बजेट अभावले सुरु भएन कर्णालीमा प्लाज्मा थेरापी सेवा

दीपक बुढा/सुर्खेत, २ कात्तिक ।

कर्णालीमा शुक्रबारसम्म कोरोना संक्रमितको संख्या झण्डै पाँच हजार नजिक पुगेको छ । कुल संक्रमित मध्ये हाल दुई हजार जना सक्रिय संक्रमित छन् । पछिल्लो हप्तादिनमा दैनिक एकसय बढीको हाराहारमा नयाँ संक्रमित थपिदै गएका छन् । दशैतिहार नजिकिनु र सुरक्षा सावधानीका अपनाउन नसक्नु जस्ता कारण संक्रमणको जोखिम अझै बढ्ने देखिन्छ ।

कोरोनाकै कारण शुक्रबारसम्म कर्णालीमा १२ जना मृत्यु भइसकेको छ । यसको रोकथाम र नियन्त्रणका लागि सरकारी प्रयासहरु पनि जारी छन् । तर नियन्त्रणको प्रयास भने प्रभावकारी रूपमा सफल हुन सकेको छैन । जसले गर्दा कर्णालीमा कोरोना संक्रमण नियन्त्रणमा आउन सकेको छैन । कोरोनाको खोप नबन्दासम्म संक्रमितको उपचारका लागि रेमडिसिभर भ्याक्सिन र प्लाज्मा थेरापी उपचार पद्धती अपनाइएको छ ।

यद्यपी यो विकल्पले महामारी नियन्त्रणमा सफलता पाउन सकिएको छैन । कोरोना भ्याक्सिन नबन्दासम्म रेमडिसिभर भ्याक्सिन र प्लाज्मा थेरापीलाई वैकल्पिक उपचार पद्धती मानिएको छ । नेपालमा पनि प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार भइरहेको छ । तर कर्णाली प्रदेशमा भने प्लाज्मा थेरापी सेवा सुरु हुन सकेको छैन । प्लाज्मा थेरापी सेवा सुरु गर्नसक्ने पर्याप्त जनशक्ति हुँदाहुँदै पनि बजेट अभावका कारण सेवा सुरु गर्न नसकिएको प्रदेश अस्पताल सुर्खेतले जनाएको छ । ‘बजेट भएको खण्डमा हप्ता दिनभित्रै प्रदेश अस्पतालले प्लाज्मा थेरापी सेवाबाट उपचार गर्न सक्षम छ’ प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्मर खड्काले भने, ‘सरकारले बजेट नदिँदा प्लाज्मा थेरापी सेवा सुरु सकेका छैनौं ।’

जटिल प्रकृतिका संक्रमित बढ् नसक्ने भन्दै अस्पतालले गत असारमै प्लाज्मा थेरापीका लागि बजेट माग गरेको थियो । तर तीन महिना वितिसक्दा पनि मन्त्रालयले बजेट उपलब्ध गराउन सकेको छैन । प्लाज्मा थेरापी सेवा नहुँदा कर्णालीका जटिल प्रकृतिका विरामीलाई नेपालगञ्ज र काठमाडौं रिफर गर्नुपर्ने बाध्यता छ । प्लाज्मा थेरापीबाट नेपालगञ्ज लगायतका विभिन्न शहरमा उपचार थालिएको छ । संक्रमितको उपचारका लागि प्लाज्मा थेरापी सेवा सहयोगी मानिन्छ । नेपालगञ्जमा मात्रै दैनिक प्याज्मा थेरापी पद्दतिबाट कोरोना संक्रमितको उपचार गरिदै आएको छ । तर कर्णाली प्रदेशले भने बजेट अभावको कारण देखाउँदै अस्पतालले यो सेवा सुरु गर्न सकेको छैनन् ।

के हो प्लाज्मा थेरापी सेवा ?

प्लाज्मा थेरापी भनेको कोरोना भाइरसबाट मुक्त भएका अर्थात निका भएकाहरुको प्लाज्मा अर्को कोरोना संक्रमितलाई दिएर उपचार गर्ने एउटा विधि हो । रोगविरुद्धको प्रतिरोधी क्षमता विकास भएका र कोरोनामुक्त मानिसको रगतमा भएको प्लाज्मा अर्काे कोरोना संक्रमितलाई दिइन्छ ।

यो एउटा रोगविरुद्ध लड्न सक्ने बनाउने अभ्यास हो । बिरामीलाई प्रतिरोधी क्षमता बढाउन सक्ने प्लाज्मा दिँदा उसमा पनि रोग प्रतिरोधी क्षमता विकास हुने र थप शक्तिसँग बिरामीले रोगसँग लड्न सहयोग पुग्छ । एन्टिबडी विकास भएका मानिसको रगतबाट प्लाज्मा निकालिन्छ । त्यसलाई बिरामीको शरीरमा पठाइन्छ । यो विधिले बिरामीलाई छिटो निको पार्न सहयोगी भूमिका मात्र निर्वाह गर्ने विशेषज्ञहरूले बताउँदै आएका छन् ।

दशैंपछि बजेट दिन्छौं ः मन्त्रालय

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले भने अस्पताललाई बजेट पठाउने प्रक्रियामा रहेको बताएको छ । सबै प्रक्रिया पुरा गर्दा तोकिएकै समयमा अस्पतालाई बजेट पठाउन नसकिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । ‘प्रदेश अस्पतालालाई एक करोड बजेट दिने तयारी गरेका छौं, तर प्रक्रिया पुरा भएको छैन’ मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख बृषबहादुर शाहीले भने, ‘दशैंपछि मात्रै बजेट पठाउन सकिन्छ ।’

समयमै अस्पताललाई बजेट पठाउन नसकेको मन्त्रालयले भने कोरोना नियन्त्रणका कहिले बजेट अभाव हुन नदिने दाबी गरेको छ । ‘कोरोना नियन्त्रणका लागि बजेट अभाव हुँदैन’ उनले भने, ‘कानुनी प्रक्रिया पुरा गर्दा समय लागेको मात्रै हो ।’

तपाईको प्रतिक्रिया