साढे दुई बर्षमा कर्णालीमा तीनसय ७६ प्रहरीलाई कारबाही

सुर्खेत, २३ असोज ।

घटना : १

केही महिनाअघि मात्र कालिकोटमा कार्यरत एक प्रहरीले बहुविवाह गरे । दैलेख स्थायी घर भएका उनले दोस्रो विवाह गर्नकै लागि पहिलो विवाह नभएको प्रमाण जुटाए । शक्तिको दुरुपयोग गर्दै दोस्रो श्रीमतीलाई पनि वैधानिक रुपमा विवाह गरे । त्यतिमात्र होइन, उनले देशको कानूनलाई नै चुनौती दिए ।

जागिर जोगाउन र कारबाहीबाट बच्न पहिलेकी श्रीमतीलाई अनेक डरत्रास र धम्की दिए । तर उनको यो हर्कत धेरै दिनसम्म टिक्न सकेन । पहिलो श्रीमतीले न्याय माग्दै प्रहरीमा नै गुहार मागिन् । जिल्लाबाट छानबिन हुँदै यो मुद्दा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतसम्म आइपुग्यो । गाउँ समाजमा हुने बहुविवाह र बालविवाहरु रोक्ने जिम्मेवारी पाएको प्रहरीले आफ्नै सहकर्मीले बहुविवाह गरेको मुद्दा परेपछि दंग नपर्ने विषय भएन ।

कानुन कार्यान्वयन गर्ने जिम्मेवारी पाएका प्रहरी कर्मचारीले नै बहुविवाह गरेको प्रमाणित भएपछि कर्णाली प्रदेश प्रहरी कार्यालयले उनलाई काननी कठघरामा उम्भायो । हाल उनी देवानी संहिता २०७४ अनुसार सजाय भोगिरहेका छन् । देवानी संहिताअनुसार कुनै पनि पुरुषले पहिलो श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्नु अपराध मानिन्छ । तर कानुन कार्यान्वयन गराउने कतिपय सुरक्षाकर्मी आफै कानुनी फन्दामा पर्दै आएका छन् ।

घटना : २

केही महिनाअघि सुर्खेतको मेहलकुनामा मोटरसाइकल दुर्घटना भयो । मोटरसाइकलको ठक्करबाट केही यात्रु घाइते भए । तर मोटरसाइकलका चालकलाई प्रहरीले जानाजान त्यहाँबाट भगायो । नागरिकको सुरक्षार्थ खटिएका एकजना सईको निर्देशनमा उनी भाग्न सफल भए । घाइते र स्थानीयले घटना छानबिन गर्न र दोषीलाई कारबाहीको माग गरे ।

घटनाले ठूलो रुप लिनसक्ने भएपछि ती सई उक्त मोटरसाइकलका चालकसँग मिले । र चालकको रुपमा दोस्रो व्यक्तिलाई उभ्याए । सईकै मिलेमतोमा वास्तविक चालकलाई बचाउने प्रयास गरियो । र दोस्रो व्यक्तिलाई कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढ्यो । तर घटनास्थलका प्रत्यक्षदर्शी र घाइतेले प्रहरीले नै दोषीलाई बचाएर दोस्रो व्यक्तिलाई फसाएको प्रमाणित गरे । पीडितलाई न्याय दिलाउनुको साटो सईले गम्भीर गल्ती गरेको प्रमाणित भयो ।

घटनाको वास्तविकता बुझेपछि कर्णाली प्रदेश प्रहरी कार्यालयले निर्दोषलाई फसाउन सहयोग गर्ने आफ्नै संगठनमा कार्यरत सईलाई नै जागिरबाट बर्खास्त गरयो । माथि उल्लेखित घटनाहरु केही प्रतिनिधिमुलक मात्रै हुन । पछिल्लो समय समाजमा शान्ति सुरक्षा कायम गर्ने र अपराध नियन्त्रण गर्ने जिम्मेवारी पाएका प्रहरीहरु नै कानुनविपरितका काममा संलग्न हुन थालेका छन् । कानूनको पालना गराउने जिम्मेवारी बोकेका सुरक्षाकर्मी नै चेनअफ कमान्डभन्दा बाहिर जान थालेका छन् । यही समस्या बढ्न नदिन कर्णाली प्रदेश प्रहरी कार्यालयले संगठनभित्र अनुशासनको अंकुश कस्न थालेको छ । त्यही क्रममा प्रहरीले कानुन विपरितका काम गर्ने सहकर्मीमाथि नै कारबाही थालेको छ ।

सामाजिक सञ्जाल प्रयोगमा कडाइ

पछिल्ला वर्षमा सुरक्षाकर्मीहरु नै चेनअफ कमाण्ड बाहिर जान थालेपछि अनुशासनको नीतिमा थप कडाइ गरिएको छ । नेपाल प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यादेश अनुसार प्रहरीको आचरण एवम् व्यवहारमा सुधार गर्न नयाँ आचारसंहिता लागु गरिएको छ । असोजदेखि लागु गरिएको आचारसंहिता अनुसार अब प्रहरी कर्मचारीले विपरीतलिङ्गीसँग अनावश्यक हेलमेलमा र समाजिक सञ्जालको प्रयोगमा कडाइ गरिएको छ ।

