नेकपा अध्यक्षद्धयलाई कँडेलको प्रश्न : कर्णालीको समस्या समाधान भयो र ?

सुर्खेत, १८ कार्तिक ।
कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नेतृत्व गर्ने प्रदेश सांसद यामलाल कँडेलले कर्णाली प्रदेशमा देखिएका समस्याबारे अध्यक्षद्वयको धारणा माग गरेका छन् । पार्टीको प्रदेश सहइन्चार्जसमेत रहेका कँडेलले सोमबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखी कर्णाली प्रदेशबाट नेकपाले कस्तो प्रचलन बसाउन खोजेको भनी प्रश्न गरेका हुन् ।

असोज २५ गते नेकपाको कर्णाली प्रदेशसभाका सांसदमध्ये १८ जनाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध प्रमुख सचेतक गुलाबजंग शाहलाई अविश्वास प्रस्ताव बुझाएका थिए । त्यसपछि प्रमुख सचेतक शाहले असोज २७ गते बैठक आह्वान गरेपछि संसदीय दलको नेताले बैठकमा उपस्थित भएर प्रदेशसभा सदस्यको विश्वास जित्ने प्रयास गर्नुको सट्टा प्रमुख सचेतक हटाएको भन्दै कँडेलले यसमा अध्यक्षद्वयको धारणा माग गरेका छन् ।

‘यो विषय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा कस्तो प्रचलन बसाउनेसँग सम्बन्धित छ ? के यस्ता अनधिकृत कामहरु सच्याउनुपर्दैन ?’ उनले प्रश्न गरेका छन् । अविश्वासको प्रस्तावमा उल्लेख भएका विषयमा प्रदेशस्तरमा छलफलै नगरी विषयका आधारमा समस्या समाधान गर्नुको सट्टा पद र प्रतिष्ठा वितरण गरिएको भन्दै कँडेलले नेकपा यस्तै संस्कारको पक्षमा हो भनी अध्यक्षद्वयलाई प्रश्न गरेका छन् ।

नेकपामा गुट उपगुट अन्त्य गर्ने भने पनि विषयका आधारमा एक ठाउँमा उभिएकासांसदलाई हतोत्साहित गर्ने काम भएको कँडेलले बताएका छन् । ‘विषयका आधारमा उभिएका प्रदेशसभा सदस्यलाई नेतृत्व तहबाट नै हतोत्साहित गर्ने काम भयो, व्यक्तिको निष्ठा र इमानमा जनस्तरबाट प्रश्न उठाउने परिस्थिति निर्माण गरियो’ उनले भनेका छन् ‘केन्द्रीय नेतृत्व तहबाटै भएको यस्तो क्रियाकलाप र गतिविधिले एकतावद्ध पार्टी निर्माण सम्भव छ ?’

अध्यक्षद्वयले कर्णाली प्रदेशसभाभित्र उत्पन्न समस्यालाई यथास्थानमा राखेर काठमाडौं आउन निर्देशन दिए पनि मुख्यमन्त्री पक्षले कार्तिक ७ गते एकपक्षीय रुपमा दलको बैठक आयोजना गर्नु नियमसंगत थियो भनी कँडेलले प्रश्न गरेका छन् । ‘त्यो बैठकबाट कर्णालीमा देखिएका समस्याको समाधान भयो र ?’ उनले सोधेका छन् । उनले असोज २७ गते पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुन दुबै अध्यक्षले हस्ताक्षर गरेर निर्देशन दिएको पत्रबारे हालसम्म भएको प्रगतिबारे पनि चासो राखेका छन् ।

तपाईको प्रतिक्रिया