बढ्दै वन्यजन्तुको चोरी–शिकारी, रेडपाण्डा र चितुवा ताक्दै तस्कर

सुर्खेत, ६ कार्तिक ।

कर्णाली प्रदेशमा वन्यजन्तुको चोरी निकासी बढ्दै गएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार कर्णाली बर्षेनी वन्यजन्तुको चोरी निकासी बढ्दै गएको पाइएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयको पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार तीन वर्षमा चितुवाको हड्डी ६२ थान, चौरीगाइको पुच्छर ६५ थान, कस्तुरीको बीना ६० थान नियन्त्रणमा लिएको छ ।

त्यस्तै बाघको हड्डी ९५ थान, रेडपाण्डा १३ थान, डाँफे एक थान र नौ थान चितुवाको छाला बरामत गरेको छ । प्रहरीको तथ्याङ्क अनुसार कर्णालीमा तस्करले मुख्यगरी चितुवा र रेडपाण्डा ताक्ने गरेका छन् । चितुवा, चौरीगाई, डाँफे, कस्तुरीको बिना, बाघको छाला लगायतका दुर्लभ वन्यजन्तुहरु चोरी शिकारी गर्ने गरेका हुन् । हालसम्म पक्राउ परेकाहरुबाट बरामद गरिएको बन्यजन्तुको छाला र हड्डी हेर्दा पनि तस्करको मुख्य ध्यान रेडपाण्डा र चितुवामा नै देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३÷०७४ सालमा चितुवाको छाला चार थान, चितुवाको हड्डी ६३ थान र रेडपाण्डाको चाल दुई थान प्रहरीले नियन्त्रणमा लिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका सह–प्रवत्ता प्रहरी उपरीक्षक (एसपी) माधवप्रसाद श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा चौरी गाइको पुच्छर सेतो ४३ थान, कालो १३ थान र कस्तुरीको बीना पाँच थान बरामत गरिएको थियो । त्यस्तै आर्थिक वर्ष २०७५÷०७६ मा चितुवाको छाला चार थान र रेडपाण्डा पाँच थान नियन्त्रणमा लिएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७६÷०७७ मा रेडपाण्डाको छाला दुई थान, चितुवाको छाला एक थान, कस्तुरीको बिना ५५ ग्राम, बाँघको छाला एक थान, ९५ वटा हड्डिी नियन्त्रणमा लिएको थियो । त्यस्तै चालु आर्थिक वर्षको असोज ५ गतेसम्म डाँफेको एक थान र रेडपाण्डा दुई थान नियन्त्रणमा लिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यसरी हेर्र्दा कर्णालीमा बर्षेनी वन्यजन्तुको चोरी शिकारी बढ्दै गएको पाइएको हो ।

मुख्य कारोबारस्थल बन्दै सुर्खेत

वन्यजन्तु चोरी शिकारीको क्रममा पक्राउपर्ने तस्करको तथ्याङ्कअनुसार सुर्खेत जिल्ला तस्करको मुख्य कारोबार स्थलमा रुपमा देखा परेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार धेरैजसो तस्करहरु सुृर्खेतबाटै पक्राउ पर्ने गरेका छन् । प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा सुर्खेतमा मात्रै ६३ थान चितुवाको हड्डी, दुई थाने छाला र दुई थान रेडपाण्डाको छाला प्रहरीले तस्करबाट नियन्त्रणमा लिएको थियो । त्यस्तै २०७४÷०७५ मा सुर्खेतबाटै चौरीगाइको सेतो पुच्छर ४३ थान, कालो पुच्छर १३ थान र कस्तुरीको बिना पाँच थान निन्त्रणमा लिएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७५÷०७६ मा दुई थान चितुवाको चाला र चालु आर्थिक वर्षमा दुई थान रेडपाण्डाको छाला सुर्खेतबाट नै नियन्त्रणमा लिएको थियो । यसरी हेर्दा वन्यजन्तु तस्करका लागि सुर्खेत जिल्ला कारोबारस्थलका रुपमा देखिएको छ ।

जिल्लागत रुपमा हेर्दा पछिल्लो तीन वर्षमा सल्यानबाट दुई थान चितुवाको छाला, दैलेखबाट बाघको हड्डी ९५ थान, चितुवा र बाघको छाला एक÷एक थान नियन्त्रणमा लिइएको छ । त्यस्तै रुकुमपश्चिमबाट रेडपाण्डाको छाला तीन थान र चितुवाको छाला दुई थान, जाजरकोटबाट रेडपाण्डा तीन थान, जुम्लाबाट कस्तुरीको बीना ५५ थान, डोल्पाबाट रेडपाण्डा र डाँफे एक÷एक थान नियन्त्रणमा लिइएको हो ।

तीन बर्षमा २७ जना तस्कर समातिए

पछिल्लो तीन बर्षको अवधिमा अवैध रुपमा वन्यजन्तु चोरी शिकारी गर्ने २७ जना तस्करहरु पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पक्राउ परेका तस्कर मध्ये दुई जना महिला र १५ जना पुरुष छन् । पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७३ सालमा सुर्खेतबाट रेडपाण्डा र चितुवाको छाला, हड्डीसहित तीन जना, सोही वर्ष सल्यानबाट चितुवाको छालासहित तीन जना र २०७४ सालमा सुर्खेतबाट नै चौरीगाइको पुच्छर र कस्तुरीको बिनासहित तीनजना तस्करहरु पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै २०७५ मा सुर्खेत, दैलेख, डोल्पा, जाजरकोट र रुकुमपश्चिमबाट सात जना, २०७६ सालमा जाजरकोट, रुकुमपश्चिम, जुम्ला र दैलेखबाट ६ जना र चालु आर्थिक वर्षमा डोल्पा र सुर्खेतबाट गरी पाँचजना तस्कर पक्राउ परेका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सह–प्रवत्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए । प्रहरीले पक्राउ गरेका तस्करहरुलाई वन्यजन्तु चोरी सिकारी ऐन अन्तगत कारबाहीको सम्बन्धित जिल्ला बन र राष्ट्रिय निकुञ्जमा बुझाउने गर्दछ ।

छालासहित चारजना पक्राउ

यस्तै बुधबार सुर्खेतमा रेडपाण्डाको छालासहित चारजना पक्राउ परेका छन् । दुइ वटा रेडपाण्डाको छालासहित दैलेखको नारायण नगरपालिका–९ का ४० बर्षे सविता थापा, नौमुले गाउँपालिका–२ का २६ वर्षे मनोज विक, वडा नं.–३ का ४१ वर्षे मनबहादुर सुनार र २९ बर्षे पदमबहादुर सुनार पक्राउ परेका हुन् । प्रहरीले उनीहरुलाई बुधवार वीरेन्द्रनगर–६ को एक होटलबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए । होटलमा रेडपाण्डाको छालाको कारोवार भइरहेको विशेष सूचनाको आधारमा प्रहरी निरिक्षक गोपाल रायमाझीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया