‘बाख्रा स्मार्ट गाउँ’ कार्यक्रमले घरघरमा बाख्रापालन

नेपालगञ्ज, २३ असोज ।
बाँकेको नरैनापुर गाउँपालिकाको वडा नं. ६ कोहोला गाउँमा बाख्रा स्मार्ट गाउँ कार्यक्रम सञ्चालन भएपछि सो गाउँका हरेकजसो घरमा व्यावसायिक बाख्रापालन शुरु गरिएको छ । नरैनापुर गाउँपालिकाका अनुसार कोहोला गाउँमा ५० घर परिवारले अहिले व्यवसायिक रुपमै बाख्रा पालिरहेका छन् ।

पहिले शोखका लागि एक दुईवटा बाख्रा पाल्नेहरूले पनि स्मार्ट गाउँ कार्यक्रमसँग जोडिएपछि खोरभरि बाख्रा पाल्न थालेका छन् । सो वडामा हाल आएर बाख्रापालन फस्टाउँदै गएको छ । कोहोला गाउँका स्थानीय किसान जुम्मन शेषका अनुसार कार्यक्रम शुरु भएपछि बाख्रालाई सुरक्षित राख्न गाउँमा नयाँ खोर निर्माण गरिएका छन् ।

बाख्रालाई चाहिने उन्नत जातको बोका, उन्नत घाँस, आवश्यक पर्ने औषधिलगायतको व्यवस्थापन गरिएको छ । उहाँले बाख्रा पालेर राम्रो आम्दानी हुन भएकोले हरेकजसो घरमा बाख्रा पालिरहेको बताउनुभयो । सोही गाउँका अर्का स्थानीय किसान जयराम मौर्यले हरेक मङ्गलबार बाख्रा बिक्रीको लागि गाउँमा बजार लगाउने गरिएको बताउनुभयो । उहाँले सो बजारमा नेपालगञ्ज लगायतका विभिन्न स्थानबाट खसी बाख्रा खरिद गर्न व्यवसायीहरू आउने गरेको जनाउनुभयो ।

कोहोला बाख्रा स्मार्ट गाउँ कार्यक्रमका संयोजक साविर खानका अनुसार कार्यक्रमले गर्दा बाख्रापालन बढ्दै गएपछि कोहोला गाउँका हरेक घरका किसानले अहिले १२ देखि ५० वटासम्म बाख्रा पालेको बताउनुभयो । स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत बाँकेको नरैनापुर– ६, कोहोला गाउँमा गत आर्थिक वर्षबाट सो कार्यक्रम शुरु गरिएको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नेपालगञ्जले जनाएको छ । कार्यक्रम बाँकेकै जानकी गाउँपालिका र बर्दियाको गेरुवा तथा ठाकुरबाबामा पनि गत आवबाटै सञ्चालन गरिएको पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।

भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नेपालगञ्जका प्रमुख कमला अधिकारीका अनुसार सो गाउँमा अहिले पाँच सय बढी बाख्रापालन गरिएको छ । कार्यक्रमका लागि लुम्बिनी प्रदेश सरकारले उन्नत जातको बोका, उन्नत घाँस, आवश्यक पर्ने औषधि तथा बजारलगायतको व्यवस्थापनका लागि ५० लाख रुपियाँ लगानी गरेको छ ।

प्रदेश पाँच सरकारले आर्थिक वर्ष २०७५/०७६ सालबाट कृषिमा आधुनिकरण, उत्पादकत्व वृद्धि र बजारीकरणका लागि शुरु गरेको स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष २०७६/०७७ बाट बाँके र बर्दियाका चारवटा गाउँलाई छनौट गरेर बाख्रा स्मार्ट गाउँ कार्यक्रम सञ्चालन गरिएको हो ।

भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नेपालगञ्जका प्रमुख अधिकारीले कोहोला बाख्रा स्मार्ट गाउँ कार्यक्रमलाई सफल पार्न जलवायु, प्रविधि, पोषण, सिँचाइ, बजार र अन्तरसम्बन्धित कुरालाई विशेष ध्यान दिइएको बताउनुभयो । बाख्राको मलबाट गाउँमा व्यावसायिक तरकारी खेती गर्ने योजना रहेको उहाँले जनाउनुभयो ।

तपाईको प्रतिक्रिया