अधिवक्ता बन्न चाहान्थेँ तर सहकारीमा होमिएँ

कुनै पनि काम तथा पेशामा सफल हुन मेहेनत र परिश्रम चाहिन्छ । मान्छेले देखेका सबै सपनापुरा त हुँदैनन् । तर, लागेको काममा आत्मविश्वास, मेहेनत र परिश्रम गरे अवश्य सफल भइन्छ । यस्तै मेहेनत र परिश्रम गरेर सफल भएका व्यक्ति हुन् युवराज बस्नेत । उनको रुची त अधिवक्ता बन्ने थियो । तर, उनी सहकारीमा आवद्ध भए । सहकारीमा आवद्ध भएपछि उनले मनैदेखि गरेको मेहेनत र परिश्रमका कारण आज प्राइम बहुउद्देश्यीय सहकारी संस्थामा प्रबन्धकको रुपमा छन् । यसपालीको जम्काभेटमा उनै बस्नेतसँग हाम्रा सहकर्मी गीता थापाले कुराकानी गरेकी छन् । प्रस्तुत छ, कुराकानीको सांराशः

बाल्यकालमा पारिवारिक रमाइलो

सुर्खेतको सिम्ता गाउँपालिकाको बजेडीचौरमा २०३२ सालमा जन्मिएका युवराज बस्नेतको बाल्यकाल सामान्य नै वित्यो । सामान्य परिवारमा जन्मिएका उनी सानै उमेरदेखि घरको काममा बुवाआमालाई सघाउने गर्थे । उनका बुवा राजनिती र आमा खेती किसानी गर्थिन् । परिवारमा सबै जना मिलेर घरको काम गर्थे । बस्नेतलाई बाल्यकालमा गाडी कस्तो हुन्छ होला भन्ने लाग्थ्यो । त्यस समयमा गाउँमा बाटो पुगि सकेको थिएन । बाटो नै नभएपछि गाडी देख्ने कुरा त धेरै परको थियो उनका लागि । वीरेन्द्रनगर आउँदा हिँडेरै आउनु पथ्र्याे । वीरेन्द्रनगर आउनै दुईदिन लाग्थ्यो । उनका बुवा राजनीतिमा लागेकोले वीरेन्द्रनगर आउने जाने भइरहन्थ्यो । बस्नेतले बुवाबाट धेरै कुरा पनि सिके । परिवार ठुलो भएकाले घरमा रमाइलो वातावरण हुन्थ्यो । बस्नेत घरका साइँला छोरा हुन् । दुई दाई पछिका साइला छोरा बस्नेत हुन् भने उनीपछि दुई भाई छन् । एक दिदी र एक बहिनी पनि छन् ।

चार बर्षको उमेरमा स्कुलमा भर्ना

बस्नेत चार वर्षको उमेरमा विद्यालय गएका हुन् । त्यससमयमा बोर्डिङ स्कुलहरु खुलेका थिएनन् । सरकारी स्कुलमा सानै उमेरमा पढ्न पठाउँदैनथे । उमेर बढी नै भएपछि मात्र विद्यालय पढ्न पठाउने चलन थियो । तर, बस्नेत भने विद्यालय नजिकै भएका कारण चार वर्षको उमेरमा पढ्न पाए । घर नजिकै रहेको भानु माविमा उनले कक्षा १ देखि पाँचसम्म पढे । त्यससमयमा विद्यालयहरु पनि व्यवस्थित हुन्थेनन् । स्कुलको भवन त ठुलै थियो । तर अव्यवस्थित थियो । नजिकै रहेको अर्काे भवनमा कक्षा १० सम्म पढाइ हुन्थ्यो । उनले एसएलसी २०४८ सालमा उक्त विद्यालयबाट उर्तिण गरेका हुन् । एसएलसी पास भएपछि बल्ल उनी वीरेन्द्रनगर आए । उनले कक्षा ११ र १२ वीरेन्द्रनगर बहुमुखी क्यापसबाट गरेका हुन् । पछि काठमाडौं गए । उनले कानुन विषय पढ्ने विचार गरे । काठमाडौंको ल क्यापसमा भर्ना भएर पढे पनि । उनले कानुन पढेर सकेपछि फेरी सुर्खेत फर्किए ।

