नाम्रामा घरघरै खानेपानी धारा

सल्यान, २२ असोज ।

बन्गाडकुपिण्डे नगरपालिका–१ नाम्राका ५५ परिवारमा घरघरै खानेपानी धारा बनेका छन् । सबै घरमा धारा भएपछि स्थानीयले वर्षौंदेखिको खानेपानी समस्याबाट मुक्ति पाएका हुन् ।

खानेपानी सुविधा पुगेपछि गाउँमा खुसीयाली छाएको ४० वर्षीया जीतकला बुढाले बताइन् । ‘आधा रातमै सल्लाको झर्रो बालेर आधा घण्टा लतको भेरी नदीमा पुग्नुपर्ने बाध्यता हट्यो,’ उनले भनिन्,‘दिनरात पानीकै चिन्ता हुन्थ्यो, पानी पुगेपछि गाउँमा विकास आएको महशुस भयो ।’ लामो समय टाढाबाट पानी बोक्दा ढाड दुख्ने समस्याबाट पीडित भएको उनको गुनासो छ । स्थानीय चमेली केसीले घरनजिकै धारा बनेपछि घरायसी कामकाज गर्न सजिलो भएको बताइन् । उनका अनुसार खानेपानी समस्याका कारण बालबालिका र महिलाले लामो समयसम्म सास्ती भोग्नुप¥यो । ‘लुगा धुन र नुहाउन सधैं नदीमा झर्नुपर्थ्यो, पानी ल्याउने चटारोले बालबालिकाले पढाइ पनि छुट्थ्यो,’ उनले भनिन्, ‘ अहिले सरसफाइका काम सहज बनेका छन्, अलपत्र शौचालय प्रयोगमा आउन थालेका छन् ।’ घर नजिकैको धाराको पानीलाई करेसाबारीमा लगाइ तरकारी उत्पादन गर्ने उनको योजना छ ।

नाम्राका सबै घरमा खानेपानी सुविधा पु¥याउन खानेपानी तथा सिँचाइ डिभिजन कार्यालयले गत वर्ष ४४ लाख बजेट खर्चिएको थियो । बनगाडकुपिण्डे नगरपालिका–१ का वडाध्यक्ष शान्तकुमार यरीले नयाँ योजना बनेपछि स्थानीयबासीको दैनिकी सहज बनेको बताए । ‘वडाका सबै घरमा एक घर, एक धारा बनाउने हाम्रो योजना छ,’ उनले भने, ‘प्राथमिकताका आधारमा सबै टोलमा योजना कार्यान्वयन गरिरहेका छौं ।’

तपाईको प्रतिक्रिया