मनमनै माया थियो, भन्न सकेका थिएनौं

जन्म, मृत्यु र विवाह भन्ने विषय मानवको नियन्त्रणमा हुँदैनन् । भाग्यमा लेखेको कुरा जो जहाँ भए पनि पुरा हुन्छ । तर, मन पराएर विवाह बन्धनमा बाँधिएका जोडी कमै मात्रामा हुन्छन् । यस्तै मन पराएकै मान्छेसँग विवाह गर्न सफल भएका जोडी हुन् वीरेन्द्रनगरका सुन्दरमान श्रेष्ठ र तिला श्रेष्ठ । यो जोडी एक अर्कालाई मनमनै मन त पराउर्थे, तर भन्न भने सकेका थिएनन् । आखिर भगवानले नै जुराएपछि कसले पो छेक्छ र ? त्यसैले त उनीहरुको विवाह गराई दिन तिलाका दाइ नै लमी भए । अन्ततः यो जोडीको विह भयो ।

परिवारको सहमतिमा भागी विवाह

सुन्दरमान श्रेष्ठ काठमाण्डौमा बसेर पढ्दै थिए । उनको नाममा एउटा चिट्ठी पुग्यो । त्यो चिट्ठी उनका भिनाजुले पठाएका थिए । चिट्ठीमा भिनाजुले आफ्नो बहिनीको एसएलसी परीक्षा रद्द भएको हुँदा एकपटक बुझ्न आग्रह गरेका थिए । श्रेष्ठसँंगै बस्ने उनका साथीले उनलाई केटीको बारेमा जानकारी गराएपछि श्रेष्ठलाई पनि खुलदुली भयो । श्रेष्ठ सुर्खेत आएपछि उनकै भिनाजुले आफ्नो बहिनीसँग विहे गर भने । यति भनेपछि श्रेष्ठलाई अरु के नै चाहियो र ? श्रेष्ठको भिनाजुकी बहिनी अरु कोही नभएर तिला थिइन् । हुन त श्रेष्ठले तिलालाई बाल्यकालदेखि नै चिनेका थिए । तर, तिलाले भने आफ्नो दाईले श्रेष्ठको दिदीलाई विवाह गरेपछि मात्र चिनेकी थिइन् । दुबैको मनमा एकअर्काे प्रतिको माया त थियो तर, भनेका भने थिएनन् । भन्न पनि परेन । उनीहरुको मायालाई पुरा गर्न तिलाकै दाईले सफल बनाइदिए । तिलाका पिता काठमाण्डौमा थिए । यता तिलाका हजुरआमाले र घरपरिवारको सहमतिमा विवाह गरिदिने कुरा चल्यो । २०४१ साल असोज २९ गते उनीहरुले परिवारको सहमतिमा नै भागी विवाह गरे ।

छोरी र बुहारी हुँदाको फरक

विवाह हुँदा तिलाले एसएलसी पास गरेकी थिइनन् । तर, उनले कष्णगंज गुप्तीपुरमा अध्यापन गर्दै थिईन । विवाहपछि तिलाले एसएलसी पास पनि गरिन् । विवाहपछि एउटी छोरीलाई बुहारी भएर घरको सम्पूर्ण जिम्मेवारी सम्मालेर पढाइ अनि जागिर गर्नु भनेको सानो कुरा थिएन । तर पनि तिलाले हिम्मत नहारेर घरपरिवार, पढाइ र जागिरलाई सँगसँगै अगाडि बढाइन् । उनी भन्छिन्, ‘मनमा आट र साहस हुनुपर्छ, सबै काम गर्न सकिन्छ ।’ विवाहपछि दुई छोरालाई हुर्काउनु, घरव्यवहार सम्माल्नु र जागिर पनि गर्नु तिलाको लागि सहज भने थिएन । समस्याभित्रै समाधान खोज्दै उनले आफ्नो जीवनलाई सहज रुपमा अगाडि बढाइन् ।

यस्तो थियो बाल्यकाल

पिता मोहनमान श्रेष्ठ र माता बडालक्ष्मी श्रेष्ठको कोखबाट वि.स. २०१५ सालमा सुर्खेतको कटकुवामा जन्मिएका श्रेष्ठको बाल्यकाल समाइलोसँग वित्यो । घरको कान्छो छोरा भएकाले पनि होला सबैको मायाममतामा नै उनको बाल्यकाल वित्यो । सबैको प्यारो, सबैको माया पाएका श्रेष्ठको स्वभाव भने शान्त थियो । उनी साथीभाईहरुसँग सधै मिल्ने गर्थे । कतिसम्म भने साथीको खुसीका लागि उनी खेलमा जानीजानी हारी पनि दिन्थे । उनलाई अरुको मन दुखाउन बाल्यकालदेखि नै आएन । बरु आफु दुखी भएर पनि अरुलाई खुसी बनाउने प्रयास उनले गर्ने गर्थे ।

यस्तै, पिता कुलमान शाक्य र माता गंगादेवी शाक्यको कोखबाट २०२२ सालमा गोठिकाँडा जन्मिएकी तिलाको बाल्यकाल सामान्य नै वित्यो । तिला भर्खर ६ वर्षको थिइन् । उनको आमाको मृत्यु भयो । जतिबेला आमाको माया ममताको खाँचो थियो त्यतिबेला तिलाले आमा गुमाउन पुगिन् । आमाको निधन भएको दुई वर्षपछि उनका बुवाले अर्की आमा विवाह गरेर ल्याए । कान्छी आमा भए पनि तिलाले कहिल्यै कान्छी आमाको जस्तो व्यवहार बेहोर्नु भने परेन । जुन उमेरमा आमाको माया दैवले खोसेको थियो । तिलाले जन्मदिने आमा नपाए पनि कर्म दिने आमा भने पाइन् । उनलाई कर्म दिने चन्द्रादेवी शाक्यले तिलालाई कहिले कान्छी आमा हुनुको आभास हुन दिइनन् । तिला ६ भाईबहिनी मध्ये माइली छोरी हुन् । जन्मदिने आमाको माया पाउन नसके पनि उनले कर्म दिने आमाको माया भने पाइन् । उनी भन्छिन्, ‘मैले जन्म दिने आमा गुमाए पनि कर्म दिने आमा भेटाएँ ।’


दुबै जनाको स्नातकोत्तर

श्रेष्ठले कक्षा ५ सम्म वीरेन्द्रनगरकै श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्राम स्कुलमा पढे । कक्षा ६ देखि भने जन उच्च मावी वीरेन्द्रनगरमा पढे । एसएलसी पास गरेपछि भने उनले आफ्नो पढाइलाई बीचैमा रोक्नुपर्ने बाध्यता आयो । उनले भने, ‘त्यतिबेला सुर्खेतमा क्यापसहरु थिएनन्, पढ्नलाई नेपालगंज जानुपथ्र्यो । बाहिर बसेर पढ्न सक्ने आर्थिक अवस्था थिएन, त्यसैले पढाइ बीचैमा रोक्नुप¥यो ।’ उनले बीचमा करिव १० वर्ष जति पढाइ रोके । पछि सुर्खेतमा वीरेन्द्रनगर बहुमुखी क्यापसको स्थापना भएपछि उनले फेरी कक्षा ११ देखि पढ्न सुरु गरे । भनिन्छ, मान्छेमा आत्मबल हुनुपर्छ, भित्री मनदेखि हरेक कुरा वा काम गर्न सक्छु भन्ने भावना पैदा गर्न सकेमा जस्तोसुकै परिस्थितीमा पनि मान्छे जुधेर काम गर्न सक्छन् । यस्तै श्रेष्ठले पनि १० वर्षसम्म रोकेको पढाइ फेरि अगाडि बढाउने सोचका साथ अगाडि बढेकै कारण उनले सुर्खेत शिक्षा क्यापसबाट डिग्री सकेर बसेका छन् ।

