आइ-लिग छनोट बिहीबारबाट हुने

काठमाडौं, २१ असोज ।

भारतको आइ-लिग दोस्रो डिभिजनको फाइनल चरणको खेल बिहीबारबाट सुरु हुँदैछ। आइ-लिग छनोटको रूपमा रहेको प्रतियोगितामा पाँच टिमबीच प्रतिस्पर्धा हुँदैछ। कोरोना भाइरसका कारण प्रतियोगिताको अन्तिम चरण हुन सकेको थिएन। बिहीबार प्रतिस्पर्धा सुरु भएसँगै भारतमा पनि कोरोना भाइरसपछि औपचारिक रूपमा फुटबल फर्कनेछ।

गत जनावरीमा सुरु भएको प्रतियोगिताको समूह चरणका खेल बाँकी रहदा स्थगित गरिएको थियो। कोरोना कारण स्थगित प्रतियोगिताको स्वरुप परिवर्तन गर्दै समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्ने ६ टिमलाई अन्तिम चरणमा स्थान दिइएको थियो।

तर केरलाले प्रतियोगितामा भाग नलिने बताएपछि अन्तिम चरणमा पाँच टिमबीच प्रतिस्पर्धा हुन लागेको हो। प्रतियोगितामा अरा एफसी, भवानीपुर क्लब, बेंगलुरु युनाइटेड, गढवाल एफसी र मोहमेडन एससीबीच प्रतिस्पर्धा हुनेछ।

खेलहरू कडा स्वास्थ्य प्रोटोकल नियमका साथ दुई वटा रंगशालामा हुनेछन्। जसमा कोलकताको साल्ट लेक रंगशाला र कल्याणीको कल्याणी रंगशालामा खेल हुनेछन्। राउन्ड रोबिनको आधारमा पाँच टिमबीच हुने प्रतिस्पर्धा ११ दिन चल्नेछ। च्याम्पियन बन्ने टिम आइ लिग २०२०-२१ का लागि छनोट हुनेछ।

आइ(लिगको छनोटको रुपमा रहेको अन्तिम चरणमा नेपालका दुई खेलाडीले खेल्नेछन्। जसमा राष्ट्रिय टिमका फरवार्ड अभिषेक रिजालले मोहमेडन एससीबाट खेल्नेछन्। यु२३ टिमका अर्का फरवार्ड राजेश परियार अरा एफसीमा आबद्ध छन्।

प्रतियोगिताको पहिलो दिन बिहीबार भवानीपुर र बेंगलुरुबीच पहिलो खेल हुनेछ। बिहीबार नै मोहमेडन र गढवालबीच प्रतिस्पर्धा हुनेछ। अभिषेकको टिम मोहमेडन र राजेशको टिम अराबीच आगामी आइतबार प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया