पहिलो नजरमै घरबार जोड्न राजी

गीता थापा ।

दुई अक्षरको मायाले संसार जितेको छ । माया चाहेर वा नचाहेर हुन्छ । आखिर कसैलाई माया गर्छु भनेर गर्ने चिज पनि होइन । माया त आफै हुन्छ । कसैलाई देख्ने वित्तिकै पहिलो नजरमै माया बस्छ । कतिपयको बानी व्यवहार जानेपछि माया बस्छ । यस्तै मध्येका देख्ने वित्तिकै माया गर्ने जोडी हुन् टेकेन्द्र महतरा र गीता तिमिल्सेना । यो जोडीले एक अर्कालाई देख्ने वित्तिकै मन पराएका थिए । भनिन्छ नी, ‘जन्म, मृत्यु र विवाह भगवान्ले नै तय गरेका हुन्छन् ।’ हो, यो जोडी पनि भगवान्ले नै बनाएका हुन् । त्यसैले त उनीहरुको आपसमा देख्ने वित्तिकै माया बस्यो । अनि घरबार भयो ।

टेकेन्द्र विहे गर्छु भन्दै घरबाट निस्किए

साथीहरूको लहलहीमा लागेर घरबाट विहे गर्छु भन्दै टेकेन्द्र घरबाट निस्किए । १९ वर्षको अल्लारे उमेरमै विहे गर्छु भन्दै घरबाट निस्कदा परिवारले भने पत्याएका थिएनन् । घरको सहमति पनि थिएन । जबरजस्ती घरबाट विहे नै गर्छु भन्दै निस्किएका उनी दैलेखको बेपाटामा पुगे । पुसको महिना थियो । उनले कुनै केटी हेरेका थिएनन् । तर, पनि जसरी हुन्छ विहे गरेर फर्कने सोचले घरबाट निस्किए । उनी बाल्यकालदेखि नै जे काम गर्छु भन्थे त्यो काम गरेर देखाउँथे । झुट कहिल्यै बोल्दैनथे । तर, यस पटक भने घरमा छोराले विवाह गरेर ल्याउन सक्दैन, झुटो बोल्यो भन्ने ठानेका थिए ।
महतरा केटी हेर्न बेलपाटाको स्कुलमा पुगे । त्यो स्कुलमा धेरै केटीहरू थिए । उनको नजर भने एउटी युवतीमा पर्न गयो । के देखेर उनले ती युवतीलाई एकै नजरमा मन पराए, उनलाई नै पत्तो भएन । उनी भन्छन्, ‘सयौं युवतीहरू थिए, उनमा नै गएर नजर रोकियो । किन मलाइ नै थाहा भएन ।’ गहुँ गोरो वर्णकी ती युवतीमा के थियो, जुन टेकेन्द्रलाई एकै नजरमा तान्यो । टेकेन्द्रले अहिले पनि पत्तो लगाउन सकेका छैनन् । उनी भन्छन्, ‘खै उनमा के थियो, त्यस्तो अझै थाहा पाएको छैन । भगवानले जुराएको र लेखेको पाइन्छ भन्थे । मेरो भाग्यमा उनी लेखेर नै उनी मलाइ मन परेको होला ।’ उनले एक नजरमा मन पराएको युवती अरु कोही नभएर उनै गीता तिमिल्सेना थिइन् ।

केही घण्टामै विहेको प्रस्ताव

गीता त्यतिबेला कक्षा दशमा पढ्दै थिइन् । टेकेन्द्रले उनीसँग परिचय गरे । टेकेन्द्र नयाँ साथी बनाउन अघि सरिहाल्थे । गीतासँग पनि उनी छोटो समयमा नै घुलमिल भए । एक–दुई घण्टा कुरा गरेलगत्तै उनले गीतालाई मन पराएको कुरा उनलाई राखे । तत्कालै विवाहको लागि समेत प्रस्ताव गरे । उक्त प्रस्ताव सुनेर सुरुमा त गीता अलमलमा परिन् । टेकेन्द्रका साथीहरूले पनि गीतालाई सम्झाए । टेकेन्द्र पढेलेखेका थिए । उनी पढाइमा अब्बल थिए । कक्षामा सधैं प्रथम हुन्थे । साथीभाइको सुझावपछि गीतालाई पनि टेकेन्द्र आफ्नो लागि उपयुक्त लाग्यो ।

