टिकाको साइत १० बजेर १९ मिनेटमा

सुर्खेत, ५ असोज ।

यो वर्ष विजया दशमीको टीका लगाउने शुभ साइत बिहान १० बजेर १९ मिनेटको लागि जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १० गते बिहान १० बजेर १९ मिनेटका लागि यस वर्ष टीकाको शुभ साइतलाई उत्तम मानेको गृह मन्त्रालयले जनाएको छ ।

यद्यपि उत्तम साइतपछि पूर्णिमाको दिनसम्म टीका लगाउन सकिने उल्लेख छ । यो साल देवी विसर्जनको ८ मिनेटमै टीकाको साइत जुरेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यो साल घटस्थापनाको दिन चित्रा नक्षत्र परेको हुँदा टीकामा त्यसको असर परेको पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्य ढुंगेलले अनलाइनखबरलाई जानकारी दिए । ‘शास्त्रमा ‘वैदित्रो पुत्र नासस्य, चित्राया धन नाशनम्’ भनिएको छ । यसैको दोष निवारणको लागि देवी विसर्जनको ८ मिनेटमा नै टीकाको साइत जुराइएको हो ।’ ढुंगेलले भने ।

अघिल्ला वर्षहरूमा देवी विसर्जन गरेपछि ३० देखि ४५ मिनेटपछि मात्रै टीकाको साइत जुराउने गरिएका थियो । त्यस्तै, फूलपाती भित्र्याउनको लागि शुभ साइतको आवश्यकता पर्दैन । षष्ठीको दिन बेललाई निम्ता दिने र सप्तमीको दिन बिहान बेल टिपेर साँझमा बेल पूजा गर्ने विधान रहेको छ । त्यस्तै, कात्तिक ७ गते फूलपातीको दिन बिहान ८ बजेर ५६ मिनेटमा तुलजा भवानीको यात्रा र बिहान १० बजेर १४ मिनेटमा स्थिरासन गर्ने समय तोकिएको छ । विजयादशमीको दिन तुलजा भवानीको यात्रा बिहान ८ बजेर ४७ मिनेटको लागि तोकिएको छ भने देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटको लागि तोकेको छ ।

तपाईको प्रतिक्रिया