दूधको उचित मूल्य पाउन थालेपछि सल्यानका किसान पशुपालनमा आकर्षित

सल्यान, २ कात्तिक ।

आधुनिक पशुपालन व्यवसाया सल्यानका किसान लागिपरेका छन्। खासगरी दुग्ध उत्पादनमा लागि परेका जिल्लाका किसान दूधको राम्रो मूल्य पाएपछि यसप्रति आकर्षित भएका हन्। घरायसी प्रयोजनको दूधका लागि मात्र एक–दुई वटा गाईभैंसी पाल्ने किसानले अहिले १० वटा वटासम्म पाल्न थालेका छन्।

कपुरकोट गाउँपालिका–३ कपुरकोटका केशव शर्माले २० वटा गाई पालेका छन्। दुई वटा गाईबाट उनले व्यवसाय सुरु गरेका थिए। शर्माको आम्दानीको स्रोत गाई नै बनेको छ । भन्छन्, ‘दैनिक ७० देखि ८० लिटरसम्म दूध बेच्छु। बजारको कुनै समस्या छैन।’

गाई पालनसँगै कृषि उत्पादनमा समेत उनले जोड दिएका छन्। गाईको मलबाट उत्पादन भएको तरकारीले पनि राम्रो बजार पाएको उनी बताउँछन्। जिल्ल्लाका अधिकांश ठाउँमा अहिले व्यावसायिक रुपमै दूध उत्पादनका लागि पशुपालन थालिएको छ।

किसानहरुले उत्पादन गरेका दुग्धजन्य वस्तुहरु खरिद गर्न गाउँमा नै दुग्ध सहकारी संस्थाहरु सञ्चालनमा आउन थालेका छन्। जसले पनि किसानहरु उत्साहित भएका पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्याका कार्यालय प्रमुख कपिल प्रसाद उपाध्यायले बताए।

उपाध्यायका अनुसार जिल्लामा अहिले दैनिक २५ सय देखि ३ हजार लिटर दूध दैनिक बजार आउने गरेको छ। उत्पादन भएको दूध सदरमुकाम खलंगा, श्रीनगर, लान्ति, लुहाम, सल्लीबजार, कपुरकोटलगायत बजारमा खपत भइरहेको छ। उनले भने, ‘पछिल्लो दुई दिनको बीचमा बागचौरबाट तीन हजार लिटर दूध सुर्खेत जान्छ।’ कार्यालयका अनुसार जिल्लामा गाई तथा भैंसीका २७ फम दर्ता भएका छन्।

तपाईको प्रतिक्रिया