उनले सोचिन् ‘यतिको पढेको केटा भएपछि जिन्दगी राम्रोसँग नै चल्छ ।’ त्यसैले उनले टेकेन्द्रको विवाह प्रस्तावलाई स्वीकार गरिन् । त्यतिबेला गीताले टेकेन्द्रको मन र रूपमा हेरिनन् । उनले टेकेन्द्रको केवल पढाइ र उनको क्षमता हेरेर विहेको लागि हुन्छ भन्दै घरमा कुरा गर्न पठाइन् । टेकेन्द्र एक्लै गीताको घरमा गए । उनका बुवाआमासँग विवाहको कुरा गरे । गीताको घरपरिवारले पनि छोरीले नै मन पराई सकेपछि हुन्छ भन्ने उत्तर दिए । त्यसपछि टेकेन्द्रको खुशीको सीमा नै रहेन । विवाह गर्छु भनेर घरबाट निस्किएको एघार दिनमा गीता विहेको लागि राजी भइन् ।

गीताको घरपरिवारको सहमतिमा र गाउँलेको नजरमा उनीहरूले वि.सं. २०६० सालमा भागी विवाह गरे । टेकेन्द्रले विवाह गर्नुको उद्देश्य अलि फरक थियो । घरमा आमा एक्लै भएका कारण उनले आफूले विवाह गरेर श्रीमतीलाई घरमा छोडेर आफू निर्धक्कसँग काठमाडांै पढ्न पाउँछु भन्ने उद्देश्य थियो । छोरा घरबाट निस्किएको एघार दिनमा बुहारी लिएर आउँदा टेकेन्द्रको घरपरिवार एक छिन् त चकित नै परेका थिए । छोराले ठट्टा गरेको होला भन्ने सोचेका उनका घरपरिवार बुहारी देख्दा चकित त पर्ने नै भए । टेकेन्द्रको ठूलो परिवार थियो । तर, घरमा काम गर्ने भने कोही थिएनन् । उनका दाइ भाउजु दुवै जागिरे भएको हुँदा घरमा आमाले मात्र काम गर्नुपर्ने भएकाले उनले विहे गर्ने निधो गरेका थिए ।

सुखद् बाल्यकाल

पिता हरिलाल महतरा र माता डम्मरकुमारी महतराको कोखबाट २०४१ सालमा गोगनपानी दैलेखमा जन्मिएका टेकेन्द्र महतराको बाल्यकाल रमाइलोसँग बित्यो । घरको कान्छो छोरा अरु सन्तानलेभन्दा उनले बढी सेवा सुविधा पनि पाए । पढाइमा सधंै प्रथम हुने महतरा बाल्यकालमा लजालु स्वभावका थिए । विद्यालयमा सधैं इमान्दारिताको पुरस्कार पनि पाउँथे । शान्त स्वभाव थियो । उनी बाल्यकालदेखि नै नयाँ–नयाँ काममा निकै उत्सुकताका साथ ध्यान दिन्थे । यतिसम्म कि नयाँ रेडियो फुटालेर फेरि त्यसैलाई नयाँ बनाउँथे । एसएलसी पार्वती मावि गोगनपानीबाट पास गरेका महतराले कक्षा १२ भने वीरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेतबाट उर्तिण गरे । उनले काठमाडौंको महेन्द्ररत्न क्याम्पस काठमाडौंबाट स्नातकोत्तर पास गरे । उनले एमए त्रिचन्द्र कलेजबाट पास गरेका हुन् । समाजशास्त्र र कानुन गरी दुई वटा विषयमा स्नातकोत्तर गरे । अहिले उनी बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसमा उप–प्राध्यापकको रूपमा कार्यरत छन् ।


यस्तै, पिता ज्ञानबहादुर तिमिल्सेना र माता मनकुमारी तिमिल्सेनाको कोखबाट वि.सं. २०४१ सालमा बेलपाटा दैलेखमा जन्मिएकी गीताको बाल्यकाल पनि रमाइलोसँग नै बित्यो । गीता बाल्यकालमा गाउँभरीका बालबालिकालाई जम्मा पारेर उनीहरूसँग खेल्ने र उनीहरूलाई सजाय दिने गर्थिन् । घरको काममा भन्दा पनि बढी उनी बच्चाहरूसँग धेरै रमाउँथिन् । बाल्यकालमा उनी अनुशासित र नरिसाउने स्वभावको थिइन् ।

विवाहपछि पढाइमा सहज

विवाहपछि गीता घरमा बसिन् । टेकेन्द्र पढ्न काठमाडौं गए । गीताले घर धान्ने र टेकेन्द्र काठमाडौंमा बसेर पढ्न थाले । त्यस समयमा उनी काठमाडौंमा बीएड पढ्दै थिए । गीतालाई विश्वास थियो की दुख पछि सुख अवश्य आउँछ । त्यही विश्वासका साथ उनी घरव्यवहार जिम्मेवारीपूर्ण तरीकाले सम्मालिन् । विवाहपछिसँगै श्रीमान् टाढा नजाओस्, सधै आफ्नै आँखाको अगाडी भइराखोस् भन्ने आश सबै श्रीमतीको हुन्छ । गीताको पनि थियो होला । तर, उनले बाहिर व्यक्त गर्न सकिनन् । कीनकी टेकेन्द्र पढ्दै थिए । पढाइ सकेर जागिर खाएपछि सुखका दिनको पखाइमा थिइन् गीता ।

श्रीमान्प्रति गीताको विश्वास

श्रीमान् पढ्न काठमाडौं गएपछि गीताले घरमा धेरै संघर्ष गरिन् । गाउँलेले गीतालाई नानाथरी कुरा सुनाउँथे । उनले भनिन्, ‘मलाइ गाउँलेले तेरो श्रीमान् त काठमाडौं बस्छ, अब उतै विहे गर्छ । तँलाई धोका दिन्छ जस्ता कुरा सुनाउँथे, तर मैले कहिल्यै गाउँलेको कुरा सुनिन ।’ उनलाई टकेन्द्रप्रति विश्वास थियो । पढाइ सकेपछि राम्रो जागिर खाने र सुखसँग पाल्ने कुरामा । गीताले ६ वर्ष घरमा बसेर संघर्ष गरिन् । टेकेन्द्रको पढाइ सकिएपछि उनले कोहलपुरमा जागिर गर्न थाले । जागिर गर्न थालेपछि गीता पनि उतै गइन् । दुःख र मेहेनत गरेपछि सुख पाइन्छ भन्ने कुरा सही रहेछ जस्तो लाग्छ गीतालाई अहिले । बिहे गर्दा एसएलसी दिएकी गीताले बीचमा ६ वर्ष पढाइ छोडिन् । टेकेन्द्रले गीतालाई कोहलपुरमा लगेर फेरि पढ्ने हौसला दिए । दुई छोराछोरी जन्मिसकेपछि गीताले स्नातक उत्तीर्ण गरिन् । अहिले टेकेन्द्र मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्यापस बागेश्वरी बहुमुखी क्याम्पसमा उप–प्राध्यापक छन् भने गीता व्यवसाय गर्छिन् ।

जन्मदिन सँगै मनाउँछन्

यो जोडी कहिलेकाहीं श्रीमान् श्रीमती बीचमा झगडा नभए सम्बन्ध बलियो नहुने बताउँछन् । उनीहरू भन्छन्, ‘श्रीमान्–श्रीमती भएपछि एकअर्काेमा कहिलेकाही सामान्य झगडा भयो भने एकअर्काेको कमीकमजोरी बाहिर आउँछन् र त्यसलाई सुधार गरेर अगाडि बढ्दा सम्बन्ध दिगो हुन्छ ।’ श्रीमान्–श्रीमती दुवै जना सक्षम भएको जोडीमा कहिले फाटो नहुने उनीहरूको भनाइ छ । यो जोडीका अनुसार दाम्पत्य सम्बन्धलाई दिगो बनाउनका लागि एक अर्काेप्रतिको विश्वास हुनु पर्दछ । यो जोडी एकअर्काेको जन्मदिन र विवाह वर्ष आउदासँगै हुँदा सँगै मनाउने गर्छन् । सँगै नहुँदा फेसबुक र फोनमार्फत् एकअर्काेलाई शुभकामना दिने गर्छन् ।

एकअर्काको प्रशंसा

टेकेन्द्रलाई गीताको सहनशिलता, काम गर्दा नआतिने र धर्यता गर्न सक्ने बानी मन पर्ने गर्छ । उनले भने, ‘जहाँ गए पनि विश्वास गरेर मलाई स्वतन्त्रता दिने उनको बानी मन पर्छ ।’ त्यस्तै गीतालाई टेकेन्द्रको कहिलेकाहीं अलि छिटो रिसाउने बानी भने हटाइ दिएको भए हुन्थ्यो जस्तो लाग्ने गर्छ । गीतालाई टेकेन्द्रको जुनसुकै काम पनि सहज रुपमा सम्पन्न गर्ने बानी मन पर्छ । टेकेन्द्रको सक्षम र क्षमतावान बानी पनि मनपर्ने गर्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार