सम्पादकीयः विमानस्थलको मुहार बदल्ने अवसर

कर्णाली भौगोलिक रुपमा विकट छ । यही कारण सबै जिल्लाहरु सडक संजालमा जोडिएका छैनन् । हुम्ला सदरमुकामसम्म सडक पुगेको छैन । अन्य जिल्लाका सदरमुकाममा बल्लतल्ल सडक त पुग्यो । तर गाउँहरु अहिले पनि सडकको पहुँचमा छैनन् । यहाँको लागि अहिले पनि यातायातको सहज माध्यम भनेको हवाइ सेवा नै हो । तर त्यो पनि प्रभावकारी छैन । प्रदेशका प्राय जिल्लामा विमानस्थल छन् । तर कतिपय विमानस्थल संचालनमा छैनन् । भएका विमानस्थल पनि साँघुरा छन् । यसकारण नियमित रुपमा जहाज अवरतण गर्नसक्ने अवस्था छैन । अझ महत्वपूर्ण विषय त समग्र कर्णालीमा नै ठूला जहाज अवतरण गर्न मिल्ने विमानस्थल नै छैनन् । जसले गर्दा संघीय राजधानी काठमाडौंसँग कर्णालीको सिधा हवाइ सम्बन्ध छैन । सुर्खेत विमानस्थलबाट काठमाडौं सिधा हवाइ सेवा पछिल्लो समय संचालन भए पनि साना जहाजले मात्र उडान भर्ने गरेका छन् । दिनमा एउटा मात्र उडान हुने र कम यात्रु मात्र ओसार्ने भएकाले पनि त्यो पर्याप्त छैन । अहिले पनि सर्वसाधारणहरु प्रदेश ५ को नेपालगंज हुँदै काठमाण्डौ जानुपर्ने बाध्यता छ ।

कर्णालीभित्रै र देशका अन्य स्थानमा सिधा हवाइ उडानको एउटा विकल्प भनेकै सुर्खेत विमानस्थलको स्तरोन्नती हो । यद्यपी सुर्खेतमा अन्तर्राष्टिय विमानस्थलको बहस नचलेको होइन । सुर्खेतको भेरीगंगा नगरपालिकामा रहेको मदानेचौरमा यसको सम्भाव्यता अध्ययन पनि भयो । तर पछिल्लो समय यसको चर्चा सेलाएको छ । बरु हालैमात्र प्रदेश सरकार र संघीय सरकारबीच सुर्खेत विमानस्थललाई नै विस्तार गर्ने सहमति भएको छ । यो दिर्घकालिन समाधान भने होइन । यद्यपी यसको विस्तार र स्तरोन्नती भएको खण्डमा भने तत्कालका लागि ठूला जहाज अवतरण हुने वाटो खुल्नेछ । सहरको बिचमा रहेको र नजिकै अग्ला पहाड भएकाले पनि सुर्खेत विमानस्थलको विस्तार गरिए पनि अन्तर्राष्टिय स्तरको उडान हुन सक्ने दैखिदैन । तर पनि नेपालगंज लगायतका विमानस्थलमा हाल अवतरण भइरहेका ठूला जहाजहरु सुर्खेतमा अवतरण गर्न भने सहज हुनेछ । यसो भएको खण्डमा पनि कर्णालीलाई संघीय राजधानीसँग हवाइ मार्गबाट जोड्न सहज हुनेछ ।


तत्कालका लागि कर्णालीका अन्य जिल्लामा ठूला जहाज अवतरण गर्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा कर्णालीका लागि एकमात्र विकल्प भनेकै सुर्खेत विमानस्थलको विस्तार र स्तरोन्नती नै हो । यसकारण अब कागजमा भएको दुई वटा सरकारबीचको हस्ताक्षरलाई व्यवहारमा लागू गर्न ढिला गर्नु हुँदैन । कुनै पनि वहानामा योजना र सहमतिलाई काजगमा सिमित गर्नेभन्दा पनि तत्काल यो विमानस्थलको विस्तारका लागि आवश्यक काम अगाडि बढाउन जरुरी छ । यसो भएको खण्डमा सुर्खेत विमानस्थलको मुहार बदलिने छ । आधा लगानी संघीय सरकारले वेहोर्ने भएकाले पनि प्रदेश सरकारलाई कम मात्र आर्थिक भार पर्ने अवस्था छ । यसकारण पनि कर्णालीका लागि सुर्खेत विमानस्थलको मुहार बदल्ने र ठूला जहाज अवतरण गराउने यो ठूलो अवसर हो । यसको सदुपयोग गर्ने जिम्मेवारी अब प्रदेश सरकारको काँधमा आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार