सम्पादकीयः कालोपत्रे सडकको सपना

विकास निरन्तर हुने पक्रिया हो । तर पनि मानिस विकासको भोको हुन्छ । विकासको गति बढ्दै जाँदा मानिसले थप विकास र समृद्धिको अपेक्षा गर्नु स्वभाविक नै हो । मानव सभ्यताको विकासक्रम सँगै भौतिक विकास र प्रविधिको पनि विस्तार भयो । सुरुमा पैदल हिँड्न बाध्य मानिसलाई विकासकै गतिले यातायातका साधनको विकास भयो । विस्तारै दुर्गम बस्तीहरु सडक संजालमा जोडिन पुगे । मानिसहरु सवारी साधनमा चढेर आउजाउ गर्न पाउने अवस्था आयो । तर आज पनि कर्णालीका अधिकांश बस्तीहरु सडक संजालमा जोडिएका छैनन् । साविक कर्णालीका नागरिकले त गाडी चढ्न पाएकै भर्खरै मात्र हो । अझै पनि हुम्ला सडक संजालमा जोडिन बाँकी छ । तर पनि अधिकांश यस्ता बस्ती र गाउँहरु छन्, जहाँ अहिले पनि सडक पुगेको छैन । सर्वसाधारणहरु पैदल हिँडन र भारी बोक्न बाध्य छन् । यसअघि मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम हुँदा होस् वा अहिले कर्णाली प्रदेशको राजधानी हुँदा होस् । सुर्खेतले प्रशासनिक र राजनीतिक केन्द्रमा रहने अवसर पाएको छ । तर पनि यहाँका ग्रामीण क्षेत्रमा अहिले पनि सडकै विस्तार भएका छैनन् । भएका सडक पनि कालोपत्रे हुन सकेका छैनन् ।

वास्तवमा सडक विकासको संवाहक हो । भनिन्छ, सडकले विकास पनि बोकेर ल्याउँछ । तर सुर्खेतमा सबैभन्दा पुरानो धुलियाबिट भेडाबारी सडक र बड्डिचौरबाट लगाम जोड्ने सडकका हालत दयनीय छ । यी सडक बहुसंख्यक नागरिकको भाग्यसँग जोडिएका छन् । तर नागरिकलाई यी सडकको स्तरोन्नती नहुँदा सुविधाभन्दा पनि सास्ती बढी भएको छ । हिउँदमा धुलाम्य र बर्षातमा हिलाम्य हुने अवस्था छ । सडक भएर पनि सर्वसाधारणले पैदल हिँड्नुपर्ने र बिरामीलाई बोक्नुपर्ने अवस्था छ । कारण यी सडक खनिएको लामो समय भयो । हालसम्म कालोपत्रे हुन सकेका छैनन् । आज पनि नागरिकहरु यी सडक कालोपत्रे हुने र सुविधा पाउने अपेक्षा गरिरहेका छन् । त्ययतिमात्र होइन, यीनै सडक कालोपत्रे र स्तरोन्न्ती गर्ने सपना देखाएर धेरैले चुनाव जिते । सांसद भए । मन्त्री नै बने । तर पनि हालसम्म सडकको हालत उस्तै छ । राजनीतिक नारा मात्र बनेका यी सडकले नागरिकको जीवनस्तरमा कुनै परिवर्तन भने ल्याउन सकेनन् ।


जिल्लाको पूर्व र पश्चिमका नागरिकलाई जोड्ने यी दुबै सडकको तत्कार विस्तार, स्तरोन्नती र कालोपत्रे हुनु पर्दछ । पछिल्लो सयम यी दुबै सडक मदन भण्डारी राजमार्गको रुपमा विस्तार हुने भएका छन् । गौरबको आयोजनामा पर्नु सुखद् हो । तर यो आयोजनाको काम कहिले सुरु हुने ? समयमै आयोजनाको काम भएन भने जिल्लाका नागरिकले कहिलेसम्म सास्ती भोग्ने ? यसर्थ जिल्लाको राजनीतिक नेतृत्व, प्रशासनिक निकाय, प्रदेश सरकार र स्थानीय तहले एकपटक गम्भिर भएर सोच्नै पर्दछ । सडक विना विकास र समृद्धिको यात्रा सम्भव छैन । यसकारण पनि नागरिकको बर्षौंदेखिको कालोपत्रे सडकमा यात्रा गर्ने सपना पूरा गर्न अब ढिला गर्नु हुँदैन । आफैले गरेका बाचा पूरा नगरे आउँदो निर्वाचनमा मतदाताले त्यसको हिसाव अबश्य गर्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार