एकैपटक विस्तार हुँदैछन् कर्णालीका चारवटा विमानस्थल

सुर्खेत, २५ असोज ।

कर्णाली प्रदेशमा एकैपटक चारवटा विमानस्थलहरु विस्तार हुने भएका छन् । हाल नियमित रुपमा सञ्चालनमा रहेका सुर्खेत विमानस्थल र जुम्ला विमास्थलको विस्तार हुने भएको हो । यस्तै बर्षाैंदेखि सञ्चालनमा आउन नसकेको कालिकोटको कोटबाडा विमानस्थल र डोल्पाको मसिनेचौर विमानस्थलको भने स्तरोन्नती हुने भएको छ ।

कोटबाडा र मसिनेचौर विमानस्थलमा हाल स्तरोन्नती र धावनमार्गलाई कालोपत्रे बनाउने काम भइरहेको छ । सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार गर्नका लागि गत बिहीवार मात्र कर्णाली प्रदेश सरकार र संघीय सरकारवीच सम्झौता भएको छ । तर सुर्खेत विमानस्थलको भने तत्काल स्तरोन्नती र विस्तार हुने सम्भावना न्यून छ । किनकी धावनमार्ग विस्तार गर्दा त्यहाँ रहेका घरजग्गा र अमरज्योति माविलाई पनि स्थानान्तरण गर्नुपर्ने छ ।

विद्यालयको स्तानान्तरण र मुआब्जा वितरणमा झमेलापर्ने भएका कारण विमानस्थल विस्तारमा ढिलाइ हुने वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का वडाअध्यक्ष लोकप्रसाद चालिसे बताउँछन् । अहिले नै प्रदेश सरकार, संघीय सरकार, राजनीतिक दल लगायत सवैले उचित मूल्यांन नगरेको खण्डमा पनि यसले समस्या निम्त्याउने उनको तर्क छ ।सम्झौताअनुसार धावनमार्गलाई कम्तीमा एकहजार पाँचसय मिटर विस्तार गर्नु पर्नेछ । अहिले धावनमार्गको लम्बाइ एक हजार दुईसय ५५ मिटर छ । थप २५० मिटरटर बढाउनका लागि जग्गा अधिग्रहण गर्नु पर्नेछ । तर दक्षिणतर्फ राजमार्ग भएकोले विस्तार असम्भव छ । उत्तरतर्फ विस्तार गर्दा निकै चुनौती छ । धेरैको घरजग्गा, विद्यालयपर्ने भएकोले त्यसको उचित मुआब्जा नपाएसम्म अधिग्रहण गर्न कठिनाइ देखिन्छ । यही कारणले सुर्खेत विमानस्थल विस्तारमा ढिलाइ हुने देखिन्छ । तर चालु आर्थिक वर्षमै सुर्खेत विमानस्थलको काम सुरु सरकारी दाबी छ ।

त्यस्तै जुम्ला विमानस्थल पनि चालु आर्थिक वर्षमै विस्तार गरिने भएको छ । बहुबर्षीय आयोजनाको रूपमा विमानस्थल विस्तार गरिन लागेको हो । धावनमार्ग विस्तारका लागि अध्ययन गरिने भएको नागरिक उड्डयन प्राधिकरण कार्यालय जुम्लाका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए । विस्तृत अध्ययनका लागि १७ लाख ६९ हजार रुपैयाँ विनियोजन भएको छ । त्यसैगरी विमानस्थल विस्तार गर्नका लागि एक करोड बजेट विनियोजन भएको गरिएको छ । विमानस्थललाई विस्तार गर्नका लागि संघीय सरकारले एक करोड बजेट विनियोजन गरेको हो ।

कालोपत्रे हुँदै कोटबाडा र मसिनेचौर विमानस्थल

यस्तै बर्षाैंदेखि अलपत्र परेको कालिकोटको कोटबाडा विमानस्थलको धावनमार्गमा कालोपत्रे थालिएको छ । नरहरिनाथ गाउँपालिका वडा नं.१ सुनथरालीमा रहेको विमानस्थल केही महिनाअघिदेखि कालोपत्रेको तयारी गरिएको छ । विमानस्थलको कालोपत्रेका लागि ग्राभेलिङ भइरहेको छ ।

विभिन्न तीनवटा निर्माण कम्पनीले विमानस्थलको बाहिरी भाग घेरबार र टावर निर्माण लगायतको काम गरिरहेको नरहरीनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले जानकारी दिए । कालोपत्रे सकिए लगत्तै चालु आर्थिक वर्षमा निर्माण सम्पन्न गरे सञ्चालनमा ल्याउन पहल गरिने विष्टले बताए । चालु आर्थिक वर्षमा विमानस्थलमा धावनमार्ग, ट्याक्सी वे, एप्रोन कालोपत्रे तथा ड्रेनेज निर्माण गर्न तीन करोड ५० लाख बजेट विनियोजन गरेको छ । २०४३ सालदेखि निर्माण थालिएको विमास्थलमा दशवर्षे विद्रोहका कारण निर्माण अलपत्र परेको थियो ।

तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले विमानस्थलमा एकपटक परीक्षण उडान गराएका थिए । त्यस्तै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ७ मा रहेको मसिनेचौर विमानस्थल पनि कालोपत्रे गर्न थालिएको छ । नगर उपप्रमुख चन्द्राकुमारी बुढाका अनुसार कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल विस्तारका लागि चालु आर्थिक वर्षमा चार करोड ७१ लाख रुपैयाँ विनियोजना गरिएको छ । हाल मसिनेचौर विमानस्थलको रनवे, अप्रोन र ट्याक्सीवे अन्तिम चरणमा पुगेको छ । त्यहाँ रनवे ६ सय ३० मिटर लम्बाइ २० मिटर चौडाइ रहेको विमानस्थल पूरा निर्माणको लागि ३० करोड लाग्ने नागरिक उड्डयन प्राधिकरणले अनुमान गरेको छ ।

योवर्ष विमानस्थलको धावनमार्ग, ट्याक्सीवे एप्रोन कालोपत्रे तथा डे«नेज निर्माणकार्यका लागि चार करोड विनियोजन गरेको सरकारले टर्मिनल भवन निर्माणको लागि थप ५० लाखमा काम गरिरहेको छ । त्यस्तै विमानस्थलमा विजुली व्यवस्था तथा अन्य कार्य गर्न २१ लाख ७४ हजार बजेट छुट्टै शिर्षकमा विनियोजन गरिएको पर्यटन मन्त्रालयले जनाएको छ । यसअघि पनि जुफाल विमानस्थल विस्तार गर्दा मसिनेचौरमा नियमित उडान गरिएको थियो । तर लामो समयदेखि मसिनेचौर विमानस्थल सञ्चालनमा आउन सकेको छैन ।

तिन्जे विमानस्थलमा गाडी गुड्ने

माथिल्लो डोल्पामा रहको तिन्जे विमास्थलमा भने अब गाडी गुड्ने भएका छन् । डोल्पोबुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङले लामो समयदेखि विमानस्थका लागि राज्यले बेवास्ता गरेको बताए । ‘सरकारले जहाज उडाएन, अब विमास्थलमा गाडी गुडाउनुपर्ने भयो’ उनले भने, ‘अहिले विमानस्थल बनाउने ठाउँमै स्थानीयले त्रिपाल टाँगेर बस्न थालेका छन् ।’ विमानस्थलकै धावनमार्ग भएर तिब्बत जोड्ने मरिम्ला धो–सडक खण्ड निर्माण गरिएको छ । बर्षाैदेखि विमानस्थल सञ्चालनमा नआएपछि स्थानीयले विमास्थलको जग्गासमेत बाँडेर उपभोग गरेका छन् । धेरैवर्ष पहिले नेपाली सेनाको लडाकु जहाजमात्रै बसेको स्थानीयको भनाइ छ । डोल्पोबुद्ध गाउँपालिका वडा न ५ मापर्ने तिन्जे विमानस्थल कुनै समय माथिल्लो डोल्पावासीको लागि आवश्यक मानिन्थ्यो ।

सेलायो मदानेचौरको चर्चा

सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं. ११ मापर्ने मदानेचौरले लामो समयदेखि अन्तर्राष्ट्रिय विमास्थलको रुपमा चर्चा पायो । कहिले अन्तर्राष्ट्रिय विमास्थल त कहिले क्षेत्रिय प्रादेशिक विमास्थलका रुपमा मादानेचौर चर्चामै रह्यो । तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीले स्थलगत अध्ययन गरेपछि मदानेचौरको चर्चा झन् चुलियो । तर अहिले सुर्खेत विमास्थल विस्तारको प्रक्रिया अघि बढेपछि मदानेचौरमा विमानस्थल बन्ने चर्चा भने सेलाएको छ । मदानेचौरलाई लामो समयदेखि जिल्लाका नेताहरुले आफ्नोा चुनावी नारा बनाए । तर यसको बहस र चर्चा हराएसँगै अब मदानेचौरमा विमानस्थल बन्ने विषय पनि सेलाएको हो । सुर्खेत विमानस्थलको स्तरोन्नती र विस्तार सम्भव नभएको भन्दै मदानेचौरको प्रस्ताव गरिएको थियो । तर पछिल्लो समय यसको बहस सेलाएको छ ।

तपाईको प्रतिक्रिया