न्यायिक समितिमा घटे उजुरी

रुकुमपश्चिम, ५ कात्तिक ।

आर्थिक वर्ष २०७४÷०७५ मा आठबीसकोट नगरपालिकाको न्यायिक समितिमा ७३ उजुरी परे । अघिल्लो वर्ष ४५ उजुरी परेको नगरपालिकामा यो वर्ष भने ३३ थान उजुरी मात्रै दर्ता भएका थिए । मुसीकोट नगर न्यायिक समितिमा पनि २०७४÷०७५ मा ४३ मुद्दा दर्ता भएकोमा त्यसपछिका दुई वर्ष उजुरी कम हुँदै गएका छन् ।

यी दुई स्थानीय तहका न्यायिक समितिमा मात्र होइन, जिल्लाका अरु ४ वटा पालिकामा पनि उजुरी दिनेको संख्या घटेको हो । वडा तहमा मेलमिलाप समिति बनाइएपछि न्यायिक समितिमा आउने उजुरी घट्दै गएको मुसीकोट नगर न्यायिक समिति संयोजक प्रेमकुमारी सुनार केसीले बताइन् । ‘समितिले किनारा लगाउन नसकेका मुद्दा जिल्ला अदालतमा सिफारिस गरेका छौं,’ उनले भनिन्, ‘केही मुद्दा वादी र प्रतिवादीको सहमतिमा फैसला भएका छन् ।’ मुसीकोटमा अघिल्लो वर्ष ३५ र गत वर्ष २१ मुद्दा परे ।

स्थानीय तहको गठनपछि हरेक पालिकामा उपप्रमुखरउपाध्यक्षको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति बनाइएको छ । नगरमा न्यायिक समिति र वडामा मेलमिलाप समितिले मेलमिलापको काम गरिरहेको चौरजहारी नगरपालिका उपप्रमुख राधा रोकाले बताइन् । ‘धेरै उजुरी वडामै मेलमिलाप भएकाले पछिल्ला वर्ष मुद्दाको संख्यामा कमी आएको छ,’ उनले भनिन्, ‘सुरुका वर्ष वडामा मेलमिलाप समिति थिएनन् र सबै मुद्दा न्यायिक समितिमा आए, अब धेरै विवाद वडामै मिल्न थाले ।’ न्यायिक र मेलमिलाप समितिले कानुनी सेवामा सजिलो बनाइरहेको नेपाल बार एसोसिएसनका अध्यक्ष एक्कबहादुर पाण्डेले बताए । ‘केही समस्या र अपुगतामा पनि न्यायिक समितिले निरन्तर काम गरिरहेका छन्,’ उनले भने, ‘जिल्लामा आउनुपर्ने मध्येका धेरै विवाद वडा र पालिकामै मिल्दा धेरैले न्यायको अनुभूति गरेका छन् ।’

संविधानको धारा २१७ ले ३ सदस्यीय न्यायिक समितिको व्यवस्था गरेको छ । बितेका ३ आर्थिक वर्षमा जिल्लाका ६ न्यायिक समितिमा ७ सय ४६ मुद्दा परेका छन् । जसमध्ये ५ सय ९० मुद्दा फर्स्योट भएका छन् ।

तपाईको प्रतिक्रिया