अमेरिकामा मतगणना जारीः धैर्यता राख्न बाइडेनको आग्रह, धाँधली गर्न लागेको ट्रम्पको आरोप

काठमाडौं, १९ कात्तिक ।

संयुक्त राज्य अमेरिकामा अहिले नयाँ राष्ट्रपतिका लागि भएको मतदानको मतगणना जारी छ। अहिलेसम्मको मतगणनामा डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले केही राज्यमा अग्रता लिएका छन् भने राष्ट्रपति डोनाल्ड ट्रम्प केही पछि परेका देखिएका छन्। अन्तिम नतिजा आउन बाँकी रहेको भए पनि केही राज्यमा उनीहरूले लगभग जित्ने निश्चितजस्तै देखिएको छ।

अमेरिकाको राष्ट्रपति चुनिन ५१ राज्यबाट २७० इलेक्टोरल कलेज ९सिट० जित्नुपर्छ। मतगणना जारी रहेका बेला दुबै उम्मेदवारले सार्वजनिक प्रतिक्रिया दिएका छन्। बाइडेनले समर्थकहरूलाई सम्बोधन गरेका छन् भने ट्रम्पले ट्विटबाट धारणा सार्वजनिक गरेका छन्। ट्रम्पले केही समयपछि सम्बोधन गर्ने जानकारी दिएका छन्।

समर्थकलाई सम्बोधन गर्दै बाइडेनले आफूहरू जिततर्फ अग्रसर भएको उल्लेख गर्दै धैर्यता राख्न अनुरोध गरेका छन्। उनले आफूहरूले पेन्सिलभेनियामा पनि अन्तिममा जित्ने दाबी गरे। उता ट्रम्पले पनि आफूले विशाल जित हासिल गर्न लागेको बताएका छन्। तर डेमोक्र्याटहरूले धाँधली गर्न लागेको उनको आरोप छ।

‘उनीहरूले गलत तरिकाले चुनावलाई प्रभाव पार्न खोजेका छन्, त्यस्तो हुन दिइने छैन। मतदान स्थल बन्द भएपछि भोट हाल्न पाइँदैन,’ उनले लेखेका छन्। मतगणना जारी छ। यो पालि धेरै मानिसले हुलाकबाट मतदान गरेकाले अन्तिम औपचारिक नतिजा आउने केही दिन अझै लाग्न सक्छ।

तपाईको प्रतिक्रिया