कर्णालीका नेतासँग छुट्टाछुट्टै कुरा गर्दै ओली र प्रचण्ड

सुर्खेत, ३० असोज ।
कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि काठमाडौं बोलाइएका कर्णालीका नेताहरूसँग नेकपाका दुई अध्यक्षले छुट्टाछुट्टै छलफल गर्ने भएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार दिउँसो मुख्यमन्त्री शाहीलगायत नेताहरूसँग खुमलटारमा छलफल गरेका छन् ।

उक्त छलफलमा नेकपा बरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी थिए । ‘उहाँले बोलाएपछि हामी गएका थियौं। प्रधानमन्त्रीले पनि बोलाउने भन्नुभएको छ । तर समय अझै फिक्स भइसकेको छैन’ छलफलमा सहभागी नेकपा केन्द्रीय समिति सदस्य निरज आचार्यले भने, ‘बोलाउनु भयो भने उता पनि जाने हो ।’

सुर्खेतबाट बोलाइएका सबै नेताहरू काठमाडौं आइसकेका छन् । प्रचण्डसँगको भेटघाटमा शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने नेतृत्व गरेका सांसद यामलाल कँडेल भने सहभागी थिएनन् । खुमलटार पुगेका नेताहरूको कुरा सुनेपछि प्रचण्डले आफूले प्रधानमन्त्री ओलीसँग कुरा गरेर उनीहरूलाई संयुक्त छलफलमा बोलाउने बताएका थिए ।

‘पहिला दुई अध्यक्षले छुट्टाछुट्टै कुरा गर्ने अनि सम्भवतः भोलि संयुक्त रूपमा कुरा गर्ने भन्ने छ,’ प्रचण्डनिकट स्रोतले भन्यो । यसअघि गत मंगलबार प्रधानमन्त्री ओली र प्रचण्डले पत्र पठाउँदै मुख्यमन्त्री शाही, शाहीले प्रमुख सचेतकबाट हटाएका गुलाबजंग शाह, सांसद कँडेल, मन्त्री प्रकाश ज्वाला र सांसद चन्द्रबहादुर शाहीलाई सबै कुरा यथास्थितिमा राखी २९ गतेभित्र पार्टी कार्यालय धुम्बाराहीमा उपस्थित हुन भनेका थिए ।

मुख्यमन्त्री शाही पक्षका नेताहरू बुधबार नै काठमाडौं गएका थिए । कँडेल पक्षधर नेताहरू बिहीबार बिहानमात्र काठमाडौं पुगेका छन् । प्रदेश सभा सांसद चन्द्रबहादुर शाहीले अहिलेसम्म प्रधानमन्त्रीले बालुवाटार नबोलाएको बताए । ‘बिहान आइपुगेका हौं । आफ्नै हिसाबले बसिरहेका छौं । खुमलटार गएनौं । प्रधानमन्त्रीले बोलाउनु भयो भने बालुवाटार जान्छौं’ उनले भने ।

तपाईको प्रतिक्रिया