सम्पादकीयः प्रहरीमा अनुशासन

समाज विविधतायुक्त छ । विभिन्न भाषा, संस्कार, सोच र बिचार भएका मानिसहरु बस्छन् समाजमा । यसकारण पनि समाज एकै प्रकारको जा एउटै सोच राख्ने हुन्छ भन्ने हुँदैन । यही विविधताका कारण पनि समाजमा कहिलेकाँही फरक मतहरु बाझिन्छन् । मानिसका सोचअनुसारका व्यवहार हुन्छन् । अनि समाजमा अस्थिरता पैदा हुन्छ । शान्ति सुरक्षामा प्रश्न उठ्छ । अपराधका घटना हुन्छन् । अनि मान्छे नै मान्छेसँग असुरक्षित भएको महशुस गर्दछ । आफ्नाहरुबाटै मानिस असुरक्षामा परेको ठान्दछ । यही कारण तत हरेक राज्यले समाजमा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणका लागि कानुन निर्माण गर्दछन् । त्यही कानुनको कार्यान्वयनका लागि प्रहरी खटाइन्छ । नेपालमा पनि समाजमा हुने यस्ता अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न प्रहरीले काम गर्दै आएको छ । तर जब कानुन कार्यान्वयन गर्ने जिम्मेवारी पाएका प्रहरी नै अनुशासनमा रहेन भने अवस्था के होला ? वास्तवमा यस्तो अवस्था आएका समाजमा थप अपराधको ग्राफ बढ्छ ।

अहिले पनि नागरिकको मनमा प्रहरीले सुरक्षा दिन्छ भन्ने विश्वास छ । प्रहरीको उपस्थितिमा मात्र हुँदा समाजमा हुने अधिकांश अपराधहरु हुन पाउँदैनन् । तर पनि पछिल्लो दिनमा प्रहरी संगठनमा कार्यरत केही कर्मचारीको कारण प्रहरीप्रतिको विश्वासमा पनि केही आशंका पैदा भएका छन् । कानुनले दिएको जिम्मेवारी पूरा नगर्ने, संगठनको आचरणविपरितका काम गर्ने, आर्थिक प्रलोभनमा पीडिककै पक्षमा लाग्ने र आफैले कानुन नमान्ने खालका गतिविधिहरु देखिएका छन् । यही कारण त कर्णालीमा प्रहरी कर्मचारीमाथि निगरानी बढउन थालिएको छ । प्रहरीलाई संगठनको अनुशासनमा राख्न प्रदेश प्रहरी कार्यालयले केही कडाइ गरेको छ । यतिमात्र होइन, अनुशासन उलंघन गरेका प्रहरी कर्मचारीमाथि कारबाही पनि गरेको छ । यसले गलत गर्नेले सजाय पाउँछन् भन्ने नजिर पनि बसेको छ । र अरुलाई पनि अनुशासनमा रहनु पर्दछ भन्न पाठ सिकाएको छ । यद्यपी कारबाही भोग्नैपर्ने अवस्था आउनु राम्रो होइन । तर पनि संगठनको साख बचाउन पनि पुरस्कार र सजायको व्यवस्था हुन आवश्यक छ ।

समाज सबै प्रकारका बिचारहरुको साझा थलो हो । यसकारण समाजमा सबै बिचार, भावना र सोचहरुको सम्मान हुनुपर्दछ । यस्तै समाज भनेको मानिसहरुको खुला घर हो । जहाँ मानिसले आफूलाई असुरक्षित महशुस गर्नु हुँदैन । अर्थात समाजमा अपराध र हिंसा नहोस् । यसका लागि कानुनको सही रुपमा कार्यान्वयन आवश्यक पर्दछ । कानुन कार्यान्वयन गर्ने जिम्मेवारीमा रहेका प्रहरीले इमानदार भएर काम गर्न सकेमा समाजमा धेरै अपराध कम हुन सक्छन् । यसैकारण पनि प्रहरीमा अनुशासनको आवश्यकता बढी हुन्छ । अनुशासनको अंकुश लगाएर भए पनि प्रहरी संगठनले आफ्ना कर्मचारीलाई कानुनविपरितका काम गर्न नसक्ने बनाउने हो भने नागरिकले भरोसा गरेको प्रहरीप्रति अझ विश्वास जाग्नेछ । समाजमा प्रहरी देख्नासाथ आफूलाई सुरक्षित महशुस गर्ने वातावरण बन्नेछ । यसका लागि प्रहरीभित्र अनुशासन अनिवार्य शर्त हो ।

तपाईको प्रतिक्रिया