अमेरिकी राष्ट्रपतीय निर्वाचन आजः को बन्ला नयाँ राष्ट्रपति

वासिङ्टन ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचन आज मंगलबार हुँदै छ । यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने भएको छ । कोरोना महामारीका कारणले मानवीय क्षति अत्यधिक बेहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक र सामाजिक रणनीति कसरी तय गर्छ भन्ने विषयले यो चुनाव झन् महत्वपूर्ण भएको विश्लेषकको भनाइ छ ।

आगामी चार वर्षका लागि निर्वाचित हुने विश्वकै शक्तिशाली पद मानिने राष्ट्रपतिको यो निर्वाचन र त्यसपछि आउने नेतृत्वलाई केवल वर्षको समयावधिसँग मात्र तुलना गरिँदैन । सन् १९१८ मा देखापरेको स्पेनिस फ्लुपश्चात् एक सय वर्षमा आइलागेको कोरोना भाइरस र यसले पारेको गम्भीर असरलाई दीर्घकालीन रूपमा कसरी व्यवस्थापन गर्ने भन्ने विषय समेत यसै निर्वाचनसँग आएर जोडिएको छ ।

विगतका चुनावमा अनुदारवादी ठानिएको रिपब्लिकन र उदारवादी ठानिएको डेमोक्र््याट पार्टीबीच आप्रवासन, बन्दुक नियन्त्रण, बेरोजगारी, स्वास्थ्य बिमा जस्ता मुद्दामा पेचिलो बहस हुने गरेको थियो । यसपटकको चुनावमा भने कोरोना भाइरस नै केन्द्रबिन्दुमा रह्यो । हुन पनि निर्वाचनको संघारमा आइपुग्दा आठ महिनाका बीचमा २ लाख ३० हजार अमेरिकीले कोरोना भाइरसका कारणले जीवन गुमाएका छन् भने ९० लाखलाई यो संक्रमणले गाँजेको छ ।

त्यति मात्र होइन, सप्ताहन्तमा मनोरञ्जनमा धक फुकाएर खर्च गर्ने अमेरिकीको बानीले विश्व अर्थतन्त्रलाई चलायमान बनाउँदै आएकामा अहिले यो चक्र झन्डै रोकिएको अवस्थामा आइपुगेको छ । त्यसैले यो निर्वाचनका अहिलेका एजेन्डामध्ये कोरोना र यस महामारीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पारेको प्रभाव नै केन्द्रबिन्दुमा छ ।

आलोचकले कोरोना भाइरस नियन्त्रण र तत्काल आवश्यक कदम चाल्न ट्रम्प प्रशासन सक्षम नभएको भनेर टिप्पणी गरिरहेका छन् भने ह्वाइट हाउसले सम्पूर्ण संयन्त्र परिचालन गरिएको भनेर बचाऊ गर्दै आएको छ । कुल ३२ करोड नागरिक रहेको अमेरिकामा वालिग मताधिकारको संख्या २४ करोड रहेको छ । अमेरिकामा मतदान गर्न १८ वर्ष पूरा भएको हुनुपर्छ । हुलाकमार्फत् मतदान गर्न पाउने व्यवस्था र निर्वाचनको मितिभन्दा एक साता अगाडिबाट सुरु हुने पहिल्यै मतदान गर्न पाउने व्यवस्था (अर्लि भोटिङ) मार्फत करिब ९ करोड ३० लाख नागरिकले मतदान गरिसकेको तथ्यांक सार्वजनिक भएको छ । यसपटक अमेरिकामा करिब १५ करोड मतदाताले मतदान गर्ने अनुमान गरिएको छ । यो कुल मतदाता संख्याको ६२ प्रतिशत हो ।

आज हुने निर्वाचनमा रिपब्लिकन र डेमोक्र््याट पार्टीको कम वर्चस्व रहेको सिनेट र कांग्रेसको कोर्स पनि परिवर्तन हुने अपेक्षा गरिएको छ । एक सय सिटको सिनेटमा अहिले रिपब्लिकनको ५३ सिट र डेमोक्र््याटको ४७ सिट रहेको छ । उता तल्लो सदन भनेर चिनिने कांग्रेसमा भने ४३५ सिटमा डेमोक्र््याटको २३२ सिटसहित वर्चस्व रहेको छ । यसपटक सिनेटको ३३ सिट र कांग्रेसको ४३५ सिटको निर्वाचन हुँदै छ । सिनेटरको कार्यकाल ६ वर्षको हुने भएकाले हरेक दुई वर्षमा एक तिहाइको चुनाव हुने गर्दछ भने कांग्रेसको भने हरेक दुई वर्षमा निर्वाचन हुने व्यवस्था रहेको छ ।

विगत वर्षमा सर्वेक्षणको नतिजालाई निकै विश्वसनीय मानिएको भए तापनि सन् २०१६ पछि यसमा पनि प्रश्न उठाउन थालिएको छ । तर, पनि सर्वेक्षण गर्दै आएका ठूला र मूलधार भनिएका सञ्चार माध्यमले पनि जो वाइडनको अग्रतालाई प्रचार गरिरहेका छन् तर यसपटक हरेक विषयमा भौतिक रूपमा भन्दा प्राविधिक रूपमा मतदाता र उमेदवारहरूबीच अन्तक्र्रिया भएकाले सर्वेक्षणमा पनि त्यसको प्रभाव परेको आँकलन गर्नेहरू पनि छन् ।

अमेरिकामा रहेका नेपाली अमेरिकनलाई पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योपटकको निर्वाचनले प्रभावित पारेको छ । संख्यात्मक हिसाबले नेपाली भाषीको निर्वाचनका समयमा ठोस प्रभाव पार्न नसक्ने भए तापनि नेपाली मुलुकको जनघनत्व बढी भएको स्थानमा भने कोही रिपब्लिकन त कोही डेमोक्र््याट पार्टीका उमेदवारलाई आर्थिक सहयोग गर्नेदेखि चुनावी प्रचारमा होमिएको बताउँदै आएका छन् ।

डेमोक्र््याट पार्टीका तर्फबाट मेरिल्यान्ड जनरल एसेम्बलीमा डेलिगेटमा विजयी भएका पहिलो नेपाली अमेरिकन ह्यारी भण्डारीले आफनो अगुवाइमा ‘नेप्लिज फर वाइडेन’ अभियान सञ्चालन गरेका छन् । यसै सिलसिलामा भण्डारीले अमेरिकी सिनेटर क्रिस भ्यान होलान र वेन कार्डेनसँग नेपाली समुदायका अगुवालाई चुनावी रणनीतिका बारेमा भर्चुअल अन्तक्र्रिया र ¥याली पनि गराएका थिए ।

भण्डारीले भने, ‘हामीले राजनीतिकरुपमा अमेरिकाको मूलधार र यहाँको प्रजातन्त्रको अभ्यासमा भावी पिँढीलाई कसरी समाहित गराउने भनेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौं । व्यक्तिगत रूपमा म र हाम्रो समूहले पूर्वराष्ट्रपति बाराक ओवामाको पालादेखि नै नेप्लिज अमेरिकनलाई मूलधारको राजनीतिमा समावेश गराउने पहल गरिएको थियो ।’

आफूलाई डेमोक्र््याट पार्टीले बोक्ने प्रगतिशील एजेन्डा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हरेक मुद्दामा राख्ने स्पष्ट दृष्टिकोणले प्रभावित पारेको उनको भनाइ छ । भण्डारी अमेरिकाको राजनीति र माइनोरिटी सम्बन्धमा युनिभर्सिटी अफ मेरिल्यान्डबाट विद्यावारिधिका लागि शोध गरिरहेका छन् ।

उनले अध्ययनका क्रममा अमेरिकाको राजनीतिमा एसियन अमेरिकनको सहभागिता आगामी दशकमा अझ बढ्ने अनुसन्धानले पुष्टि गरेको र यसमा आफू विश्वस्त रहेको बताउँछन् । एसियन अमेरिकनसँगै नेपाली अमेरिकनको पनि राजनीतिक पहुँचको वृद्धि हुनेमा पूर्ण विश्वास रहेको भण्डारीको भनाइ छ ।

डेमोक्र््याट पार्टीको एसियन अमेरिकन प्यासिफिक आइल्यान्डर्स् मेरिल्यान्ड राज्यको केन्द्रीय सदस्य तथा नेप्लिज अमेरिकन एलायन्स फर एक्सनका केन्द्रीय उपाध्यक्ष अर्जुन हमालले भने, ‘हामी नेप्लिज अमेरिकनको चुनावी प्रक्रियामा सामेल भएको धेरै भएको छैन तर यो प्रक्रियामा सामेल भएर आफ्नो अधिकार उपयोग गर्नु सबैको कर्तव्य हो ।’

हमालले आज हुने मतदानमा भाग लिएर नेप्लिज अमेरिकनले आफ्नो अधिकार उपयोग गर्न अनुरोध गरेको पनि बताए ।

उता रिपब्लिकन पार्टीको वर्चस्व रहेको टेक्सासमा बस्दै आएका ‘एनआरएन आइसिसिका अमेरिकाज क्षेत्रका डिआरसी’ रामसी पोख्रेल आफू ‘रजिस्टर्ड रिपव्लिकन’ भएको बताउँछन् । पोख्रेलले भने, ‘हामीले स्थानीय, राज्य र संघीय सरकारमा हामी र हाम्रो एजेन्डा बुझाउन, अल्पसंख्यकको अधिकार सुनिश्चित गर्न राजनीतिमा सामेल हुनुपर्छ ।’

टेक्सासमा रहेका नेप्लिज अमेरिकनहरूले साउथ एसियन रिपब्लिकन क्लब स्थापना गरेर आफ्नो विचारसँग नजिक रहेका रिपब्लिकन पार्टीका उमेदवारलाई सहयोग गर्दै आएका छन् । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा जनताले प्रत्यक्ष मत दिएर मात्र पुग्दैन । यहाँको संवैधानिक व्यवस्थाअनुसार इलोक्ट्रोल कलेजको मत निर्णायक हुन्छ । कुल ५३८ इलोक्ट्रोन मतमध्ये २७० मत ल्याउने उमेदवार राष्ट्रपतिको पदमा निर्वाचित हुन पाउँछन् । कतिपय अवस्थामा यो व्यवस्थाले जनताको मत अत्यधिक पाएर पनि विजयी हुन नसकेका उदाहरण रहेका छन् ।

सन् २०१० को जनगणनामा आधारित भएर २०१२, २०१६ र २०२० को निर्वाचनमा कुल ५३८ इलोक्ट्रोल मत विभाजन गरिएको छ । त्यसमध्ये सबैभन्दा बढी इलोक्ट्रोल भोट ५५ जना भएको राज्य क्यालिफोर्निया हो भने सातओटा राज्यबाट तीन÷तीन भोटको गणना हुन्छ । यसरी इलोक्ट्रोल कलेजको गणना गर्दा हरेक राज्यको जनसंख्या, सिनेटरको संख्या र कांग्रेसनले डिस्ट्रिकको समानुपातिक मतका आधारमा चयन गरिन्छ ।

यसपटकको चुनावमा फ्लोरिडा, एरिजोना, पेन्सलभेनिया, मिचिगन, विसकन्सिन, नर्थक्योरिलना र जर्जियाको इलोक्ट्रोल भोट निर्णायक हुनेछ । यी राज्यमा जुन उमेदवारले अग्रता कायम गर्दै वर्चस्व कायम गर्नेछन् उनकै जीत निश्चित हुनेछ ।

अमेरिकामा आज निर्वाचन भए पनि निर्वाचनको परिणाम आउन भने केही सातासम्म लाग्न सक्ने बताउँदै आइएको छ । सन् २०१६ मा एक सातामा सार्वजनिक भएको परिणाम यसपटक हुलाकमार्फत् गरिएको मतपत्र गणनाले केही बढी समय लिनसक्ने निर्वाचन कार्यालयहरूले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया