विपद् न्यूनिकरणका लागि सामग्री सहयोग

सुर्खेत, ५ कार्तिक ।

किर्डाक नेपाल कर्णाली प्रदेशले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र वडा कार्यालयहरुलाई विपद् न्यूनिकरणका लागि आवश्यक सामग्री वितरण गरेको छ । युनिसेफ नेपालको आर्थिक सहयोगमा नगरपालिका र वीरेन्द्रनगरको वडा नम्बर ९ र १० को वडा कार्यालयलाई सामग्री वितरण गरिएको हो ।

नगरपालिकाको स्टोरमा रहनेगरी किर्डाक नेपालले ६ लाख ४५ हजार बराबरको सामग्री र वडा नम्बर ९ र १० लाई सात लाख बराबरको सामग्री वितरण गरेको हो । बाढीबाट हुने क्षति न्यूनिकरणका लागि पूर्वतयारी गर्ने सामग्री अन्तरगर्त त्रिपाल, हाईजिन किट, प्राथमिक उपचार किट, प्रिफर्म, गर्भवती महिला किट, बाल्टिन, जग, पानी ट्याँकी, आपतकालिन चर्पि, धाराको टुटी, सेन्सर सेनिटाइजर मेसिन, सर्जिकल माक्स, जकेट, डोरी, बेल्च, स्टेचर, रेनकोट लगायतका सामग्री वितरण गरिएको छ ।

अति जोखिममा रहेका बस्तीहरुको पहिचान गरी वडा कार्यालयमा आवश्यक साम्रगी वितरण गरेको किर्डाक नेपालले जनाएको छ । किर्डाक नेपाल कर्णाली प्रदेशका कार्यक्रम व्यवस्थापक नविन शाहीले अति जोखिममा रहेका बस्तीहरुलाई तत्काल राहत वितरण गर्न सहज होस् भन्ने उद्देश्यले आवश्यक सामग्री वितरण गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया