गाउँको सेवा गर्न आफ्नै ठाउँ रोजेँ

‘भौगोलिक विकटताले गर्दा जीवनमा प्रगति गर्न सकिन । घरमा अनेक बाध्यता प¥यो । आर्थिक अवस्थाले पनि साथ दिएन ।’ प्रायः व्यक्तिहरु यस्तै भन्छन् । कतिले भौगोलिक विकटताका कारण प्रगति गर्न नसकेको सुनाउँछ । कतिले आर्थिक अभाव प्रगतिको बाधक बनेको सुनाउँछन् । तर त्यसो रहेनछ । किनकी इच्छा भएको खण्डमा जुन स्थानमा जन्मेहुर्के पनि जीवनमा सफलता हात पार्न सकिन्छ । यस्तै उदाहरण हुन् खड्कप्रसाद उपाध्याय । भौगोलिक विकटता र आर्थिक अभाव उनको जीवनमा नपरेको होइन । तर उनले सबै अप्ठेरा क्षणहरु सहज पार गरे । प्रस्तुत छ, हाल कालिकोटको खाँडाचक्र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत उपाध्यायको जीवन भोगाइ र कर्मचारीको अनुभवमा आधारित कुराकानीको सम्पादित अंश ः

पढाइमा सधै सफल

खड्कप्रसाद उपाध्यायको जन्म २०४७ साल कात्तिक १० गते कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं. ६ शेरामा भएको हो । उनी बुवा लक्ष्मीचन्द्र र आमा शिवकन्या उपाध्यायका दोस्रो सन्तान हुन् । किसान परिवारमा जन्मिएका उनले गाउँकै जनजीवन प्राथमिक विद्यालयबाट औपचारिक अध्ययन गरे । कक्षा ६ देखि ८ सम्म चुलिमालिका माध्यमिक विद्यालय घोडेना, ९ र १० को अध्ययन लेखप्रिय माध्यमिक विद्यालय पाताभार बर्दियाबाट पुरा गरे । २०६३ सालको एसएलसी पास गरेका खड्कले रामजानकी उच्च माध्यमिक विद्यालय कोहलपुरबाट प्सलटु गरे ।
न्यू बागेश्वरी ऐकेडेमी कोहलपुरबाट ब्याचलर र त्रिभूवन विश्वविद्यालयबाट स्नातकोत्तर तहसम्मको अध्ययन पुरा गरेका छन् । अध्ययनलाई अब्बल बनाउनको लागि बाआमा नै उनका लागि प्रेरणाका स्रोत बने । बुवाले प्यूठानको स्वर्गद्वारीबाट ब्राहमण शिक्षा अध्ययन गरेका पढ्ने वातावरण पाए । ‘सानैदेखि बुवाआमाले पढेर ठूलो मान्छे बन्नपुर्छ भन्नुहुन्थ्यो’ खड्क भन्छन्, ‘आमाबुवाकै प्रेरणाका लागि पढाइमा राम्रो गर्नुपर्छ भन्ने सोच्थेँ ।’ उसो त कक्षा १ देखि ५ सम्म उनले कक्षा प्रथम हाँसिल गरे ।

विद्यालय टाढा भएका कारण माध्यमिक शिक्षासम्म प्रथम स्थान सकेनन् । ‘कक्षा ६ देखि त दुई हिँडेर विद्यालय जानुपथ्र्यो’ उनी भन्छन्, ‘विद्यालय टाढा भएकै कारण कक्षा ६ देखि कक्षा प्रथम हुन सकिन ।’ एसएलसीपछि प्लसटु र ब्याचलरमा भने उनले पुनः प्रथम हुने मौका पाए । उनी प्सलटु र ब्याचलरमा गणित विषयमा प्रथम भएका थिए । रुचि र मेहनतका कारण हालसम्म पढाइमा असफलता भोग्नु परेको छैन ।

अब स्कुल जाने बाटो नै बन्द भयो

२०६० साल तिरको कुरा होला । तत्कालिन नेकपा माओवादीले थालेको दशवर्षे सशस्त्र जनयुद्ध चरण उत्कर्षमा पुगेको थियो । गाउँगाउँमा माओवादीकै शासन चल्थ्यो । कालिकोट पनि द्वन्द्धको घाउमा नराम्रो पिल्सीएको थियो । जतिबेला उनले भर्खर कक्षा ८ पास गरेका थिए । माओवादी र सेनाबीच दैनिक भागभाग चल्थ्यो । एकबेला सेनाले गाउँ नजिकै माओवादीलाई आक्रमण ग¥यो । ५÷६ जना माओवादीहरुको मृत्यु भयो । त्यसपछि त्यो क्षेत्रमा आमोवादीले पनि बदला लिने गरी चलहपहल बढायो । माओवादी र सेनाबीच द्वन्द हुने डरले करिव एकवर्ष विद्यालय नै बन्द भयो । स्कुल नै बन्द भएपछि खड्कले पनि एकवर्ष पढाइलाई विश्राम लाउनुप¥यो । माओवादी द्वन्दकै कारण एक वर्षसम्म स्कुलको ढोका बन्द भयो । एक वर्षपछि भने खड्कले गाउँ छोडे । बर्दिया पुगेर पुनः पढाइलाई निरन्तरता दिए ।

पढ्दै र पढाउँदै

पढाइमा अब्बल भए पनि एसएलसीपछि खड्कले पुरै समय पढाइलाई दिन सकेनन् । एसएलसीपछि आर्थिक संकट टार्न उनले प्राइभेट जागिर गर्नुप¥योे । प्यसटु अध्ययन गर्नेक्रममा खड्कले करिव चारवर्ष बोडिङ स्कुलमा अध्यापन गरे । प्राइटलाइट ऐकेडेमीमा पढाउँदै, पढ्दै ब्याचलर पुरा गरे । गणित विषय अध्ययन गरेका कारण पढाउन दुई वर्षमै विद्यार्थी र अभिभावकको मन जिते । प्लसटु सकेपछि उनले बोडिङ स्कूलमा सहायक प्रिन्सिपलको जिम्मेवारी पाए । ‘आर्थिक अभावका कारण उच्च शिक्षा पढ्दा पढाइलाई पुरै समय दिन सकिन’ उनी भन्छन्, ‘ध्यान दिएर पढ्न सक्यो भने थोरै समय पढेपनि राम्रो गर्न सकिदो रहेछ ।’ तर जीवनमा जति संकट व्यहोरो त्यति नै सफलता मिल्ने उनको अनूभव छ । ‘जीवन संकट र संघर्षको एउटा मैदान हो’ उनी भन्छन्, ‘जति धेरै अप्ठेरा बाटो पार गरिन्छ त्यति नै सफलता हातपर्छ ।’


अतिरिक्त क्रियाकलापले नै लोकसेवा पास गर्न सहयोग मिल्यो

खड्क विद्यालयमा हुने अतिरित्त क्रियाकलपामा सानैदेखि रुचि राख्थे । हाजिरीजवाफ र दिमाग खियाउने कार्यक्रमहरु प्राय छुटाउँन्थेनन् । बोडिङ स्कुलमा जागिर गर्ने क्रममा स्कूलले उनलाई त्यस्तै भूमिका दियो । कोहलपुरमा विद्यालयहरुले प्राय क्रियाकलापका कार्यक्रहरु गरिरहन्थे । भाइस प्रिन्सिपल भएदेखि उनले अतिरिक्त क्रियाकलापमा पनि विद्यालयलाई राम्रो बनाउनुपर्छ भन्ने सोचे । त्यसपछि प्याब्सन र एनब्याब्सनले आयोजना गर्ने हरेक प्रतियोगितामा विद्यालयको सहभागिता गराए । प्रतिस्पर्धी स्कुलकाबीचमा राम्रो अंक ल्याउन विद्यार्थीहरुलाई हाजिरीजवाफ र दिमाग खियाउने प्रश्नहरुमा पोक्त बनाउन थाले । अतिरिक्त क्रियाकलापको नेतृत्व खड्क आफैले गरे । तर त्यही अतिरिक्त क्रियाकलाप नै खड्कका लागि लोकसेवा आयोग पास गर्न सहयोगी बन्यो । किनकी बोडिङ स्कूलमा जागिर गर्ने समयमै उनले सामान्य इतिहास, समसामयिक घटनाहरु र दिमाग खियाउने प्रश्नहरुको ज्ञान हासिल गरिसकेका थिए । परिणामतः उनले लोकसेवाको तयारी गर्नेक्रममा सामान्य ज्ञानका लागि धेरै मेहनत नै गर्नु परेन ।

पहिलो पटकमै जागिर

खड्कले २०७१ साल ब्याचजर पुरा गरे । बोडिङ स्कुलको सेवा सुविधा राम्रै थियो । तर निजी स्कुलको जागिर दीर्घकालिन हुने सम्भावना देखेनन् । जसकाकारण ब्याचलर सकिएपछि स्थायी जागिर तयारीमा लागे । बोडिङ स्कुल छोडेर करिव ६ महिना काठमाडौँ बसे । त्यही समय खरिदारदेखि अधिकृत सम्मको तयारी गरे । ६ महिनापछि अधिकृत, नायव सुब्बा र खरिदारको परीक्षा दिए । संयोग नै भनौं, उनी तीनवटै परीक्षाको प्रि–टेष्टमा सफल भए । तर अन्तिममा अधिकृतको परीक्षामा सफल हुन सकेनन् । ‘तयारी नै पुगेको थिएन ख्यालख्यालमै अधिकृतको परीक्षा दिएको प्रि–टेष्टमा नाम निस्की हाल्यो’ खड्क भन्छन्, ‘पहिलो पटकमै अधिकृत नभएपछि, तर नायव सुब्बामा सफल भएँ । तर खरिदारको मौखिक परीक्षा दिनै परेन ।’ नायव सुब्बा भइसकेका कारण उनले खरिदारको प्रि–टेष्टमा पास भए पनि अन्तिम परीक्षा दिनु परेन । २०७२ सालमा जिल्ला वन कार्यालय कालिकोटबाट निजामतिको यात्रा सुरु गरेका उनी २०७४ साल अधिकृत भए । ६ महिना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, एक महिना कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय, दुई महिना आर्थिक मामिला तथा योजना मन्त्रालय, एकवर्ष कालिकोटको शुभकालिका गाउँपालिका र गत असोजदेखि उनी खाँडाचक्र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् ।

गाउँको मायाले आफ्नै जिल्ला रोजे

भौगोलिक विकटताका कारण कर्मचारीहरु दुर्गममा जान चाहदैनन् । विकटताकै कारण जन्मे हुर्केको ठाउँमा पनि कर्मचारीको रोजाइमा पर्दैन । तर खड्क भने आफ्नै जिल्लामा निजामति सेवाको सुरुवात गरे । करिव दुईवर्ष जिल्ला वन कार्यालय कालिकोट बसेर सेवा गरे । अधिकृत भएपछि पुनः कर्णाली प्रदेशमै फर्किए । गाउँको मायाले उनलाई प्रदेश सरकारका मन्त्रालयहरुमा बस्न दिएन । पुनः आफ्नै जिल्लाको सेवा गर्ने उद्देश्यले कालिकोटको शुभकालिका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरे । विगत एक वर्षदेखि भने उनी खाँडाचक्र नगरपालिकामा कार्यरत छन् । जुन स्थानीय तह उनको जन्म थलो हो । तर माथिल्लो तहमा पुगेपछि उनले जिल्ला छोड्नुपर्ने बाध्यता हुनुपर्ने छ । ‘अधिकृत भएको तीन वर्ष भयो, अब त माथिल्लो तहको तयारी गर्दैछु’ उनी भन्छन्, ‘बढुवा भएँभने जिल्ला छोड्नैपर्ने हुन्छ ।’

(२०७७ असोज २५ गते आइतवार युगआह्वान राष्ट्रिय दैनिकमा प्रकाशित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार