जो इन्जिनियर बन्ने सपना त्यागेर बैंकिङ क्षेत्रमा आए

जसले केवल सोच्दछ मात्र, उसले सोचिरहन्छ । तर जो गर्छ, ऊ मात्रै लक्ष्यमा पुग्छ । तर सोच्नु र भोग्नुमा फरक छ जीन्दगी । किनकी सोचेको सबै कसलाई पो पुग्छ र ? समयले साथ दिएन भने कहिलेकाँही मनका रहरहरु मनभित्रै सेलाउनुपर्छ । सफलताको शिखरसम्म पुग्नेहरु पनि इच्छा र चाहनाभन्दा बाध्यता र आवश्यकता अनुसार चल्ने गर्दछन् । त्यही मध्येका एक हुन् डा.शालिकराम पोखरेल । सानैदेखि उनको चाहना अरु नै थियो । तर बाध्यताले बैंकिङ् क्षेत्रमा आउनुप¥यो । बुवाको वियोगले इन्जिनियर बन्ने चाहनालाई बाध्यताले छेकबार गरिदियो । बरु कक्षा १२ मा अध्ययन गर्दागर्दै जागिरमा होमिए । तर उनी हारेनन् । अन्ततः बैंकिङ क्षेत्रमै आफूलाई अब्बल सावित गरे । प्रस्तुत छ, हाल राष्ट्र बैंकको प्रादेशिक कार्यालय सुर्खेतमा कार्यालय प्रमुखको रुपमा कार्यरत पोखरेलको जीवन भोगाइ र जागिरको अनुभवबारे गरिएको कुराकानीको सम्पादित अंश

सानैदेखि मेहनत

शालिकराम बुवा तुलसीप्रसाद र आमा प्रेमकला पोखरेलका पहिलो सन्तान हुन् । कपिलवस्तुको तत्कालिन जहदी गाविस वडा नं. ८ मा २०३० साल चैत २८ गते उनको जन्म भएको हो । किसान परिवारमा जन्मिएका उनी सानैदेखि मेहनति थिए । ‘परिवारको आर्थिक अवस्था मजबुत थिएन, तर म सानैदेखि मेहनति थिएँ’ उनी भन्छन्, ‘अभावकै कारण आमाबुवाले सिकाउनु भयो ।’ पढाइमा उनी सानैदेखि अब्बल थिए । माध्यमिक शिक्षासम्म सधै विद्यालय प्रथम हुन्थे । दुईपटक जिल्ला प्रथम पनि भए । ऊबेला कक्षा ५ र ८ मा जिल्ला स्तरीय परीक्षा हुन्थ्यो । ‘कक्षा ५ र ८ मा जिल्ला प्रथम भएको थिएँ, तर एसएलसीमा जिल्ला दोस्रो भएँ’ उनी भन्छन्, ‘जिल्ला प्रथम हुँदा स्कुलमा मेरो खुब चर्चा हुन्थ्यो ।’ गाउँकै स्कूलमा प्रारम्भिक शिक्षा अध्ययन गरेका उनले कक्षा ६ देखि ८ सम्म जगदीसपुर माविमा श्रीनगरबाट पुरा गरेका हुन् ।
पढाइलाई राम्रो बनाउन गाउँ नजिकैको स्कूल छोडेर कक्षा ८ देखि एसएलसीसम्म श्रीराम गोरखा माध्यमिक विद्यालय बहादुरगंजमा पुगे । २०४७ सालमा एसएलसी उत्तिर्ण गरे । त्रिभूवन क्याम्पस पाल्पाको तानसेनबाट आइएसी, महेन्द्र बहुमखी क्याम्पसबाट व्यवस्थापन विषयमा ब्याचलर, त्रिभूवन विश्वविद्यालयबाट स्नातकोत्तर र एमफील गरे । त्रिभूवन विश्वविद्यालय र ढाँका विश्वविद्यालय बंगलादेशबाट संयुक्तरुपमा उनले अर्थशास्त्र विषयमा पीएचडी गरेका छन् । पीएचडीका लागि त्रिभूवन विश्वविद्यालयमा भर्ना भए पनि ढाँका विश्वविद्यालयका प्रोफेसरको गाइडलाइनममा बंगलादेशबाट पढाइलाई पुरा गरेका हुन् । एमफील र पीएचडी गर्दा उनले राष्ट्र बैंकको छात्रवृत्तिसमेत प्राप्त गरेका थिए ।

साथीहरुलाई छक्याएर पढ्थे

शालिकराम पढाइमा सधै अब्बल थिए । तर साथीहरु उनी कसरी अध्ययन गर्छन् भनेर बारम्बार नियाल्ने गर्थे । पढाइलाई थप राम्रो बनाउन उनी कक्षा ९ र १० मा होष्टेल बसेका थिए । होष्टेलमा बस्दा साथीहरुले कसरी पढ्छ भनेर बारम्बार चिहाउने गर्थे । तर उनले पढाइको बारेमा साथीहरुलाई कहिलै थाहा दिन्थेनन् । ‘कतिबेलासम्म पढ्छ भने प्रत्येक साँझ लुकेर साथीहरु हेर्न आउँथे’ उनी भन्छन्, ‘तर म साथीहरुलाई झुक्याउँन खाना खाने वित्तिकै सुतिहाल्थेँ, राति उठेर पढ्थे र विहान अबेरसम्म सुत्थे ।’ साथीहरु सुतीसकेपछि १२ बजेदेखि विहान ४ बजेसम्म पढ्थँे । साथीहरु उठ्ने समयमा भने पुनः सुत्ने गर्थे । उनको यो दैनिकी कसैले थाहा पाउँथेनन् । कतिपयले उनलाई पढ्दै नपढेर पनि तगडा छ भन्ने गर्थे । पढाइका अलवा उनी हाँजिरीजवाफ, बक्तित्वकला, निबन्ध जस्ता अतिरित्त क्रियाकलापमा पनि सक्रिय सहभागी हुन्थे ।

इन्जिनियर बन्ने रहरमै सिमित

शालिकरामको इन्जिनियर बन्ने सपना सानैदेखिको हो । उनी बुझ्ने भएदेखि नै इन्जिनियर बनेर देशको सेवा गर्नुपर्छ भन्ने सोच्थे । ‘मलाइ इन्जिनियर सबैभन्दा प्रतिष्ठित पेशा लाग्थ्यो, इन्जिनियर बन्नकै लागि ११, १२ साइन्स विषय पढेको थिएँ’ उनी भन्छन्, ‘तर बाध्यताले मलाई इन्जिनियर बन्न दिएन ।’ कक्षा १२ को परीक्षा नजिकिदै गर्दा बुवा विरामी भए । केही महिनापछि उनले बुवालाई गुमाउनु प¥यो । त्यसपछि उनको इन्जिनियर बन्ने सपना पनि सेलायो । ‘आर्थिक अवस्था राम्रो भएको भएको भए सायद म इन्जिनियर नै बन्थे होला’ उनी भन्छन्, ‘बुवाको मृत्युपछि घरखर्च चलाउन जागिर खानुपर्ने बाधयता भयो ।’ रुचि नहुँदानहुँदै जागिर खाएको उनको भनाइ छ । आर्थिक अभावका कारण आइएसी पढ्दै गर्दा उनले आफुभन्दा तल्लो तहका विद्यार्थीहरुलाई ट्युशन पढाएर खर्च चलाउँथे ।

लेखापालभन्दा सहायक पद रोजे

बुवाको मृत्युपछि शालिकरामले कुनै न कुनै ठाउँमा जागिर खानुपर्ने बाध्यता थियो । जागिर गर्न नसके आमा र बहिनीका आवश्यकता र घर खर्च चलाउन सम्भव थिएन । त्यही भएर उनले इन्जिनियर बन्न सपना त्यागेर जागिरको खोजीमा लागे । तर पढाइमा अब्बल भएका उनले जागिरका लागि खासै मेहनत नै गर्नु परेन । बरु एकैपटक धेरै ठाउँमा नाम निस्कीयो । परीक्षा दिएका जति कार्यालयमा नाम निस्कदा कुन कार्यालयको जागिर खाने भनेर छनौट गर्न धेरै सोच्नुप¥यो । २०५३ सालमा उनले राष्ट्र बैंक, खाद्य संस्थान, नेपाल विद्युत प्राधिकरण र गाविस सचिवमा परीक्षा दिएका थिए । संयोग नै भनौ परीक्षा दिएका सबै पदमा उनी सफल भए । तर सबै ठाउँमा जागिर खान सम्भव थिएन । अनी अग्रजहरुसँग सल्लाह मागे र नेपाल राष्ट्र बैकलाई आफ्नो कर्म थलो बनाए । नेपाल राष्ट्र बैंकको जागिरको लागि उनले एक तह माथिको पद नै त्यागीदिए । नेपाल विद्युत प्राधिकरणको लेखापाल पाँचौँ तह छोडेर उनले राष्ट्र बैंकको सहायक पद चौँथो तह रोजे । ‘अन्य कार्यालयभन्दा राष्ट्र बैंक सबैभन्दा प्रतिष्ठित संस्था लाग्यो’ उनी भन्छन्, ‘नेपालगञ्जमा बसेर पढाइ र जागिर दुबै गर्न सकिने भएपछि पाँचौँ तहको जागिर नखाएर चौथो तह रोजेको हुँ ।’ राष्ट्र बैंकमै करियर बनाउने उनले ब्याचलरदेखि व्यवस्थापन विषयको अध्ययन गरे ।

सहायकदेखि उपनिर्देशकसम्म

शालिकरामले राष्ट्र बैंकको सहायक पदबाट जागिर सुरुवात गरेका हुन् । २०५३ सालमा राष्ट्र बैंक नेपालगञ्ज कार्यालयबाट सेवा प्रवेश गरेका नेपालगञ्जमा लामो समय विताए । २०६८ सालमा सहायक निर्देशक पदमा सफल भएपछि केन्द्रिय कार्यालयको अनुसन्धान विभागमा काम गरे । पुनः २०७५ सालमा उपनिर्देशक पदमा सफल भए । २०७६ कात्तिकदेखि उनले नेपाल राष्ट्रय बैंक प्रादेशिक कार्यालय सुर्खेतको नेतृत्व गरिरहेका छन् । सहायक निर्देशक हुँदा एक नम्बरमा छनौट भएपछि नेपालको मौद्रिक नीति निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारी पाए ।

अर्थतन्त्रका जानकार

बाध्यताले राष्ट्र बैंकको जागिर खाएका शालिकराम नेपालका अर्थविज्ञ हुन् । सुरुमा पेशागत ज्ञानका लागि व्यवस्थापन विषय अध्ययन गरे उनले । विश्वका २६ भन्दाबढी देशहरुमा आफ्नो विज्ञता बाँढ्ने अवसर पाएका छन् । नेपालको तर्फबाट विभिन्न देशमा हुने आर्थिक गतिविधि र अर्थसँग सरोकार राख्ने ४० वटा सेमिनारहरुले अनुसन्धान प्रस्तुत गर्ने मौका पाएका छन् । यो अवसर कमै व्यक्तिलाई मात्रै प्राप्त हुन्छ । तत्कालिन राष्ट्र बैंकका गर्भनर निवर्तमान अर्थमन्त्री युवराज खतिवडासँग काम गरेका उनी लघुविद्य क्षेत्रमा विशेष दख्खल राख्छन् । गरिवी निवारणका लागि लद्युविद्य प्रमुख औजार बन्न सक्ने उनको बुझाइ छ । विश्वका आर्थिक संघसंगठन, बैंक तथा वित्तिय क्षेत्र र विश्वविद्यालय लगायतका अर्थतन्त्रसँगको अनुसन्धानमूललाई अहिले पनि निरन्तरता दिँदै आएका छन् ।

तपाईको प्रतिक्रिया