कर्णालीको राजनीतिः तीन मन्त्री र सचेतक पाएपछि नेपाल पक्ष ब्याक हुँदा कँडेललाई ब्याक फायर

सुर्खेत, २७ असोज ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही विरुद्को अविश्वासको प्रस्तावबाट वरिष्ठ नेता माधवकुमार नेपाल समूह ब्याक भएको छ। तीन मन्त्रीसहित सचेतक दिने सहमतिपछि अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल समूह पछि पछि मुख्यमन्त्री विरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव पारित गरी हटाउने ओली पक्षका नेता यामलाल कँडेलको योजना असफल भएको छ।

मुख्यमन्त्री र नेपाल पक्षका नेताहरुबीच आज भएको छलफलमा छिट्टै मन्त्रीमण्डल पुनर्गठन गर्ने सहमती भएको छ। जसमा नेपाल पक्षका अमरबहादुर थापा, चन्द्र बहादुर शाही र करवीर शाहीलाई मन्त्री बनाउने सहमती भएको स्रोतले बतायो।

त्यस्तै मुख्य मन्त्री शाहीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्येका कुर्मराज शाहीलाई सचेतकमा नियुक्त गरेका छन्। आइतवार नेकपाका १८ सांसदहरुले संसदीय दलमा मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। जसमा नेपाल पक्षमा ७ जना सांसद थिए।

प्रधानमन्त्री केपी शर्मा ओली निकट यामलाल कडेँलको नेतृत्वमा अविश्वासको प्रस्ताव आएको थियो। जसमा पूर्वमाओवादीका तर्फबाट तीन जना सांसदले हस्ताक्षर गरेका थिए।

हस्ताक्षर गर्ने अठार जना मध्ये आठ जना पछि हटेपछि कँडेलको योजना असफल हुने निश्चित भएको छ। हस्ताक्षर गर्नेमा पूर्व माओवादी केन्द्रबाट समानुपातिक सदस्यमा मनोनित सदस्य तथा उपसभामुख पुष्पा घर्ती विष्ट, सुर्खेत १ ख बाट विजयी माओवादी केन्द्रकै ठम्मरबहादुर विष्ट तथा दैलेख १ क का सदस्य धर्मराज रेग्मी छन्। बाँकी १५ सदस्यमध्ये तत्कालिन नेकपा एमालेबाट प्रत्यक्ष निर्वाचित ८ र सात समानुपातिक सदस्य छन्।

हस्ताक्षर अभियान तत्कालिन नेकपा एमालेका संसदीय दलका नेता यामलाल कँडेलले गरेका छन्। सात प्रदेशमध्ये सबैभन्दा सानो ४० सदस्यीय प्रदेशसभामा नेकपाका ३३ सदस्य छन्। ६ नेपाली कांग्रेस र १ राप्रपाका सदस्य छन्। नेकपाका ३३ मध्ये तत्कालिन नेकपा एमालेका २०, र नेकपा माओवादी केन्द्रका १३ सदस्य हुन्।

हाल नेकपाको संसदीय दलमा कँडेललाई बाँकी ९ सदस्यले साथ दिइरहेका छन्। जसमध्ये पूर्व माओवादीबाट सदस्य बनेका तीन जनाहरु उपसभामुख पुष्पा घर्ती, ठम्मर विष्ट र धर्मराज रेग्मीले कँडेललाई साथ दिइरहेका छन्। छन् भने ओली पक्षबाट केहीले कँडेलको साथसमेत छाडेका छन्। कँडेललाई साथ दिनेमा कौशैल्यावती खत्री, प्रमुख सचेतकबाट हटाइएका गुलाबजंग शाह, वर्षदिन अगाडि मन्त्रीबाट हटाइएका खड्गबहादुर खत्री, राजु नेपाली, तथा माधव नेपाल पक्षधर शुशील थापाले अहिले कँडेललाई साथ दिइरहेका छन्।

पहिलो पोष्टबाट साभार ।

तपाईको प्रतिक्रिया