने भन्दै हाल क्वारेन्टाइका सम्पूर्ण सामाग्रीहरु नेपाली सेनालाई भण्डारण गर्ने जिम्मा दिने निर्णय गरेको हो ।

सबै जिल्लाका आइसीयू र भेन्टिलेटर सञ्चालन गरिने

प्रदेशबाट क्वारेन्टाइन हटाइएपनि कोरोना संक्रमितको उपचारका लागि भने विशिष्ट सेवा विशेष जोड दिइने भएको हो । जटिल प्रकृतिका कोरोना संक्रमितको उपचारको लागि हरेक जिल्लामा आइसीयू र भेन्टिलेर सेवा गरिने भएको हो । कोरोना महामारीकै बीच कर्णालीका सबै जिल्ला अस्पतालमा आइसीयू र भेन्टिलेटर जडान गरिएको छ । यद्यपी सबै जिल्लाका भेन्टिलेटर र आइसीयू भने सञ्चालनमा आउन सकेका छैनन् । आइसीयू र भेन्टिलेटर सेवाका लागि अक्सिजन प्लान्ट र अक्सिजन रिफिल लगायतको सेवा सुविधा पु¥याउने र आवश्यकता अनुसार अस्पतालको स्तरोन्नती तथा विस्तार गरिने छ ।

त्यस्तै सुर्खेत, जुम्ला र रुकुमचौरजहारीका कोरोना विशेष अस्पतालको अध्ययन र देखिएका समस्या समाधानको लागि आवश्यक गृहकार्य गरिने छ । प्रदेशबाट क्वारेन्टाइन हटाइए पनि जनसंख्या र संक्रमित विरामीको चाप अनुसार जिल्लामा २५ देखि ५० वेडसम्मको आइसोलेसन तयारी अवस्थामा राखिने छ । कर्णाली प्रदेशभर हाल चारसय १२ स्थानमा एक हजार ६ सय ५१ बेड क्षमतका आइसोलेसनहरु छन् ।

देउसी÷भैली खेल्न नपाइने

यस्तै कर्णाली प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकले तिहारमा देउसी÷भैलो खेल्न नदिने निर्णय गरेको छ । कोरोना जोखिम नहटेको भन्दै यसपालिको तिहारमा देउसी÷भैली पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । बैठकले सुरक्षा सर्तकता अपनाएर तिहार मनाउनुपर्ने निर्णय गरेको छ । यस्तै मेला तथा जात्रामा पनि प्रतिबन्ध लगाएको छ । मेला÷महोत्सवमा हुने जमघटले कोरोना फैलिन सक्ने भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो । संक्रमण दिनप्रतिदिन समुदायमा फैलिसकेकोले नियन्त्रण र उपचारका लागि कठिन हुने भन्दै यसको नियन्त्रको लागि प्रचारप्रासरमा तिव्रता दिन समेत निर्णय गरेको छ । जसका लागि सरोकारवाला निकायलाई प्रचारप्रशारको व्यवस्था गर्न सामाजिक विकास मन्त्रलायलाई निर्देशन दिएको छ । बदलिदो मौसमका कारण कोराना लगायतका अन्य रोगका संक्रमण बढ्न सक्नेभन्दै नागरिकलाई सचेत हुनसमेत केन्द्रले आग्रह गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार