३ वर्षमा पनि बलेन बत्ती, पोल अलपत्र, कामदारले पैसा पाएनन्

हुम्ला, ३० असोज ।

तीन वर्ष बितिसक्दा पनि सिमकोट गाउँपालिका ८ स्याँडामा बिजुली बत्ती बल्न नसक्दा स्थानीय ५०० घरधुरी अन्धकारमा बस्नुपरेको छ । हिल्दुम साना जलविद्युतबाट उत्पादित बिजुली बाल्ने भनेर स्थानीयलाई ठेकेदारले आश्वासन दिए तापनि सिमकोट ८ स्याँडा गाउँममा हालसम्म बत्ती बाल्न सकेका छैनन् ।

लामो समयदेखि ठेकेदारको लापरबाहीका कारण हालसम्म पनि बत्ती नबलेपछि स्याँडा गाउँवासी आक्रोशित बनेका छन् । विद्युत बाल्ने वहानामा ठेकेदारहरूले स्थानीयलाई बिजुलीका पोलहरू बोकाएर ज्याला भने हालसम्म नदिएको गुनासो छ । २०७४ सालमा स्याँडा गाउँमा बत्ती बाल्ने भनेर आठ लाख रुपैयाँ छुट्याइएको थियो ।

स्थानीय किरण बुढाका अनुसार त्यतिबेला सिमकोटको लाक्नाबाट १२ जना स्थानीयले २० वटा पोलहरू बोेकेर गाउँ पु¥याएका भए तापनि ठेकेदारको लापरबाहीका कारण बत्ती बल्न नसकेको हो । बेलाबेलामा ठेकेदारलाई सम्पर्क गर्न खोज्दा ठेकेदारले फोन रिसिभ नगरेको उनको गुनासो छ ।

पोल ओसारेका १२ जना कामदारहरूले करिब पाँच लाख रुपैयाँ बराबरको रकम पाउनुपर्ने भए पनि त्यो रकम तीन वर्ष बितिसक्दा पनि नपाएको स्थानीयको गुनासो छ । यतिखेर सो ठाउँका लागि छुट्याइएका तार र पोलहरू पनि बीचैमा लथालिंग बनेका छन् ।

तपाईको प्रतिक्रिया