श्रेष्ठ कक्षा ८ पास भएर कक्षा ९ मा पढ्दा ऐच्छिक विषय रोज्नुपथ्र्यो । श्रेष्ठले शिक्षा विषय लिएर पढे । त्यतिबेला देखि नै उनले भविष्यमा शिक्षक नै बन्नुपर्छ भन्ने मानसिकता बनाइ सकेका थिए । भविष्यमा शिक्षक बन्ने सपना पुरा गर्न उनले दिनरात मेहेनत गरेर पढे । अन्त्यमा सफल पनि भए । अमरज्योति मावीबाट उनी गतवर्ष मात्र अवकांशप्राप्त गरी बसेका छन् । उनी विपसना केन्द्रका सचिव पनि हुन् । तिलाले सुर्खेत शिक्षा क्यापसबाट डिग्री सकेकी हुन् । उनी अहिले नेरामावि खजुराकी प्रधानाध्यापक हुन् ।

संगीतमा रुची

श्रेष्ठको अर्काे रुचीको विषय भनेको हार्मोनियम थियो । उनलाई हार्मोनियम बजाउने भनेपछि अरु केही चाहिदैन्थ्यो । उनी भन्छन्, ‘मलाई हार्माेनियम भएपछि अरु चाहिदैन्थ्यार्,े धेरै रुची थियो हार्माेनियम बजाउने ।’ उनले हार्माेनियम पनि बजाउन सिके । २०२९ सालमा सुर्खेतमा बालपुस्तकालय स्थापना भएपछि उनी पनि त्यहाँ जानेगर्थे । त्यहाँ उनले हार्माेनियम बजाउन सिके । हार्माेनिमय मात्र होइन, उनले केहि सडक नाटकहरुमा केटीको भुमिका पनि निवार्ह गरे । सांस्कृतिक कार्यक्रम भने पछि अहिले पनि उनी अघि सर्छन् ।
आपसमा प्रशंसा
यो जोडीको एकआपसमा सामान्य झगडा कहिलेकाँही हुनेगर्छ । तर, एकै छिनको लागि मात्र । उनीहरु भन्छन्, ‘श्रीमान् श्रीमती भएपछि सामान्य झगडा हुनु त स्वभाविकै हो नि, जसको पनि हुन्छ । सामान्य झगडा त, तर हाम्रो झगडा एकैछिन मात्र हो ।’ झगडा गरे पनि यो जोडी एकअर्काेको प्रशंसा भने खुलेरै गर्छन् । श्रेष्ठलाई तिलाको अरुलाई दया गर्ने बानी मनपर्छ । उनी भन्छन्, ‘उनको सामाजिक काममा लाग्ने, सकारात्मक सोच नै मनपर्छ ।’ त्यस्तै तिलालाई पनि श्रेष्ठको मनमा पाप नराख्ने कुरा खुलेरै भन्ने बानी मन पर्ने गर्छ । आफ्नो पेशाप्रति इमानदार भएर लाग्ने र मेहेनती स्वभाव तिलालाई मनपर्ने गर्छ ।

एकअर्काको भावनालाई कदर

यो जोडी एकअर्काको जन्मदिन आयो भने मन्दिर जाने र मिठाइ खुवाउने पनि गर्छन् । उनीहरु भन्छन्, ‘साथमा छोराहरु भएसम्म राम्रोसँग मनाउछौं, एक्लै हुँदा सामान्य नै हुन्छ ।’ यो जोडी दुई छोरा र बुहारीको साथमा सुखी छन् । अहिले नातिनीसँग दिन विताउँने गरेको श्रेष्ठ बताउँछन् । रथ चलाउन दुई पाङग्राको आवश्यकता परे जस्तै जीवनको रथ चलाउन पनि एकअर्काेको साथको जरुरी पर्छ । त्यसैले जीवनमा विवाहलाई महत्वपूर्ण मान्न जरुरी छ । एकअर्काेको भावना बुझेर त्यही अनुसार एकअर्काेलाई व्यवहार गर्न सके जीवनको रथ सहजै चलाउन सकिने उनीहरुको भनाई छ । उनीहरु भन्छन्, ‘एकअर्काको भावनालाई कदर गर्न सकेमात्र सम्बन्ध दिगो हुन्छ ।’ उनीहरुका अनुसार दुवैजना समझदार पनि हुन जरुरी छ ।

(२०७७ असोज २४ गते शनिवार युगआह्वान राष्ट्रिय दैनिकमा प्रकाशित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार