ट्याक खुलेको ४१ वर्षपछि कालोपत्रे हुँदै भेडाबारी सडक

सुर्खेत, ३ कात्तिक ।

एउटा सडक ट्याक खुलेको कति वर्षमा पक्की होला ? ५ वर्ष, १० वर्ष वा १५ वर्ष लाग्ला । तर सुर्खेतको धुलियाबिट–भेडाबारी सडक खण्ड भने कालोपत्रे हुन झण्डै ४१ वर्ष कुर्नु प¥यो । ट्याक खुलेको झण्डै ४१ वर्ष यो सडक खण्डमा कालोत्रेको तयारी भएको छ ।

सुर्खेतको सबैभन्दा जेठो सडक खण्ड अहिले पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुन्छ । धुलियाबिट–भेडाबारी सडक २०३६ सालमा ट्¥याक खुलेको थियो । तर उक्त खण्ड हालसम्म कालोपत्रे हुन सकेको छैन । बरु चार दशकमा चार पकट नाम परिवर्तन गरिएको छ । सुर्खेत–कोहलपुर सडक, धुलियाबिट–भेडाबारी सडक, सुर्खेत–दाङ तुलसीपुर सडकहुँदै हाल मदन भण्डारी राजमार्गका रुपमा नामाकरण गरिएको छ ।

जिल्लाको पूर्वी क्षेत्रका नागरिकको आर्थिक समृद्धिसँग जोडिएको भेडाबारी सडक खण्ड हालसम्म पनि स्तरोन्नती हुन सकेन । दलहरुले चुनावमा भोट बटुल्न सडकको स्तरोन्नती गर्ने बाचा गरे । तर पञ्चायतदेखि, बहुदल, गणतन्त्र हुँदै संघीय व्यवस्थामा पनि सडकको मुहार फेरिएन । तर अब भने यो सडक खण्डको मुहार फेरिने लगभग पक्का भएको छ ।

सडकको स्तरोन्नतीको काम सुरु भएसँगै मदन भण्डारी राजमार्ग काम अघि बढ्ने छ । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने बोटेचौर–धुलियाबिट–भेडाबारी सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । कार्ड कन्सल्ट प्रालिले विस्तृत परियोजना प्रतिवेदन तयार पारेको हो । प्रालिका अनुसार आयोजनाले चाहेको खण्डमा दशै लगत्तै काम सुरु गर्न सकिने छ । करिब ३७ किलोमिटर सडक खण्डमध्ये ३५ किलोमिटर सम्मको विस्तृत प्रतिबेदन तयार भएको छ । प्रारम्भिक अध्ययन प्रतिवेदनमा सडक निर्माणमा लाग्ने खर्च र स्तरोन्नतीको सम्पूर्ण काम सकिएको छ । पूर्वका जनताको ‘लाइफ लाइन’ भएको मदनभण्डारी राजमार्ग तोकिएकै समयका सम्पन्न गर्नका मंसिरसम्म काम सुरु भइसक्ने कन्सल्टेन्सीले जनाएको छ । मदन भण्डारी राजमार्ग आयोजनाका प्रमुख उमेशबन्धु श्रेष्ठले प्रारनभिक वातावरणीय परीक्षण् प्रतिवेदन तयार भएपछि काम अगाडि बढ्ने बताएका छन् । प्राविधिक काम सकिए लगत्तै काम सुरु हुने उनको भनाइ छ ।

दुई अर्ब बजेट लाग्ने

मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने बोटेचौर–भेडाबारी–धुलियाबिट सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार अब भेडाबारी सडकखण्ड नौ मिटर चौडाइसम्म कालोपत्रे गरिने छ । हाल सडकमा औसत चार मिटर चौडाइ छ । स्तरोन्नती गर्दा झण्डै ५२ प्रतिशत सडक चौडाई बनाइने छ । डीपीआर अनुसार बोटेचौरदेखि धुलियाबिटसम्म ३५ किलोमिटरभन्दा बढी स्तरोन्नती हुनेछ । स्तरोन्नती गर्न झण्डै दुई अर्ब बजेट लाग्ने अनुमान गरिएको छ ।
आयोजना कार्यान्वयन भएको खण्डमा कुल एक अर्ब ९४ करोड ८४ लाख २३ हजार ६ सय ७३ रुपैयाँ लाग्ने डीपीआर प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोजना कार्यान्वयन गर्दा वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ र १३, लेकबेशी नगरपालिकाको वडा नं. १, २, ३, ४, ६, ७, ९ र १०) र गुर्भाकोट नगरपालिका वडा नं. १०, १२, १३ र १४ प्रत्यक्ष रुपमा प्रभावित हुने कार्ड कन्सल्ट प्रालिले जनाएको छ । कन्सल्टले हाल उत्त खण्डमा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आइइइ) तयारी गरिरहेको छ । वातावरणीय परीक्षण प्रतिवेदन तयार भएपछि सडक खण्डको प्राकृतिक भौतिक, जैविक, सामाजिक, सांस्कृतिक र आर्थिक प्रणालीमा पर्ने प्रभावको एकिन हुने छ । आइइइ तयार पार्न कन्सल्टले तीन वटै स्थानीय तह, सडक खण्डमा पर्ने विद्यालय, स्वास्थ्यचौकी र सरोकारवाला व्यक्ति र संस्थासँग कात्तिक सात गतेभित्र लिखित रुपमा सुझाव माग गरेको छ ।

चुनावी बाचा पुरा गरेर छोड्छु ः शाही

सुर्खेत क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाहीले धुलियाबिट–भेडाबारी सडक खण्डलाई कालोपत्रे गरेर चुनावी बाचा पुरा गर्ने बताएका छन् । ‘भेडाबारी सडक खण्ड जिल्लाकै लाइफलाइन हो’ सांसद शाहीले भने, ‘चुनावमा सडक पक्की बनाउन जनतासँग गरेको बाचा पुरा गर्छु ।’ सर्वे सकिएको भन्दै चालु आर्थिक वर्षदेखि काम सुरु हुने उनको भनाइ छ । ‘भेडाबारी सडक खण्ड अब मदन भण्डारी राजमार्गका रुपमा अगाडि बढ्छ’ शाहीले भने, ‘काम छिटो गर्न आयोजनासँग बारम्बार समन्वय गरिरहेको छु, सम्भवत मंसिरभित्रै काम सुरु हुन्छ होला ।’ मदन भण्डारी राजमार्गमा पर्ने बोटेचौर–भेडाबारी–धुलियाबिट सडक खण्डमा कुनै ठाउँमा पनि विवाद नरहेको भन्दै शाहीले यसै वर्षदेखि काम सुरु हुने बताए । ‘राष्ट्रिय राजमार्गको मापदण्ड सडकको स्तरोन्नती हुन्छ’ शाहीले भने, ‘सडक चौडा केही असर त पर्ला, तर कोही पनि विकासको बाधक हुने छैनन् ।’ बोटेचौर–भेडाबारी–धुलियाबिट खण्डमा विवाद भए समन्वय गर्ने शाहीको भनाइ छ ।

किन समयमै स्तरोन्नती हुन सकेन ?

२०३२ साल मंसिर सुर्खेतमा गाडी गुडाउने सपना बाँढियो । तत्कालिन पञ्चायत सरकारले सुर्खेतको वीरेन्द्रनगरलाई नेपालगञ्जसम्म जोड्ने सडक निर्माण गर्ने योजना अगाडि सा¥यो । राजा महेन्द्रले आमा कान्तिराज्य लक्ष्मी देवी शाहको सम्झना स्वरुप नेपालगञ्जदेखि वीरेन्द्रनगरसम्म सडक विस्तारको योजना अगाडि सारे । सडकको नामनै रत्नराजमार्ग कायम गरेर कामको सुरुवात गरियो । तर ३२ सालमा निर्माण थालिएको सडक अहिलेसम्म पनि गाडी गुड्न सकेको छैन । सडक निर्माणको सुरुवातसँगै नेताको विवादका कारण चार दशकसम्म सडक निर्माण अलपत्र परेको छ । जिल्ला सदरमुकाम वीरेन्द्रनगरलाई छिन्चु रामघाट हुँदै वीरेन्द्रनगर जोडन कि छिन्चुदेखि सिधै वीरेन्द्रनगर जोड्ने भन्ने विषयमा लामो समय विवाद सिर्जना भयो । जोड्ने क्रममा पनि आस्थाका आधारमा लडाई भएको पाइन्छ ।

तत्कालिन जिल्ला पञ्चायत सभापति तुल्सीप्रसाद शर्माले जनताको सुविधाको लागि सडक आएको भन्दै बाटो छिन्चु रामघाट हुँदै वीरेन्द्रनगर जोड्ने अडान राखे । तर पञ्चायत जिल्ला सदस्यहरुले छिन्चुदेखि सिधै वीरेन्द्रनगर सडक जोड्नुपर्ने अडान राखे । उपत्यकामा बसोबास गर्ने तत्कालिन पच्यायतका सदस्यहरुले तत्कालिन राजाको सवारीका कारण छिटो र कम खर्चमा काम गर्ने गरी काम गरेको बताएता पनि उनीहरुको भित्री आशय भनेको तुल्सीप्रसादलाई नै फेल गर्नु नै थियो । यसरी न्वारन नहुँदै राजनीतिक अगुवाहरुको विवादका कारण भेडाबारी सडक खण्ड अहिले पनि पक्की बन्न सकिरहेको छैन । तर मदन भण्डारी राजमार्ग भएसँगै भेडाबारी सडक खण्ड पक्की हुने आस पलाएको छ ।

तपाईको प्रतिक्रिया