विवाह पछि माया बस्यो

श्रीमान् श्रीमतिबीचमा सामान्य झगडा र भनाभन जसको पनि हुन्छ । तर त्यो एकै छिनका लागि मात्र । भनिन्छ नी, ‘श्रीमान् श्रीमतिको झगडा परालको आगो ।’ एकै छिनमा निभि हाल्ने । जहाँ झगडा हुन्छ त्यहाँ माया पनि गाढा हुन्छ । यस्तै विवाह पछि गाढा माया बसेका जोडी हुन् चुँडामणी र चन्दा आचार्य । यो जोडीको मागी विवाह भयो । एकअर्काेलाई चिनेको पनि थिएनन् । घरपरिवारको रोजाईमा मागी विवाह गरेको यो जोडीको अहिले भने माया गाढा छ ।

मागी विवाह

चन्द्रा आचार्य भर्खर एसएलसी दिएर बसेकी थिइन् । घरमा उनलाई माग्न केटा आए । उनलाई लागेको थियो आफ्नो पढ्ने ईच्छा बाबुआमाले पूरा गरिदिन्छन् । तर, उनको बाबुआमाले उनको जिन्दगीको सबैभन्दा ठूलो फैसला गरिदिए, उनको मञ्जुरीविना नै । उच्च शिक्षा पढेर जीवनमा धेरै अगाडि बढ्ने सपनाहरूलाई मनमा नै थन्काएर बाबुआमाले भनेको केटासँग विवाह गर्न राजी हुनुप¥यो उनी । उनलाई माग्न गएको केटा को हो, कस्तो छ, उनलाई केही थाहा थिएन । केटापक्षहरू घर फर्किसकेपछि साँझ आमाले तँलाई माग्न आएका केटा हुन् भनेपछि मात्र थाहा भएको थियो । उनले बाबुआमालाई अहिले म बिहे गर्दिन भन्न सकिनन् । उनले भनिन्, ‘ त्यति बेलाको समय अहिलेको जस्तो थिएन, बाबुआमाले जहाँ दिए उही विहे गर्नुपथ्र्याे त्यसैले मैले पनि केही नभनेरै बिहेको लागि राजी भएँ ।’ एसएलसी दिएर बसेकी चन्द्रालाई माग्न गएका केटा अरु कोही नभएर चुँडामणी आचार्य थिए । चुँडामणी र चन्दाको सम्बन्धको सुरुवाती कथा रोचक छ । चुँडामणि घरबाट विवाहका लागि केटी हेर्न निस्किए । घरबाट अर्कै केटी हेर्न गएका थिए तर, बिहे गर्ने पक्का अर्कै केटीसँग गरेर फर्के । उनले भने, ‘घरबाट अर्कै ठाउँमा केटी हेर्न भनेर गएको तर, बाटोमा चिनेको आफन्त भेटिनुभयो र त्यताभन्दा कल्याण जाउँ भनेपछि चन्द्रालाई हेर्न गएँ ।’ उनको फुपु चन्द्राको भाउजु भएकाले पनि बिहेको कुरा चलाउन उनीहरूलाई खासै गाह्रो भएन । चिनजान भएकाले पनि केटो राम्रो र इमान्दार छ भनेर चन्द्राको बाबुआमाले बिहेको लागि स्वीकार गरे । उनीहरूको २०५० सालमा मागी विवाह भयो ।

विवाह भएको ६ दिनपछि बोलचाल

विवाह भएको ६ दिनसम्म चुँडामणी र चन्द्रा एक आपसमा बोलेका थिएनन् । नदेखेको र नचिनेको मान्छेलाई जीवन साथी बनाएका दुवै जना एक अर्काेसँग बोल्न लाज मान्थे । माइत जाने बेला पनि जंगलको बाटोभरी सँगै हिँड्ने र गाउँ आएपछि चन्द्रा लाजले आचार्यलाई छोडेर अगाडि नै जान्थिन् । एक अर्काेलाई नजिकबाट चिन्न उनीहरूलाई केही समय लाग्यो । बिहे गरेको ६ दिनसम्म बोलचाल समेत नभएका यो जोडी माइतीबाट घर फर्कने समयमा पहिलो पटक बोलेका थिए ।

छोरी र बुहारी हुँदाको अनुभव

विवाह पछिका दिनमा घरको एक्लो बुहारी घरको कामकाजमा सघाउने नन्दहरू भए पनि भान्साको काम भने चन्द्रालाई धेरै आउँदैनथ्यो । तर, उनकी सासुले छोरी जस्तै गरेर चन्द्रालाई घरको सबै काम सिकाइन् । घरमा पनि चन्द्राले माइतीमा जस्तै माया ममता पाइन् । साथमा सहयोग गर्ने र साथी जस्तै नन्दहरू भएकाले पनि उनलाई घरमा सबैसँग घुलमिल हुन समय लागेन ।

पढ्ने इच्छा पुरा

चन्द्राको पढ्ने इच्छा विवाह पछि पूरा गर्ने वाचासहित भित्र्याएका थिए उनका ससुराले । चन्द्रालाई विवाहपछि पनि पढाउने वाचा उनका ससुराले पूरा पनि गरे । एसएलसीमा उर्तिण भएपछि चन्द्रालाई सुर्खेत क्याम्पस (शिक्षा) मा नाम लेखाएर पढ्न पठाए । आईएड पढ्दै थिइन् । शिक्षक सेवामा उनको नाम निस्कियो । छोरो पनि जन्मियो । त्यसकारण उनले पढाइलाई छोडेर जागिर र छोरालाई सम्हाल्दैमा १० वर्ष बित्यो । १० वर्षपछि उनले फेरि पढेर अहिले बीएड पनि सकिन् । १० वर्ष चौरासे र १० बर्ष वीरेन्द्रनगर–१२ खोरियामा अध्यापन गराएकी चन्द्राले अहिले श्री कृष्ण संस्कृत तथा साधारण मावि ईत्राममा अध्यापन गराउँदै आइरहेकी छिन् । अहिले उनले अध्यापन गराउन थालेको २५ वर्ष भइसकेको छ । त्यतिमात्र होइन चन्द्रा श्रीमान्लाई व्यापारमा पनि फुर्सदको समयमा सघाउने गर्छिन् । साथै उनी समाजसेवामा समेत लागेकी छिन् । उनी नेपाल राष्ट्रिय शिक्षक संगठन कर्णाली प्रदेश समिति सदस्य पनि हुन् ।

यस्तो थियो बाल्यकाल

पिता भागीरथ तिवारी र माता टिकावती तिवारीको कोखबाट २०३२ सालमा कल्याणमा जन्मिएकी चन्द्राको बाल्यकाल रमाइलोसँग बित्यो । सात भाइबहिनीमध्ये कान्छी छोरी भएकाले पनि सबैको माया ममतामा हुर्किन् । घरको कामकाज केही गर्नु परेन । उनको आफूले अरुलाई केही नभन्ने र अरुले केही भनेमा पीर मान्ने स्वभाव थियो । कक्षा सातसम्म कल्याणमा नै पढेकी चन्द्राले एसएलसी पास भने दशरथपुरबाट गरिन् । पिता पर्शुराम आचार्य र माता मालिकादेवी आचार्यको कोखबाट २०३० सालमा रतुमा जन्मिएका चुँडामणी आचार्यको बाल्यकाल गाउँमा नै रमाइलोसँग बित्यो । पाँच विवाह पछि माया बस्यो दिदीबहिनीको एक मात्र भाई भएकाले पनि उनी सबैको माया ममतामा हुर्किए । एउटा छोरा बाबुआमाको प्यारो सबैको माया ममतामा बाल्यकाल बित्यो । उनी बाल्यकालमा लजालु स्वभावका थिए । कक्षा एक रतुमा पढेका आचार्यले कक्षा दुईदेखि एसएलसीसम्म भने अमरज्योति माविबाट गरे । एसएलसी पास गरेपछि भने आचार्य व्यापारतिर लागे । सुरुमा अंकलको पसलमा बसेर व्यापार गर्ने तरिका सिके । पछि उनले आफ्नै कामना सपिङ्ग सेन्टर सञ्चालन गरी व्यापार सुरु गरे ।

सामान्य झगडा

विवाहपछि धेरै जसो यो जोडी टाढा नै बसे । चन्द्रा अध्यापनका लागि बाहिर नै बसिन् । आचार्य भने आफ्नै व्यापारमा व्यस्त भए । यो जोडी जति टाढा भए पनि माया भने गाढा नै छ । कहिलेकाहीं सामान्य झगडाले पनि सम्बन्धमा माया बढाई दिने उनीहरूको भनाइ छ । उनीहरू भन्छन्, ‘सामान्य झगडा भए पनि छिनमा नै सेलाइ हाल्छ ।

खुलेरै प्रशंसा

यो जोडी जति झगडा गरे पनि एकअर्काेको प्रशंसा पनि खुलेरै गर्छन् । आचार्यलाई चन्द्राको हरेक काममा हौसला र साथ दिने बानी मनपर्ने गर्छ । कहिले काहीं कुरा नबुझेरै रिसाउने बानी भने आचार्यलाई अलि मन पर्दैन उनलाई त्यो बानी हटाइदिएको भए हुन्थ्यो जस्तो लाग्छ । त्यस्तै चन्द्रालाई पनि आचार्यको अभिभावकको भूमिका निर्वाह गर्ने बानी मनपर्छ ।

(२०७७ कार्तिक ८ गते शनिवार युगआह्वान राष्ट्रिय दैनिकमा प्रकाशित)

तपाईको प्रतिक्रिया