जो भारतीय सेनामा भर्ती हुन चाहन्थे

सबैले प्राय बाल्यकालदेखि नै भविष्यको योजना बुन्ने गर्दछन् । कसैको डाक्टर बन्ने सपना हुन्छ भने कसैको पाइलट बन्ने । तर सबैका सपना पूरा भने हुँदैनन् । बाल्यकालको रुची एकातिर हुन्छ भने परिस्थिति र क्षमताले भविष्यमा पेशा अर्कै गर्नुपर्ने बाध्यता हुन्छ । यस्तै हाल नेकपा सुर्खेतका नेता बलबहादुर कठायत (विवस) को पनि बाल्यकालका सपना अरु नै थिए । बाल्यकालको रुची लाहुँरे बन्ने थियो, तर उनी हाल राजनीतिमा होमिएका छन् । आजको जम्काभेटमा हाम्रा सहकर्मी ओम शाहीले कठायतसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

बाल्यकालमा मिलनसार

बलबहादुर कठायत (विवस) पिता कर्णबहादुर कठायत र माता धनसरा कठायतको कोखबाट २०३९ साल जेठ २ गते सुर्खेतको बराहताल गाउँपालिका–४, साविक तरंगा–३ मा जन्मिएका हुन् । किसान परिवारमा जन्मिएका कठायत सानैदेखि पढाइमा अब्बल थिए । बाल्यकाल गाउँमै बिताएका उनी साथी भाइसँग पनि मिलनसार र सबैका प्रिय थिए । बाल्यकालमा साथीभाईहरुसँग मिलेर खेल्न उनलाई निकै रमाइलो लाग्ने गथ्र्यो ।

पढाइमा संघर्ष

कक्षा १ देखि कक्षा १० सम्म भेरी माध्यमिक विद्यालयमा पढेका उनले इन्टर र स्नातकसम्मको पढाइ भने शिक्षा क्याम्पसबाट पूरा गरे । यस्तै स्नातकोत्तर तह भने मध्यपश्चिम विश्वविद्यालयबाट उर्तिण गरेका हुन् । मध्यम परिवारमा जन्मिएका उनलाई पढ्नका लागि त्यति सहजता भने थिएन । तर पनि उनले संघर्ष गरेरै भए पनि आफ्नो पढाइलाई पुरा गरे । गाउँले परिवेशमा हुँदा काम गर्दै पढ्दै गरेको उनी सुनाउँछन् ।

लाहुरे बन्ने सपना अधुरै

जीवनमा सबैले देखेका सबै सपना पुरा हुँदैन । बाल्यकालमा देखेका र सजाइएका सपनाहरु समयसँग विलाएर पनि जान्छन् । समयले जता डोहो¥याउँछ, हामी पनि त्यतै जानुपर्छ । सोचेको, देखेकोभन्दा पनि लेखेको पाइन्छ नै पाइन्छ भन्छन् । यस्तै कठायतले पनि बाल्यकालको रहर वा सपना पुरा गर्न सकेनन् । उनको बाल्यकाल देखिको सपना अनि रुची भारतीय सेनामा भर्ती हुने थियो । त्यसका लागि उनले धेरै सपना पनि सजाएका थिए । तर उनको लाह्रे बन्ने बाल्यकालको सपना भने पुरा भएन ।

घरबाट भागेर जाँदा…


कठायत २०५३ सालमा साथी इन्द्र बडुवालसँग घरबाट भागेका थिए । घरबाट भागेर धनगढी बजारमा अलपत्र पर्दा खानकै लागि उनले होटलमा भाडा माझेका थिए । होटलमा भाडा माझ्दा हात पाकेको पल उनको जीवनको कहिल्यै नर्बिसने अविस्मरणीय क्षण हो ।

अनि भुमिगत भए

कठायतले २०५९ सालबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । उनी २०५९ सालमा माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी विद्यार्थी संगठन भेरी माध्यमिक विद्यालय तरंङ्गाको अध्यक्ष भए । २०६० मंसिर १० गते तत्कालिन माओवादीको पूर्णकालिन सदस्य भएपछि उनी भुमिगत नै भए । त्यो समयमा बाँके र बर्दियामा विद्यार्थी संगठनको सहसचिवको भुमिकामा काम गरेका थिए । २०६४ सालमा माओवादीको जिल्ला कमिटी सदस्य हुँदै २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा बराहताल गाउँपालिकाको अध्यक्ष पदको उमेदवार भएर चुनावमा होमिए । तर चुनावमा पराजित भए । उनी हाल नेकपाको जिल्ला कमिटी सदस्य र बराहताल गाउँ कमिटीको पार्टी सचिवको जिम्मेवारी पदमा छन ।

राजनीतिमा लाग्ने प्रेरणा

उनलाई राजनीतिमा लाग्ने प्रेरणा भने नेकपाका नेताहरु बिन्दमान विष्ट, नरबहादुर विष्ट, झकबहादुर मल्ल, सीता नेपाली र झुपबहादुर बुढा लगायत नेताहरु र घरपरिवारबाट मिलेको हो । कठायतलाई राजनीतिकमा लाग्ने अर्काे प्रेरणा जाजरकोटको रामीडाँडामा भएको कार्यक्रममा शक्ति बस्नेत लगायतका नेताबाट भएको प्रशिक्षणबाट पनि मिलेको थियो । बाल्यकालमा उनलाई हरेक समस्याको समाधान आन्दोलनबाट मात्र हुन्छ भन्ने लाग्ने गथ्र्यो । आन्दोलन गरे मात्र माग सम्बोधन हुन्छभन्ने उनको कलिलो बाल बस्तिष्कमा छाप परेको थियो । यस्तै कारण उनलाई समाज परिवर्तनका लागि राजनीति गर्नुपर्छ र तत्कालको अवस्था अनुसार युद्ध लड्नुपर्छ भन्ने उत्प्रेरणा जाग्यो ।

तत्कालिन माओवादीले वर्ग संघर्ष र युद्धको माध्यमबाट राजतन्त्रको अन्त्य र जनवादी गणतन्त्र प्राप्तीका लागि सुरु गरेको युद्धबाट स्थायी शान्ति समाजवादउन्मुख समाज, संघीय गणतन्त्र, धर्म निरपेक्षता, शान्ति र समृद्ध देश विकासको गति अगाडि बढेको उनी बताउँछन् । उनीसँगै युद्धमा गएका धेरै साथी सहिद बने । युद्ध आफैमा जोखिम हो, तर पनि आफूहरुले अधिकारका लागि ज्यानको प्रवाह नगरी युद्ध लडेको भन्दै युद्धमा ज्यान गुमाएका सहिदका सपना अझै पुरा नभएका उनको भनाइ छ । उनी भन्छन्, ‘आज त्यो युद्धले एउटा व्यवस्था बदलियो, गाउँ गाउँमा सिंहदरवार पुग्यो, जनताले प्रत्यक्ष सरकारको महशुस गर्न पाएका छन् । विकास निर्माणका कामहरु क्रमिकरुपमा अगाडि बढी रहेका छन् ।’
अबको बाटो

राजनीतिमा विचार र कार्यदिशा स्पष्ट हुनुपर्ने उनको भनाइ छ । राजननीतिक कार्यदिशा सही ढङ्गबाट अनुशरण गर्न सके नेकपाको व्यवस्थापन र सञ्चालनमा सहज वातावरण सिर्जना हुने उनको बुझाई छ । पार्टीमा वैचारिक द्वन्द्व हुनु स्वाभाविक ठान्ने उनी गुट उपगुटमा लागेर गरिने राजनीतिले पार्टीको हित नहुने बताउँछन् । कम्युनिष्टहरु एक ढिक्का भएर अगाडि बढ्नु नै अहिलेको आवश्यकता रहेको औल्याउँदै पार्टी नेतृत्व झिना मसिना कुराकापछि नलागेर वैचारिक समानता कायम गरी गुटको राजनीति अन्त्य, संगठन सुदृढ गर्नतर्फ ध्यान दिदै एकताबद्ध ढङ्गबाट नेकपा अगाडि बढ्नु नै अबको बाटो भएको उनको बुझाई छ ।

व्यक्तिगत रुपमा यो वा त्यो पदमा पुग्नुपर्छ भन्ने मान्यता उनीमा छैन । पार्टीले दिएको जिम्मेवारी अनुसार इमान्दारपूर्वक काम गरिरहेको र आगामी दिनमा गर्दै जाने उनी बताउँछन् । उनको अबको योजना भनेको निरन्तर रुपमा समाज सेवाबाट जनतासँगै रमाउने, जनताको जीवनस्तर माथी उठाउन नेतृत्वमा रही आर्थिक, सामाजिक, राजनीतिक रुपान्तरणको अभियानमा सहभागी हुँदै न्यायको पक्षमा निरन्तर उभिनु रहेको छ । जनताको सेवक बन्न सकेकोमा उनी सुखी पनि छन् । आगामी दिनमा पार्टी सुदृढ र व्यवस्थित बनाउन सदैव लागि पर्ने उनको भनाइ छ । भ्रष्टाचारमा शुन्य सहनशीलता कायम गर्न उल्लेख्य भुमिका खेलेको बताउने उनी कुनै पार्टी संगठनमा मात्रै होइन, राज्यका हरेक निकायमा भ्रष्टाचार गर्न दिनु हँुदैन भन्ने मान्यता राख्छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार