सल्यानमा टिमुर टिप्‍ने चटारो

सल्यान, ३० असोज ।

बनगाड कुपिण्डे नगरपालिका(१२, निगालचुलाका विमलराज डि।सी। लाई आजभोली अरूसँग बोल्ने फुर्सद समेत छैन। बिहान उठेदेखि साँझ नपरेसम्म उनी बारीमा टिमुर टिप्न व्यस्त रहन्छन्। बारीको डिलमा लटरम्म रातै भएर पाकेको टिमुर टिप्दा काँडाले घोचेको पनि वास्ता गर्दैनन् उनी।

यस्तै, बागचौर नगरपालिका(६, कोटबाराका कुल बहादुर वली पनि टिमुर टिप्न व्यस्त छन्। वार्षिक सातदेखि आठ क्विन्टलसम्म टिमुर बिक्री गर्दै आइरहेका वलीले यो वर्ष पनि नौ क्विन्टल बराबर उत्पादन हुने अनुमान रहेको बताए। सिद्ध कुमाख गाउँपालिका उपाध्यक्ष पुष्पा बोहराले साँझ(बिहान टिमुर टिपेर समय बिताउने गरेकी छन्।

जिल्लाका अधिकांश किसानहरू यतिखेर टिमुर टिप्न व्यस्त छन्। राम्रो आम्दानी भएपछि सल्यानका किसानहरू व्यावसायिक टिमुर खेतीतर्फ आकर्षित भएका छन्। मसला र आयुर्वेदिक औषधीको रुपमा प्रयोग हुने टिमुर सल्यानका एक महत्वपूर्ण नगदेबालीको रुपमा रहेको छ।

जिल्लाका सबै पालिकाका उत्पादन हुने टिमुर उत्पादन हुँदै आइरहेको छ। टिमुर खेतीबाट मात्र वार्षिक १५ देखि १६ करोड रुपैयाँसम्म सल्यानका किसानहरूले आम्दानी गर्दै आइरहेको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ। गत आर्थिक वर्षमा मात्र १७ करोड रुपैयाँभन्दा बढीको टिमुर जिल्लाबाट निकासी भएको निमित्त डिभिजन वन अधिकृत रमेश कुमार गिरीले बताए।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण टिमुरले भने मूल्य पाउन सकेको छैन। पतञ्जली र डाबर कम्पनीले लिँदै आएको सल्यानको टिमुर निकासी नहुँदा समस्या भएको व्यापारी हरी न्यौपानेले बताए।

तपाईको प्रतिक्रिया