चन्दननाथ मन्दिरबाट चोरी भएको मुर्ति तीन वर्षपछि भेटियो

जुम्ला, २० असोज ।

जुम्लाको चन्दननाथ मन्दिरबाट चोरी भएका मुर्तिसहित संलग्न ३ जना पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाको टोलीले दुई वटा मुर्तिसहित चोरीमा संलग्नलाई पक्राउ गरेको हो।


२०७३ मंसिर ११ गते चन्दननाथ नगरपालिका–५ मा रहेको चन्दननाथ मन्दिरबाट मुर्ति चोरी भएका थिए। संस्कृत भाषामा लिपीबद्ध चाँदीको धातु जस्तो दुई वटा मुर्ति भेटिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ वास्तोलाले जानकारी दिए।

उनका अनुसार भेटिएका मुर्तिमध्ये एउटामा ‘२०४१र०७र०८’ लेखिएको छ भने अर्कोमा सम्वत् १९३४ लेखिएको छ। एउटाको तौल ८९० ग्राम र अर्कोको ४५० ग्राम रहेको वास्तोलाले जानकारी दिए।

चन्दननाथ नगरपालिका–१० बोहोरा गाउँस्थित सुशिल विष्टको जग्गामा सुकेको घाँसको थुप्रोको बीचमा लुकाई राखेको अवस्थामा ती मुर्ति फेला परेको उनले बताए।

मुर्तिसँगै चन्दननाथ–१० का ३२ वर्षीय सुशिल विष्ट, तातोपानी गाउँपालिका–८ का २८ वर्षीय जयलाल थापा र २३ वर्षीय सुदीप रावललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको वास्तोलाले जानकारी दिए।


दुई जनालाई कैद सजाय

यसअघि २०७३ सालमा सोही चोरीमा संलग्न २ जना पक्राउ परेका थिए। २०७३ माघ १४ गते पक्राउ परेका चन्दननाथ मन्दिरका तत्कालीन पुजारी चन्द्रप्रसाद आचार्य र अर्का एकजना जयकृष्ण आचार्यलाई जुम्ला जिल्ला अदालतले २ वर्ष कैद, जनही २० लाख १५ हजार ८०० रुपैयाँ विगो र २० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

२०७४ असार १८ गतेको अदालतको फैसला अनुसार उनीहरुले कैद भुक्तानी र विगो तथा जरिवाना तिरी मुक्त भएको वास्तोलाले जानकारी दिए। उनीहरुको वयानकै आधारमा अहिले पक्राउ परेका तीन जनामाथि अनुसन्धान भइरहेको थियो। त्यसबेला पक्राउ परेका चन्द्र प्रसाद आचार्यको घरबाट मुर्तिको सुनको जलप लगाइएको मुकुट पनि भेटिएको थियो।

सेतोपाटीबाट साभार


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार