सम्पादकीयः वन्यजन्तुको संरक्षण

पृथ्वी जीवहरुको साझा घर हो । तर पनि मानवले अन्य जीवको बाँच्न पाउने अधिकारमाथि हस्तक्षेप गरिरहेको छ । आधुनिक प्रविधिको विकास र चेतनाका कारण मानव समुदाय चेतनशील छ । यसैको फाइदा उठाउँदै मानिसले पृथ्वीमा रहेका अन्य जीवहरुको बाँच्न पाउने अधिकारलाई हनन् गरिरहेको छ । यही कारण आज पृथ्वीमा रहेका कतिपय जीवजन्तुहरु लोप भइसकेका छन् । कतिपय वन्यजन्तुहरु लोप हुने अवस्थामा छन् । वन्यजन्तु र मानवबिचको सम्बन्ध सहज भने छैन । सुरुवातमा मानवले वन्यजन्तुको शिकार गरेर पेट भर्ने गरेका थिए । विस्तारै विकासको गति अगाडि बढेपछि मानवले अन्न उत्पादन गर्न थाल्यो । यसले वन्यजन्तुको शिकार गर्ने संस्कारमा कमी आयो । तर आज मानवअधिकारसँगै पशु अर्थात वन्यजन्तुको अधिकारबारे वहस हुन थालेको छ । विश्वका अधिकांश देशहरुले यही मान्यतालाई स्थापित गर्न वन्यजन्तुको संरक्षणमा जोड दिन थालेका छन् । नेपालमा पनि वन्यजन्तुको संरक्षणका प्रयासहरु नभएका होइनन् । तर पनि तस्कहरुले वन्यजन्तुको चोरी शिकारी गर्न छाडेका छैनन् । उसले नेपालमा वन्यजन्तुको संरक्षणमा चुनौती देखिएका छन् ।

देशका अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा वन्यजन्तु बासस्थान उपयुक्त छ । देशमै लोप हुने अवस्थामा रहेका र हिमाली क्षेत्रमा पाइने वन्यजन्तुहरु यहाँ पाइन्छन् । हिमाली भालु, बाघ, कस्तुरी, रेडपाण्डा र चितुवा कर्णालीमा पाइन्छन् । तर पछिल्लो समय यी वन्यजन्तुको संरक्षणमा भने केही चुनौती देखिएको छ । पछिल्लो तीन वर्षको अवधिमा कर्णालीमा पक्राउ परेका तस्कर र वरामद भएको वन्यजन्तुको अंगले पनि यहाँ तस्करहरु सक्रिय रहेको देखाउँछ । प्रहरीका अनुसार तस्करको नजरमा मुख्यगरी चितुवा, बाघ र रेडपाण्डा रहेका छन् । यी वन्यजन्तुको चोरी तस्करी गर्ने गिरोह नै सक्रिय देखिन्छ । तर कही संख्यामा मात्र तस्करहरु समातिने गरेका छन् । केही भरिया मात्र समातिए पनि मुख्य नाइकेहरु पक्राउ नपर्दा वन्यजन्तुको तस्करी नरोकिएको हो । वन्यजन्तुका कारण पृथ्वीमा पारिस्थितिक प्रणाली सम्भव भएको छ । तर पनि दिनदिनै वन्यजन्तुको चोरी शिकारी हुन थालेको छ । यसले विश्वमै लोपोन्मुख मानिएका जनावरहरुको संरक्षण नुहुने अवस्था आएको छ ।

मानव सर्वश्रेष्ठ प्राणी भएको नाताले पनि पृथ्वीमा रहेका अन्य जनावरहरुको संरक्षणमा ध्यान दिन आवश्यक छ । मानिसलाई जतिकै यो पृथ्वीमा अन्य जनावरलाई पनि बाँच्न पाउने अधिकार छ । तर कतिपय संरक्षणमा खटिने अधिकारी र तस्करहरुबाटै वन्यजन्तुको चोरी शिकारी हुने गरेको छ । यसले वन्यजन्तुको संरक्षणमा कठिनाइ देखिएको हो । आज वन्यजन्तुको संरक्षणका लागि निकुञ्ज छन् । यस्तै कतिपय वनमा मानवलाई प्रवेशमा रोक पनि लगाइएको छ । यतिले मात्र वन्यजन्तुको संरक्षण हुन सम्भव छैन । वन्यजन्तुको संरक्षणका लागि जनचेतना, संरक्षणबारे शिक्षा, तस्करी नियन्त्रण, पक्राउ परेकाहरुलाई कडा कानुनी कारबाही, सुरक्षा सर्तकता र सर्वसाधारणहरु नै संरक्षणमा जुट्न आवश्यक छ । सरकार र सुरक्षाकर्मीको एक्लो प्रयासले मात्र वन्यजन्तुको तस्करी रोक्न कठिन छ । यसका लागि सरकारी र निजी क्षेत्रको पनि आपसमा सहकार्य अनिवार्य छ ।

तपाईको प्रतिक्रिया