संरक्षण नहुँदा कछुवा दह पुरिँदै

सल्यान, २० कार्तिक ।

संरक्षण नगरिँदा सल्यान जिल्लाको चिनारी बोकेको कछुवा दह ओझेलमा पर्नुका साथै पुरिन थालेको छ । यो सल्यान जिल्लाकै सबैभन्दा ठूलो दह हो । जैविक विविधताले भरिपूर्ण दह आवश्यक संरक्षण अभावमा पुरिँदै जान थालेको हो ।

कालीमाटी गाउँपालिका वडा नम्बर २, मजाउमा रहेको यो दह आसपासका डाँडाबाट बगेर आउने माटोको बहाव र बाढी पहिरोले गर्दा पुरिँदै गएको हो । अव्यवस्थित रुपमा खनिएका मोटरबाटोबाट बगेर आउने माटोले जलाधार क्षेत्र पुरिँदै गएपछि कछुवा दहको अस्तित्व संकटमा परेको हो । ताल संरक्षणतर्फ सम्बन्धित निकाय मौन बस्दा आन्तरिक तथा बाह्य पर्यटक समेत घट्न थालेको स्थानीयहरू बताउँछन् ।

नजिकैबाट बाटो मोटरबाटो खन्दा दह झनै बढी पुरिएको स्थानीय तिला केसीले बताइन् । ‘आजभोलि विकास गर्ने नाममा प्राकृतिक सम्पदामा के कति असर पर्छ भनी ख्यालै नगरी खन्ने क्रम बढ्दो छ, जसको असर कछुवा दहमा पनि देखिँदै आइरहेको छ,’ उनले भनिन्, ‘दह भएको ५ मिटर नजिकबाट मोटरबाटो खन्दा सम्पूर्ण माटो दहमा पस्यो, जसले गर्दा दह आजभोली भैँसी आहाल बस्ने पोखरीजस्तो देखिन थालेको छ । संरक्षण अभावका कारण दह १५० मिटर लम्बाइमा खुम्चिइसकेको र यथाशक्य कुनै कदम नचाल्ने हो केही वर्षमै लोप भएर जाने जोखिम बढेको छ ।

सल्यान जिल्लाकै मुख्य पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि कछुवा दह संरक्षणतर्फ सबै पक्ष उत्तिकै उत्तरदायी हुनुपर्ने कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसीले बताए । उनले भने, ‘यो एक दह मात्र नभएर यसले प्राकृतिक तथा धार्मिक महत्व बोकेको स्थान पनि हो । संरक्षण अभावमा ओझेलमा परेको दहलाई गाउँपालिकाकै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न जरुरी छ ।’ यस दह नजिकै देउतीबज्यैको मन्दिर पनि रहेको छ । उक्त मन्दिर समेत आवश्यक संरक्षणको अभावमा जीर्ण बनेको छ ।

तपाईको प्रतिक्रिया