बैंक नोट, फोन स्क्रीन र स्टीलमा २८ दिनसम्म जीवित रहन सक्छ कोभिडको भाइरसः अध्ययन

एजेन्सी ।

कोभिड–१९ का भाइरस बैंक नोट, फोन स्क्रीन र स्टेनलेस स्टीलमा २८ दिनसम्म जीवित रहनसक्ने अनुसन्धानकर्ताहरुले दाबी गरेका छन्। अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीका अनुसार यसअघि अनुमान गरिएभन्दा बढी समयसम्म सार्स–कोभिड–२ भाइरस जीवित रहन सक्छन्।

यद्यपि यो अनुसन्धान अँध्यारो र स्थिर तापक्रममा गरिएको थिया। हालै गरिएको एक अध्ययनमा पराबैजनी प्रकाशको प्रयोगबाट यो भाइरस नष्ट हुने पाइएको थियो।

तर कुनै चिजको सतहमा रहने भाइरसले मानिस संक्रमित हुने सम्भावना कति छ भन्नेबारेमा भने अझै स्पष्ट भएको छैन। हालसम्म संक्रमित मानिसले खोक्दा, हाँछ्यु गर्दा र कुरा गर्ने क्रममा निस्किएका थुकका छिटाका कारण कोरोना सर्ने गरेको पाइएको छ।

के छ अनुसन्धानमा ?


यसअघि बैंक नोट र काँचमा कोरोना भाइरस दुई या तीन दिनसम्म जीवित रहने र प्लास्टिक या स्टीलको सतहमा ६ दिनसम्म जिउँदो रहनसक्ने कुरा अध्ययनबाट पत्ता लागेको थियो। यद्यपि अनुसन्धानको नतिजामा केही फरक आएको थियो।

तर अस्ट्रेलियाई संस्थाको अनुसन्धानले यो भाइरस निकै कडा भएको र २० डिग्री सेल्सियसको तापक्रम र अँध्यारोमा मोबाइल फोन, काँच, प्लास्टिक नोटजस्ता चिल्लो सतहमा २८ दिनसम्म जिवित रहन सक्ने पत्ता लगाएको छ। कोरोना भाइरसको तुलनामा यस्तै परिस्थितिमा अन्य फ्लुको भाइरस १७ दिनसम्म जीवित रहनसक्छ ।

भाइरोलोजी जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार चिसो तापक्रमको तुलनामा तातो तापक्रममा यो भाइरस कम समयसम्म जीवित रहनसक्छ । ४० डिग्रीको तापक्रममा यो भाइरस २४ घण्टाभन्दा बढी समयसम्म रहन सक्दैन । चिल्लो सतहमा भने बढी समयसम्म यो जीवित रहनसक्छ, जबकि कपडाजस्ता खस्रो सतहमा यो १४ दिनभन्दा बढी जीवित रहनसक्दैन।

तर कार्डिफ विश्वविद्यालयका कमन कोल्ड सेन्टरका पूर्व निर्देशक प्राध्यापक रोन एक्सेलले यो अनुसन्धानको आलोचना गरेका छन्। उनले भनेका छन्, ‘२८ दिनसम्म भाइरस जीवित रहन सक्छ भनेर मनिसमा अनावश्यक रुपमा त्रास पैदा गर्छ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार