अदालतको आदेशपछि फरार रहेकाहरु धमाधम पक्राउ पर्दै

सुर्खेत, २१ असोज ।

नक्कली छोरा बनेर नागरिकता लिएको दुई वर्षपछि सल्यानबाट समीर मियाँ भन्ने ईमाम बक्स मियाँ प्रहरीको फन्दामा परे । जिल्ला प्रहरी कार्यालय सल्यानले मियाँलाई छत्रेश्वरी गाउँपालिका ७ बाट मंगलबार पक्राउ ग¥यो । उनीसँगै छोरा नाता कायम गरेर नागरिकता दिलाउन सहयोग गर्ने छत्रेश्वरी गाउँपालिका ७ का ४६ का मुस्ताज मियाँ पनि पहरीकै फन्दामा परे ।

बबई गाउँपालिका वडा नं ७ दाङका २३ वर्षे समीर मुस्ताजका छोरा नभइ ज्वाइँ हुन् । समिरले छत्रेश्वरी गाउँपालिका वडा नं–७ को सिफारिसमा २०७५ भाद्र २४ गते जिल्ला प्रशासन कार्यालय सल्यानबाट नागरिकता लिएका छन् । मुस्ताजले छोरा नाता कायम गरेर समिरलाई नागरिकता दिलाउन सहयोग गरेका थिए । समीर मियाँको नामबाट नागरिकता लिए पनि उनको वास्तविक नाम भने ईमाम बक्स मियाँ हो । उनका बुवा भने विसमुल्ला मियाँ हुन् ।

समीरले ससुरालाई बुवा बनाएर नागरिकता लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता लक्ष्मण ओलीले जानकारी दिए । हाल दुबै जनालाई पक्राउ गरी जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । यस्तै सुर्खेतबाट पनि नागरिकता किर्ते गरेको आरोपमा एकजना पक्राउ परेका छन् । घटना अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कानून अनुसार नक्कली नाता कामय गर्नु र नागरिकता किर्ते गर्नु अपराध मानिन्छ । कानून विपरित कार्य गरेको आरोपमा पक्राउपर्ने उनीहरुमात्रै होइन । पछिल्लो समय अपराधिक क्रियाकलपामा संलग्नहरु थमाधम पक्राउ पर्न थालेका छन् ।

कर्णालीमा प्रहरीले अदालतको आदेशपछि फरार रहेका अपराधीलाई धमाधम पक्राउ गर्न थालेको छ । पछिल्लो समय कर्णाली प्रदेश प्रहरीले अदालत तथा प्रहरीमा रहेको मुद्दामा फरारहरुको खोजीलाई तीब्रता दिएको हो । विभिन्न अपराधमा सजाय तोकिएका तथा मुद्दा परेपछि प्रहरी तथा अदालतमा हाजिर नभएकाहरुको प्रहरीले खोजी अभियान नै चलाएको छ । कोरोना महामारीपछि फरारहरु गाउँ फर्केको मौका छोपी प्रहरीले अपराधीहरुको खोजी कार्य तीब्र बनाएको हो । पछिल्लो ५० दिनको अवधिमा मात्रै कर्णालीबाट तीनसय ६० जना अपराधीहरु प्रहरीको फन्दामा परेका छन् ।

भदौ १ गतेदेखि असोज १९ गतेको अवधिमा उनीहरु पक्राउ परेका हुन् । यो अवधिमा प्रदेश प्रहरी कार्यालयले प्रहरीले मात्रै ८० जना पक्राउ गरेको छ । पक्राउ परेका मध्ये ५१ जना फौजदारी अपराध र २९ जना देवानी अपराधमा दोषी ठहर भएका व्यक्तिहरु हुन् । उनीहरुलाई अदालतले ५७ वर्ष ११ महिना २७ दिन कैद सजाय र ३९ लाख ८८ हजार सातसय २१ रुपैयाँ जरिवाना असुल भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवत्ता प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलले जनाए । ५० दिनको अवधिमा पक्राउ पर्नेहरुको सूचि भने निकै लामो छ । भदौ १ गतेदेखि हालसम्म सुर्खेतबाट मात्र ३८ जना पक्राउ परेका छन् ।

प्रवक्ता बास्तोलका अनुसार दैलेखबाट २६ जना, जाजरकोटबाट १० जना र सल्यानबाट एकसय १८ जना अपराधीहरु पक्राउ परेका हुन् । त्यस्तै डोल्पाबाट चार जना, जुम्लाबाट २५ जना, रुकुमपश्चिमबाट १३ जना, मुगुबाट २४ जना, कालिकोटबाट १९ जना र हुम्लाबाट तीनजना अपराधीहरु पक्राउ परेका हुन् । पक्राउ परेका मध्ये दुईसय ४२ जना जघन्य अपराधका घटनामा संलग्न छन् । यस्ता अपराधिक क्रियाकलापमा जोडिएका मध्ये सुर्खेतबाट ३३ जना, दैलेखबाट १८ जना, जाजरकोटबाट १० जना, सल्यानबाट ५८ जना र डोल्पाबाट चारजना पक्राउ परेका हुन् । त्यस्तै जुम्लाबाट २४ जना, रुकुमपश्चिमबाट सातजना, मुगुबाट २२ जना, कालिकोटबाट १६ जना र हुम्लाबाट तीन जना अपराधिहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई अदालतले फौजदारीमा दोषी ठह¥याएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पछिल्लो ५० दिनको अवधिमा पक्राउ परेका कुल तीनसय ६० जनामध्ये असोज १८ गतेसम्म तीनसय ५६ जना र असोज १९ गते दुई जना गरी पक्राउ परेका हुन् । सोमबार पक्राउ परेका दुबै जना सुर्खेतबाट पक्राउ परेका हुन् । उनीहरुमध्ये एक जना लागुऔषध र अर्काे एकजना नागरिकता किर्ते गरेको अभियोगमा पक्राउ परेका हुन् । नागरिकता किर्ते गरेको अभियोगमा पक्राउ परेकाको अनुसन्धान भइरहेको छ भने लागुऔषध अभियोगका दोषीलाई अदालतले चार महिना तीन दिनको कैद सजाय तोकेको छ ।

साढे ७७ लाख जरिवाना अशुल

पछिल्लो ५० दिनको अवधिमा पक्राउ परेका तीनसय ५६ जनाबाट साढे ७७ लाख रुपैयाँ जरिवाना अशुल भएको छ । प्रहरीको टोलीले पक्राउ गरेका ८० जनाबाट सबैभन्दा बढी अर्थात ३९ लाख ८८ हजार सातसय २१ रुपैयाँ जरिवाना असुल भएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार सुर्खेतमा पक्राउ परेका ३८ जनाबाट दुई लाख १८ हजार एकसय १२ रुपैयाँ, दैलेखमा २६ जनाबाट २० लाख २७ हजार १७ रुपैयाँ, जाजरकोटमा १० जनाबाट ४१ हजार पाँचसय ७६ रुपैयाँ र सल्यानमा एकसय १८ जनाबाट एकलाख २१ हजार नौ सय २५ रुपैयाँ जरिवाना अशुल भएको छ । त्यस्तै डोल्पामा चार जनाबाट २१ हजार, जुम्लामा २५ जनाबाट पाँच लाख ७४ हजार दुईसय ९७ रुपैयाँ, रुकुमपश्चिममा १३ जनाबाट ४३ हजार दुईसय ८९ रुपैयाँ, मुगुमा २४ जनाबाट पाँचलाख ६० हजार चारसय ९० रुपैयाँ, कालिकोटमा १९ जनाबाट ८५ हजार ६ सय १८ रुपैयाँ र हुम्लामा तीन जनाबाट ३० हजार रुपैयाँ जरिवाना अशुल भएको प्रदेश प्रहरी प्रवक्ता बास्तोलाले जानकारी दिए ।

दुईसय बर्ष कैद भुक्तान हुने

त्यस्तै पछिल्लो सयम कर्णालीमा पक्राउ परेका तीनसय ५६ जनाबाट दुईसय आठ वर्ष नौ महिना २६ दिन कैद सजाय भुक्तान हुने भएको छ । विभिन्न अपराधिक घटनामा संलग्न भएको भन्दै अदालतले यसअघि नै उनीहरुलाई कैद सजाय तोकिसकेको थियो । तर उनीहरु पक्राउ नपर्दा कैद सजाय भुक्तान हुन सकेको थिएन ।

जसमध्ये सुर्खेतबाट पक्राउ परेका ३८ जनाको एकमुष्ठ कैद सजाय जोड्दा ३९ वर्ष १० महिना २२ दिन हुन आउँछ । त्यस्तै दैलेखका २६ जनाको २० वर्ष दश महिना २२ दिन, जाजरकोटका १० जनाको एकवर्ष दुई महिना, सल्यानका एकसय १८ जनाको ३९ वर्ष ११ महिना १९ दिन कैद भुक्तान हुने भएको हो । त्यस्तै डोल्पाका चार जनाको १४ वर्ष १० महिना, जुम्लाका २५ जनाको १२ वर्ष एक महिना २५ दिन, रुकुमपश्चिमका १३ जनाको ६ वर्ष आठ महिना, कालिकोटका १९ जनाको पाँच वर्ष ६ महिना र हुम्लाका तीन जनाको तीन वर्ष कैद सजाय भुक्तान हुनेछ ।

‘अब अपराधीहरु उम्किदैनन्’

कर्णाली प्रदेश प्रहरीले भने कुनै पनि हालतमा अपराधीलाई उम्किन नदिने बताएको छ । ‘अपराध गर्न कसैलाई पनि छुट छैन’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले भने, ‘कानुनी राज्यमा कुनै पनि दोषीलाई प्रहरीले उम्किन दिँदैन ।’ समाजमा हुने अपराध नियन्त्रणका लागि प्रहरी सक्रिय भएको बताउँदै उनले अदालतले दोषी ठहराएका सबैले कानुनले तोकेको सजाय पाउने बताए । ‘अदालतले दोषी ठहर गरेका तर लामो समयदेखि फरार रहेका अपराधीहरु पक्राउ परिरहेका छन्’ उनले भने, ‘बिगतदेखि नै अपराध न्यूनिकरणका लागि प्रहरी सक्रिय छ, अब अपराधीहरु लुकीछिपी बस्ने समयको अत्य भइसक्यो ।’ अदालतले दोषी ठहर गरेपछि अपराधी फरार हुँदा पीडितले न्याय नपाउने भन्दै प्रहरीले ढिलोचाँडो दोषीलाई पक्राउ गर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया