तेल घसीघसी थाङनाँ सुताइ दिनुभो

हिन्दी फिल्ममा अमिताभले हास्य कलाकार मुकुरीका जुङा देखाएर मुचें होतो नथ्थुलालके जैसे बरना नाहो भन्या जस्तै हाम्ले नि हिम्मत होतो केपी ओलीका जैसे बरना नाहो भन्दे के हुन्छ । आखिर केपी, झलनाथ, माकुने र पिकेवीच ठूलै सहमति भो । मन्त्रीमण्डलाँ माकुने र झलनाथका मान्छे आउने भए भनेर विचरा भीम रावलको नामसमेत जोड्दा कोइले बधाई दे कोइले सत्तो सराप गरे । मन्त्रीमण्डल पुनर्गठन हुने बेलासम्म आइपुग्दा त विचरा माकुने र झलेलाई ओलीजीले यसरी तेल घसीघसी थाङनाँ सुताइ दिनुभो कि न कुरा गरम ।

त्यसो त झलनाथ त ओलीसित ७० करोड लेर आँफू मन्त्री होइने हैन अरुका लागि किन माथापच्चि गर्नु पर्याछ भनेर पैलै बाटो काटी सक्याथे । उनका लागि कोइ आउनु र जानुमा केई सरोकारै थेन । लास्टाँ सधैभरी छत्रिनेमा उनै विचरा माकुने । यो पटकनी माधवका मान्छे मन्त्रीयाँ नपरेछी कोटेश्वर र वालकोटको हिसाबकिताब उइ चैताँ महाधिवेशनाँ हुने जस्तो पो देख्खियो त । त्यसो त साथीभाईलाई घक्रक्क ढाडाँ हानेर भूइँमा सुताएछि उखान टुक्का हालेर साथीहरलाई उठाउने खालको प्रवृति ओलीयाँरैछ ।

साथीहरुनी कतिपटक विश्वास गरुनके, एकदिन त आफ्नो हाताँ आउला पासा भनेर । आफना मान्छे भनेछी जतिसुकै वदनाम भाका भानि दुधले नुहाउने खेलो हुँदोरैछ । महासचिव भनाउँदा विष्णु पौडेललाई हेर्नू न । आजका सामाजिक सन्जालाँ उनलाई गर्या गाली सुन्दा यस्तो गाली खाईखाई नी के मन्त्री हुनु । त्योभन्दा त मन्त्री नभाकै ठिक जस्तो पो लाग्या छ त । यति सारो विरोध हुने मान्छेलाई कुनै पदाँ नल्याएर नि बालुवाटारको हर्ताकर्ता त बनाउन सकिन्थ्यो । तर के गर्नु प्रधानमन्त्रीको ज्यादा विश्वास पात्र भएर होला । जनताको विरोधले के लछार्छ र आफ्ना कार्यकर्तालाई खुशीपार्न आँफुले नसके कल्ले पार्छ त भनेर निर्णय ठोकी हाल्ने बानीले गर्दा जल्ले जति धारेहात लाएनी ओलीले बोल्यो कि अरुलाई पोल्यो भनेर जाने हुन्छ ।

हुन पनि नेपालाँ प्रधानमन्त्री भन्या यस्तै हुनुपर्छ । आफ्ना आफन्त खाईपेइमा कोई नछुट ,कमाउने कमाउ, मस्ति गर्ने मस्ति गर, रमाउने रमाउ, यै हो जिन्दगी यस्कै लागि त गर्या हो राजनीति भन्ने खालका प्रम भएरै होला देशाँ दुई तिहाइको सरकार भएर नि सरकारको सत्तो सराप गर्नेको कमी छैन । ढट्यौला मान्छे भएर नि होला जुन कुरा गर्दा जनता रिसाउँछन् पाटीकरता धारेहात लाउँछन् भन्ने था भैभै अनेक काम गर्ने । यो चोटीको मन्त्रीमण्डलाँनी विष्नु पौडेललाई नल्याएनी हुन्थ्यो नि । तर अर्का कुरा सुन्ने बानी भएपो हुन्थ्यो । त्यसै त प्रदेशाँ चिर्को पर्याछ । यै कारणले पाटियाँ झन् ठुलो चिर्को पर्यो भने पाटी एक हुने काम नी त्यतिकै घाममा सुक्ने होला । त्यसो भो भने प्रचण्डले अर्को पटक प्रधानमन्त्री बन्न देख्या सपना नी सपनै हुने भो । जयहोस उखाने बाजेको ।
वेदर्षि

तपाईको प्रतिक्रिया