नयाँ आचारसंहिता अनुसार प्रहरी कर्मचारीले अब विपरीतलिंगीलाई मौका पाउनासाथ थमथमाउने वा मुसार्ने, टाँसिने, छुने, चिमोट्ने कार्य नगर्ने, राम्रो काम गरे बापत स्पर्श गर्न पाउने मनसायले विपरीतलिंगीलाई धाप मार्नु नहुने जस्ता कार्यहरु गर्न नपाउने उल्लेख छ । यस्तै प्रहरीले सामाजिक सञ्जालबाट राष्ट्रिय अखण्डतामा खलल पार्ने, साम्प्रदायिक दंगा भड्काउने, आतंककारी गतिविधिलाई प्रश्रय दिने, शान्ति सुरक्षामा खलल पार्ने तथा अपराध अनुसन्धानलाई प्रभावित पार्ने गतिविधिहरू प्रकाशन, प्रसारण गर्न तथा त्यस्ता विषयमा लाइक, कमेन्ट र सेयर गर्न प्रतिबन्ध लगाइएको छ । त्यस्तै प्रहरी कर्मचारीले अनुमतिविना विदेशी नियोग, विदेशी कूटनीतिक व्यक्ति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग भेटघाट, सम्पर्क तथा सहकार्यमा पनि रोक लगाइएको छ ।

डीएसपी नै चेनअफ कमाण्ड बाहिर !

प्रहरीमा डीएसपी जिम्मेवार पद हो । कर्णालीका सुर्खेतबाहेक नौ जिल्लाको सुरक्षा नेतृत्व डीएसपीकै कमाण्डमा हुन्छ । आफू मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई चेनअफ कमाण्डमा राख्नेदेखि जिल्लाको अपराध अनुसन्धानमा प्रभावकारी नेतृत्व निर्वाह गर्ने जिम्मेवारी डीएसपीकै काँधमा हुन्छ । तर कर्णाली प्रदेशमा भने एक जना डीएसपीले नै प्रहरी संगगठनको आचरणविपरित काम गरेका छन् ।

प्रहरी संठनको अनुसासनभन्दा बाहिर गएका कारण उनलाई विभागिय कारबाही गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/०७६ मा कर्णालीबाट ९६ जना प्रहरी जवानहरुले संगठनको आचरणविपरित काम गरेका छन् । त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा एकसय ३० जना प्रहरी जवान र चालु आर्थिक वर्षमा १९ जना प्रहरी जवान कारबाहीमा परेका हुन् । त्यस्तै प्रहरी हवल्दार ९५ जना कारबाहीमा परेका छन् । समध्ये आर्थिक वर्ष २०७५/०७६ मा ३४ जना, २०७६/०७७ मा ४९ जना र चालु आर्थिक वर्षमा १२ जना असई कारबाहीमा परेका हुन् । त्यस्तै कारबाहीमा परेका १५ जना असई मध्ये आर्थिक वर्ष २०७५/०७६ मा दुईजना, २०७६/०७७ मा ११ जना र चालु आर्थिक वर्षमा दुईजना छन् ।

त्यस्तै कारबाहीमा परेका ११ जना सईमध्ये आर्थिक वर्ष २०७५/०७६ मा चार जना, २०७६/०७७ मा पाँचजना र चालु आर्थिक वर्षमा दुई जना कारबाही परेका छन् । पाँच जना प्रहरी निरीक्षक मध्ये आर्थिक वर्ष २०७५/०७६ मा एकजना, २०७६/०७७ मा तीन जना र चालु आर्थिक वर्षमा एक जना र अन्य कर्मचारी गरी चार जना विभागीय कारबाहीमा परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवत्ता बास्तोलाले जानकारी दिए ।

जवानदेखि डीएसपीसम्म कारबाहीमा

कर्णाली प्रदेशभर पछिल्लो साढे दुई वर्षको अवधिमा नेपाल प्रहरीमा कार्यरत जवानदेखि डीएसपीसम्म कारबाहीमा परेका छन् । संगठनको आचरण विपरित काम गर्ने, कानुनले बन्देज गरेका कार्य गर्ने र कानुन नै हातमा लिने तीन सय ७६ जना प्रहरीलाई कारबाही गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा एकसय ३७ जना, २०७६/०७७ मा दुईसय एक जना र चालु आर्थिक वर्षमा ३८ जना प्रहरीमाथि कारबाही भएको छ ।

जसमध्ये केहीलाई जागरिबाटै हटाइएको छ । विभागिय कारबाहीमा नसियत दिने, पद घटुवा, सेवा अवधिको कम गणना, पदोन्नती रोक्का, अभिलेखमा प्रतिकूल राय राख्ने, ग्रेड घटुवा, ग्रेड रोक्का र निलम्बन लगायतका छन् । सुरक्षाकर्मीलाई चेनअफ कमाण्ड भन्दा बाहिर जान नदिन विभिन्न समयमा तालिम, अभिमुखिकरण र अनुशिक्षण दिँदै आएको बास्तोलाले बताए ।

तपाईको प्रतिक्रिया