जसले अंग्रेजी राम्रो बनाउन अंग्रेजी नै पढे

मानव जीवन सृष्टीको एउटा सिर्जना हो । सुख र दुःखको संरचना हो । व्यक्ति अनुसार जीवन जीउने कला र स्वभावहरु फरक हुन्छन् । पदअनुसार व्यक्तिको प्रतिष्ठा सम्झने र त्यही अनुसार अरुलाई व्यवहार गर्ने हाम्रो चलनचल्ती बनेको छ । तर समाजमा केही यस्ता व्यक्ति पनि छन् । जो पद र प्रतिष्ठाभन्दा माथि उठेर हरेक नागरिकलाई समान नजरले हेर्छन् । तिनै मध्येका एक हुन् रामकुमार थापा । हाल राष्ट्रिय बाणिज्य बैंक कर्णाली प्रदेश कार्यालय सुर्खेतमा हाल उनी प्रमुखको रुपमा कार्यरत छन् । उनको जीवन जीउने कला बेग्लै छ । सबै कर्मचारीलाई समान ठान्ने उनी आफ्नो कारणले अरुले प्रगति गरेको खण्डमा सन्तुष्ट हुन्छन् । प्रस्तुत छ, थापाको जीवन भोगाई र कर्मचारी क्षेत्रको अनुभवमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंशः

संघर्षपूर्ण बाल्यकाल

रामकुमारको जन्म २०२९ साल कार्तिक १७ गते गोकर्णेस्वर गरपालिका वडा नं. ९ आरुबारी काठमाडौँमा भएको हो । निम्न परिवारमा जन्मिएका रामकुमारले ६ वर्षको उमेरमै बुवालाई गुमाउनु प¥यो । आमाको छत्रछहारीमा हुर्किएका उनी सानैदेखि संघशिल व्यक्ति हुन् । बुवा नहुँदा समाजले गर्ने व्यवहार राम्रोसँग अनुभूति गरे । साथीसँग खेल्ने र रमाउने उमेरमा उनी आमाको सहयोगी बने ।

स्कूल विदा हुँदा मेलापातमा सघाउने होस् या ठूलो भएपछि आर्थिक दायित्व निर्भाह गरेर उनी आमाको असल छोराको भूमिका निभाए । काठमाडौँमा जन्मिए पनि उनको आर्थिक अवस्था सामान्य थियो । स्कूलमा कापी र कितावदेखि हरेक आवश्यकताहरु पुरा गर्नु अन्न बिक्री गर्नुपथ्र्याे । आमाको यही सहारा, प्रेरणा र सामान्य आर्थिक अवस्थाका कारण रामकुमारले सानैदेखि संघर्ष गर्न सिके । नेपाल सरकारको दशौं तहमा कार्यरत उनी सबै कर्मचारीलाई समान व्यवहार गर्छन् ।

अनि अंकलले दुध खुवाए…

२०४६ सालतिरको कुरा हो । जतिबेला रामकुमार भर्खर एसएलसी पास भएका थिए । खुशीले एसएलसीमा पास भएको कुरा आमालाई सुनाए । तर आमालाई एसएलसी पास र फेलको कुनै प्रवाह भएन । ‘अब त धेरै किताव कापी किन्नु पर्दैन होला नी ?’ आमाले खुशी हुनुको साटो उल्टो प्रश्न गरिन् । किनकी अन्न, दुघ र घ्यू नबेची कापी किताव किन्न सक्ने अवस्था थिएन । हुन पनि आमाले एसएलसी पास र फेलको के मलतव ।

किनकी उनले एसएलसीको महत्व बुझेकी थिइनन् । बरु क्याम्पस पढ्दा एक÷दुई वटा किताव बोकेर हिँडेका विद्यार्थीहरु देखेकी थिइन् । यहीकारण क्याम्पस पढ्दा धेरै कापीकिताव किन्नु पर्दैन होला भन्ने आमाको सोचाइ थियो । उबेला गाउँबाट एसएलसी पास गर्ने व्यक्तिहरु प्राय कमै हुन्थे । एसएलसी पास भएको दिन अरुको घरमा खुशीयाली हुन्थ्यो ।

एसएलसी पास भएको खबर थाहा पाएपछि रामकुमारका अंकलले भने, ‘तेरो बुवा भएको भए आज कति खुशी हुन्थ्यो होला, ल मेरो तर्फबाट एक कप दुध खा ।’ आमाले एसएलसीको महत्व नबुझे पनि खुशीले अंकलले उनलाई पसलमा लिएर एक कप दुध खुवाएका थिए । यद्यपी रामकुमारको घरमा दुहुनो गाई थियो । दुधको त्यति रुचि पनि राख्थेनन् । तर खुशीयालीमा अंकलले दिएको दुध उनले नकार्न सकेनन् ।

विहान स्कुल, दिउँसो मेलापात

उबेला काठमाडौंमा स्कुलको अवस्था निकै दयनीय थियो । विद्यालयहरुमा पर्याप्त भौतिक पूर्वाधार थिएनन् । विद्यालय कक्षा कोठा नहुँदा एउटै स्कुलमा दुई समय पढाइ हुन्थ्यो । रामकुमार पढ्ने स्कुल अरुणोदय माध्यमिक विद्यालयमा पनि विहान र दिउँसो गरी दुई सयम पढाइ हुन्थ्यो । कक्षा १ देखि पाँचसम्म दिउँसो र ६ देखि एसएलसीसम्म दिउँसो पढाइ हुन्थ्यो । कक्षा ६ मा गएपछि रामकुमार पनि विहान स्कुल जाने र दिउँसो मेलापात गर्थे । ‘पूर्वाधार अभावकै कारण विद्यालयमा अतिरिक्त क्रियाकलाप नै भएनन्’ रामकुमार भन्छन्, ‘तर साथीहरु मिलेर कहिलेकाँही फुटबल खेल्थ्यौं ।’

अरुणोदय माविबाट उनले २०४६ सालमा एसएलसीपछि पास गरेका हुन् । व्यवस्थापन विषयमा उच्च शिक्षातर्फ प्रविणता प्रमाणपत्र तह र स्नातक तह सरस्वती बहुमुखि क्याम्पस, नेपाल कमर्स क्याम्पसबाट स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट एमफीलसम्मको अध्ययन पुरा गरेका छन् । उनी मध्यम स्तरका विद्यार्थी हुन् । यद्यपी माध्यमिक तहका अंग्रेजी विषयमा कमजोर थिए । पछि अंग्रेजी सुधार्नकै लागि अंग्रेजी विषयमा स्नातक तह पुरा गरे । ‘अंग्रेजी राम्रो बनाउनकै लागि थप अध्ययन गरँे’ उनी भन्छन्, ‘सानोमा मलाइ किन अंग्रेजी आउँदैन भनेर सोचिरहन्थे ।’

विद्यार्थीको प्रगति नै सन्तुष्टि

२०४६ सालदेखि शिक्षण पेशामा संलग्न भएका रामकुमार विद्यार्थीले सफलतामा सन्तुष्ट हुन्छन् । उसो त अहिले पनि उनी अध्यापन कार्यमा संलग्न छन् । ‘सुर्खेत आएपछि प्रत्यक्ष रुपमा अध्यापन गराउने मौका पाएको छैन, तर अहिले पनि अनुसन्धानकर्तालाई गाइड गर्छु’ उनी भन्छन्, ‘विद्यार्थीको प्रगति नै मेरो सन्तुष्टिको आधार हो ।’ अवकाशपछि अध्ययन÷अध्यापनमै जीवन विताउने उनको योजना छ । मासिक पाँचसय तलवमा बाल सिर्जनालय विद्यालयबाट उनले अध्यापन कार्य सुरु गरेका हुन् । अध्यापनकै क्रममा ग्राम शिक्षा माध्यमिक विद्यालयमा लामो समय अध्यापन गराए । बैंकिङ क्षेत्रमा प्रवेश गर्नु अघिसम्म त्यही विद्यालयको अंग्रेजी शिक्षकको रुपमा कार्यरत थिए ।

बैंकिङ क्षेत्रमा आए पनि हिमालय ह्वाइट हाउस इन्टरनेशनल कलेज, एपेक्स कलेज, कान्तिपुर भ्याली कलेज, काठमाण्डौ डनबस्को कलेज, युनिक ग्लोव कलेज, चौधरी ग्रुपको सीजीआइएम कलेज, पब्लिक युथ क्याम्पस लगायतका काठमाडौँमा नाम चले क्याम्पसमा अध्यापन गराए । अध्यापन पेशामा लागेर होला अहिले पनि उनले कार्यालयमा प्रशासनिक रुपमा टाइट गर्नुको सट्टा कर्मचारीलाई ज्ञानमा पोक्त बनाउनुपर्छ भन्ने मान्यता राख्छन् । ‘अध्यापन पेशा नयाँ पुस्तालाई ज्ञान बाँढ्ने माध्यम होे’ उनी भन्छन्, ‘तर यो पेशा अरुको प्रगतिमा खुशी हुने पेशा भएका कारण म विद्यार्थीले जति धेरै प्रगति गरे, म त्यति नै खुशी हुन्छुु ।’

बैकिङ क्षेत्रमा प्रवेश

लामो समय अध्यापन पेशा अंगालेका रामकुमार २०५४ साल असोज ८ गतेदेखि बैकिङ क्षेत्रमा आएका हुन् । स्थायी जागिरका लागि तत्कालिन नेपाल औद्योगिक विकास निगमबाट बैंक क्षेत्रमा प्रवेश गरे । जुन संस्था नेपालमा उद्योगको विकासका लागि स्थापना भएको स्थापना भएको थियो । लामो समय उद्योगको विकासका लागि वित्तिय लगानी गथ्र्याे । तर कुनै समय नेपालमा वित्तिय संस्थाहरु चरम आर्थिक संकटमा परे । वित्तिय संस्थाहरु खारेज गर्नुपर्ने अवस्था भएपछि विश्व बैंकले नेपालमा वित्तिय क्षेत्र सुधार कार्यक्रम लागु ग¥यो । केही सयमपछि निगमको नाम परिवर्तन भएर एनआईडीसी बैंकका रुपमा स्थापित भयो ।

नेपालमा वित्तिय संस्थाहरुलाई एउटै बनाउनुपर्छ भन्ने सरकारको मान्यता अनुसार २०७५ सालमा एनआईडीसी बैंक राष्ट्रिय बाणिज्यमा मर्ज भएको हुन पुग्यो । लामो समय काठमाडांैंमा सेवा गरेका उनी करिव एक वर्षअदेखि सुर्खेतमा रहेको राष्ट्रिय बाणिज्य बैंक कर्णाली प्रदेश कार्यालयको नेतृत्व गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया