जेलबाटै परीक्षा दिए अनि सफल पनि भए

जीवनमा केही पाउन केही गुमाउनै पर्छ । सफल हुनका लागि धेरै अप्ठेरा बाटाहरु छिचोल्दै हिँड्नुपर्ने हुन्छ । सुन्दर गुलावको फुल पनि त काँडाहरुकै बीचमा फुलेका हुन्छन् । यस्तै जीवनलाई काँडाहरुकै बीचमा फुलाउँदै अघि बढेका व्यक्ति हुन् नेकपाको कर्णाली प्रदेश कमिटीका सदस्य कमल शाही । राजनीति गर्ने क्रममा उनले धेरै चुनौतीहरु झेल्नु प¥यो । राजनीतिक दौडमै उनी दुई वर्षसम्म जेल जीवन विताउन बाध्य भए । आजको जम्काभेटमा उनै शाहीको राजनीतिक यात्रा, संघर्ष र जीवनका बारेमा हाम्रा सहकर्मी गीता थापाले कुराकानी गरेकी छन् । प्रस्तुत छ शारासंः

यस्तो थियो बाल्यकाल

२०३८ सालमा सुर्खेतको चौकुने गाउँपालिकाको घाटगाउँमा जन्मिएका कमल शाहीको बाल्यकाल सामान्यसँग नै वित्यो । गाउँघरमा अन्य बच्चा जस्तै उनको बाल्यकाल पनि पढाइ र खेल्दैमा वित्यो । उनी बाल्यकालदेखि नै अलि फरक स्वभावका थिए । उनी विद्यालयमा पनि विभिन्न कार्यक्रममा भाग लिने गर्थे । विद्यालयमा हुने वक्तित्वकला, हाजिरीजवाफमा अलि बढी भाग लिने र प्रथम नै हुने गर्थे । उनको अर्काे कला भनेको पौडी खेल्नु पनि हो । उनी १० वर्षको उमेरमा नै कर्णाली नदीमा पौडी खेलेरै वारपार नै गर्थे ।

गाउँकै विद्यालयमा पढाइ

उनले पढाइ पनि गाउँकै विद्यालयबाट गरेका हुन् । उनी विद्यालयमा पढ्दा देखि नै राजनीतिमा आवद्ध भएका थिए । उनी कक्षा आठमा पढ्दा अनेरास्ववियुमा आवद्ध भएका थिए । उनी बाल्यकालदेखि नै हाजिरीजवाफ र वक्तित्वकलामा भाग लिने र गहकिला कुरा गर्ने गर्थे । त्यसकारण पनि होला उनी राजनीतिमा होमिए । उनलाई राजनीति बाहेक अन्य पेशामा लाग्नुपर्छ, जागिर खानुपर्छ भन्ने सोच पनि आएन । बाल्यकालदेखि नै राजनीति गर्ने र समाजसेवा गर्ने उनको रुची थियो ।

राजनीतिक यात्रा

उनी कक्षा ७ मा पढ्दा विद्यालयमा रेडक्रसको अध्यक्ष भएर काम गरिसकेका थिए । उनी कक्षा ९ मा पढ्दा तत्कालिन माओवादीको विद्यार्थीसंगठन अखिल क्रान्तिकारीमा आवद्ध भए । सानै उमेरदेखि राजनीतिमा होमिएका उनले एसएलसी पनि डर त्रासका बीचमा नै दिएका थिए । त्यस समयमा उनी क्रान्तिकारी विद्यार्थी संगठनमा लागेकाले उनलाई पक्राउ गर्न पक्राउ पुर्जी नै जारी भएको थियो । उनको एसएलसीको सेन्टर विद्यापुर परेको थियो । उनले डराइडराई एसएलसी पनि दिए र उतिर्ण पनि भए । उनले एसएलसी दिइसकेपछि भुमिगत नै भएका थिए । उनी भुमिगत हुँदा १६ वर्षका थिए । घर नै छोडेर हिँड्नु परेको थियो ।

जेलमा बस्दाको त्यो क्षण

शाहीले प्रमाणपत्र तह भने नेपालगञ्जको जेलबाट उतिर्ण गरेका हुन् । जेल जीवनका कारण उनले पढाइलाई निरन्तरता दिन भने पाएनन् । अधुरो रहेको उच्च शिक्षालाई पुरा गर्न लागि परेका छन् । उनी २०५२ सालमा अनेरास्ववियु इकाईमा संगठित भए । पछि उनी २०५३ सालमा अनेरास्ववियु ईलाका कमिटी सदस्य भए । यस्तै २०५४ सालमा अनेरास्ववियू (क्रान्तिकारी) मा आवद्ध हुनुका साथै नेकपा माओवादीको सदस्यता पनि प्राप्त गरेका थिए । २०५५ सालमा अनेरास्ववियू (क्रान्तिकारी) सुर्खेत जिल्ला सदस्य हुँदै जिल्ला सचिव तथा नेकपा (माओवादी) को पार्टी इलाका कमिटी सदस्य पनि भए ।
२०५६ सालमा अखिल (क्रान्तिकारी) दैलेखको प्रथम अध्यक्षमा निर्वाचित भएपछि उनलाई पक्राउ पुर्जी जारी भएको थियो । उनी भेलाको शिलशिलामा नेपालगञ्ज गएका थिए । त्यहाँ उनलाई घरबारी टोलबाट प्रहरीले पक्राउ ग¥यो र जेलमा पठायो । उनले जेलमा दुईवर्ष विताए । पछि कृष्णबहादुर महराको नेतृत्वमा सरकारले वार्ता गरेपछि उनी जेलबाट छुटेका हुन् । त्यस वार्तामा १७ जनालाई छोड्ने भनिएको थियो त्यो १७ जना मध्ये एक शाही पनि थिए । २०५६ सालमा राज्यद्धारा गिरफ्तारमा परी उनी २०५८ सालसम्म राजद्रोहीको मुद्दामा नेपालगन्ज, कपिलवस्तु जेलमा जीवनयापन गर्दै २०५८ को माओवादी र सरकारबीच वार्ता भएपछि जेल मुक्त भएका हुन् ।

जेलबाट छुटेपछि…

जेलमुक्त भइसकेपछि उनी २०५८ सालमा अखिल (क्रान्तिकारी) सुर्खेतको अध्यक्ष तथा अखिल (क्रान्तिकारी) को १५ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सदस्यमासमेत निर्वाचित भए । साथै नेकपा (माओवादी) सुर्खेत जिल्ला कमिटी सदस्य पनि भए । २०६० सालमा अखिल (क्रान्तिकारी) को १६ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सचिवालय सदस्य तथा भेरी कर्णाली ब्यूरो संयोजक साथै नेकपा (माओवादी) उपब्यूरो कमिटी सदस्य पनि भएका थिए । यस्तै २०६१ सालमा उनी नेकपा (माओवादी) भेरी कर्णाली ब्यूरो कमिटी सदस्य पनि भए ।

२०६३ सालमा अखिल (क्रान्तिकारी) को १७ औं राष्ट्रिय सम्मेलनबाट पुनः केन्द्रिय सचिवालय सदस्य तथा उपत्यका प्रमुख साथै नेकपा (माओवादी) विद्यार्थी विशेष जिल्ला पार्टी कमिटी सेक्रेटरीसमेत भए । यस्तै २०६७ सालमा सम्पन्न अखिल (क्रान्तिकारी) को १८ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रिय समिति सचिवमा निर्वाचित भए । नेकपा माओवादी विभाजन पश्चात २०६९ सालमा सम्पन्न अखिल (क्रान्तिकारी) को १९ औं राष्ट्रिय सम्मेलनबाट महासचिव निर्वाचित साथै नेकपा माओवादी विद्यार्थी विशेष जिल्ला पार्टी कमिटीको इन्चार्जसमेत भएका थिए ।

२०७२ सालमा बाबुराम भट्टराईद्धारा गठित नयाँ शक्ति नेपाल निकट राष्ट्रिय युवा संगठनको केन्द्रिय अध्यक्ष निर्वाचित भए । २०७४ को निर्वाचनमा नेकपा एमालेमार्फत बाम गठबन्धनमा सामेल भए । हाल उनी नेकपाको कर्णाली प्रदेश कमिटी सदस्य तथा सुर्खेत क्षेत्र नम्बर २ प्रतिनिधिसभा इन्चार्जसमेत छन् ।

अबको योजना

पार्टी संगठनको नियमित कामहरुमा भाग लिने उनको अबको योजना रहेको छ । पार्टीलाई युवामैत्री र गतिशील बनाउन लागिपर्ने, सदैव व्यक्ति बिचार र घटनाक्रमहरुलाई द्वन्द्वात्मक पद्धति अनुसार सकारात्मक सोच र व्यवहारले हेर्ने र बुझ्ने उनको योजना रहेको छ । विरोधी विचारहरुको सम्मान गर्दै उनीहरुका राम्रा कुराको अनुसरण गर्ने, विशाल पार्टी पंक्ति र पार्टी पद्धतिलाई सदैव मार्गदर्शनको रुपमा स्वीकार गर्ने उनको अबको योजना रहेको छ । सुशासन र भ्रष्टाचार मुक्त समाज निर्माणमा सदैव लागिरहने समेत उनले प्रतिवद्धता गरेका छन् ।

तपाईको प्रतिक्रिया