सहकारीमा सफलता

उनी काठमाडौं बस्दा उनका दाईले प्राइम बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरेका थिए । दाई सहकारीमा आवद्ध भएका कारण उनी पनि सहकारी सञ्चालन गर्नु पर्छ भन्ने सोचमा पुगे । २५ जनाको समुह बनाएर सुर्खेतको वीरेन्द्रनगरमा २०५७ साल जेठ महिनाको १२ गते प्राइम बहुउद्देश्यीय सहकारी संस्था सञ्चालन गरे । सहकारीको सुरुवातमा २५ जना शेयर सदस्य थिए । वीरेन्द्रनगरलाई कार्य क्षेत्र बनाएर उनीहरुले सहकारी सञ्चालन गरेका थिए । त्यससमयमा एकलाख २५ हजार मात्र शेयरपूँजी थियो । सहकारी दर्ता गरेर सञ्चालनमा सुरुवाती दिनमा अलि गाह्रो नै भयो । शेयर सदस्य बनाउनु, ऋण लगानी गर्नु चुनौती नै थियो । तर पनि ती चुनौतीलाई पार लगाउँदै बस्नेत लगायतको टिम सफल भयो । सहकारीमा अहिले दुई हजार पाँच सय शेयर सदस्य छन् । हाल सहकारीको ११ करोड शेयर पूँजी छ । दुई अर्बको आर्थिक कारोवार भएको छ । सुरुवाती दिनमा चुनौती धेरै भए पनि अहिले सहकारीले राम्रो सफलता हात पारेको छ । सहकारीको अहिले भेरीगंगा नगरपालिकाको जहरेमा दोस्रो शाखासमेत सञ्चालनमा छ । यतिमात्र होइन, सहकारीलाई अब कर्णाली प्रदेशको १० वटै जिल्लामा पुरयाउने सहकारीको उद्देश्य छ ।

सहकारीमै सुन्तष्टी

बस्नेतले काठमाडौंको ल क्यापसबाट कानुन पढेका हुन् । उनको रुची थियो कानुन पढेर अधिवक्ता अथवा कानुन अधिकृत बन्ने । तर, ‘सोचे झै जीन्दगी रैनछ…’ भन्ने खेम सेन्चुरीको गीत जस्तै बस्नेतको जीवनमा पनि सोचे झै भएन । अधिवक्ता बन्न लाइसेन्ससमेत पाएका उनी सहकारीमा होमिए । त्यससमयमा गाउँघरमा ४/५ प्रतिशतले ब्याजमा ऋण लगानी हुन्थ्यो । मंहगो ब्याजमा ऋणको कारोरवारलाई देखेपछि उनले सहकारी सञ्चालन गरेर सहुलियतमा शिक्षा, स्वास्थ्य र कृषिमा लगानी गर्न सके समाजको गरिवी हटाउन मद्दत पुग्ने देखे र सहकारी सञ्चालनमा लागे । उनी भन्छन्, ‘त्यससमयमा महँगो ब्याजमा पनि ऋण लगेको देखेर आफ्नै समाजमा सहकारी सञ्चालन गर्नुपर्छ भन्ने सोच आयो । फेरी दाईले पनि सहकारी नै सञ्चालन गर्नुभएको थियो, त्यसैले सहकारीमा आवद्ध भएको हुँ ।’ उनका अन्य सबै भाईबहिनी सरकारी सेवामा छन् । उनी मात्र हुन् जो सहकारीमा आवद्ध छन् । उनलाई अहिले आफुप्रति नै गर्व लाग्नेगर्छ । त्यससमयमा सहकारी रोजेर गल्ती गरे भन्ने उनलाई लाग्दैन । आफ्नै समाजमा सस्तो ब्याजमा ऋण लगानी गर्ने, समस्यामा परेकालाई सहयोग गर्न पाउँदा उनलाई सुखी लाग्छ । उनी अहिले सहकारीको प्रबन्धक भएरका काम गरिरहेका छन् । उनी सहकारीमा लागेर आत्मसन्तुष्टी पनि छन् ।


संयुक्त परिवार

बस्नेतको सफल हुनुमा श्रीमती र घरपरिवारको हात पनि छ । घरपरिवारको साथ र सहयोगविना कोही पनि व्यक्ति सफल हुन सक्दैन । बस्नेत सफल हुनुमा पनि घरपरिवार र श्रीमतस्को साथ र सहयोग नै हो । बस्नेतको परिवार अहिले संयुक्त परिवार हो । बुवाआमा नभए पनि उनीहरु सबै दाजुभाई एउटै घरमा बस्छन् । सबै दाजुभाई सरकारी सेवामा छन् भने बस्नेत सहकारीमा । सबै परिवार मिलेर बसेका छन् । उनी भन्छन्, ‘बुवाआमा नभए पनि हामी सबै दाजुभाई एकै घरमा सँगै बसेका छौ, एकदमै सुखी पनि छौं ।’

प्रदेशभर शाखा विस्तार गर्ने योजना

हाम्रो सहकारीको अबको मुख्य योजना भनेको कर्णाली प्रदेशको दश वटै जिल्लामा शाखा विस्तार गर्ने नै हो । कोरोना महामारीले गर्दा अहिले कार्यक्षेत्र विस्तारको काम रोकिएको छ । वातावरण सहज भए लगत्तै हामी कार्यक्षेत्र विस्तारलाई अगाडी बढाउने छौं । अर्काे कुरा अहिले सहकारी भाडाको घरमा छ । हामीले जग्गा पनि किनिसकेका छांै । योवर्ष भित्रै हामी सहकारीको आफ्नै भवन बनाउँदै छौं । साथै सहकारीको डिपार्टमेण्टल स्टोर पनि सञ्चालन गर्ने योजना छ । हामीले शेयर सदस्यहरुलाई विभिन्न प्रकारका सेवा सुविधाहरु दिँदै आइरहेका छौं । यसलाई बढाउने तयारीमा पनि छौं । अहिले हामीले शेयर सदस्यहरुको मृत्यु भएमा तत्काल मृत्यु राहत भनेर ३० हजार रुपैयाँ उपलब्ध गराउँदै आएका छौं । त्यस्तै विशेष गरेर महिला शेयर सदस्यहरुलाई सुत्केरी हुँदा दुई पटकसम्म पाँच/पाँच हजार सहयोग गर्दै आएका छांै । प्रत्येक वर्ष शेयर सदस्यका छोराछोरीलाई एसइई र कक्षा ११ र १२ मा उत्कृष्ट अंक ल्याउनेलाई पुरस्कृत गर्ने गरेका छौं । अपाङ्गता भएकाहरुलाई क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएका छौ र आगामी दिनमा पनि गर्नेछौं ।

अन्तमा 

आफू संलग्न भएको पेशा वा व्यवसायमा धर्य भएर लागे सफल हुन सकिन्छ । तर त्यो सफलता हाँसिल गर्नका लागि आफु आवद्ध भएको कामप्रति निरन्तर रुपमा लाग्न सक्ने धर्यताको खाँचो भने हुनु पर्दछ । धर्यता र मिहेनतलाई आत्मसाथ गर्दै अघि बढ्ने जो कोही व्यक्तिले पनि सफल हुन्छन् । परिवारको राम्रो साथले हरेक मानिसको जीवन सफल हुन्छ भन्छन खर्च कटौती कसरी गर्ने, बचत कसरी गर्ने, नियमित बचतको महत्व के हो । थोरै थोरै गर्दै गरेको बचत भोली कति पुग्न सक्छ भनेर सदस्यलाई सिकाउँछु बुझाउँछु । बैंक र सहकारीको सेवामा बीच के फरक छ भन्ने कुरा सिकाउँछु । विभिन्न सहकारीहरुको अवलोकन गर्छु । नयाँ नयाँ सिक्छु । जानेको कुरा सिकाउँछु । धेरै सदस्यहरुलाई आत्मनिर्भर बनाएको छु । धेरै सन्तुष्टि र अलिकती नाम कमाएको छु । धेरैजनाको विश्वास र माया कमाएको छु ।

आज हाम्रो देश कोभिड–१९ को महामारीमा परेको छ । सबै नेपाली लकडाउनमा घरमै थुनिएको छौं । टाढा जाने अवस्था छैन । यस्तो बेलामा सहकारीले घरैमा पैसा ल्याईदिन्छ । आफुले बचत गरेको पैसा घरमै पाउँदाको खुशी कस्तो हुन्छ र सहकारी क्षेत्र के रहेछ त भन्ने कुरा बल्ल यो लकडाउनको समयमा बुझाए । उहाँहरुको हेराई बदलियो । सोचाई बदलियो । विचार बदलियो । म खुसी छु । अहिलेको जटिल समयमा सहकारी मार्फत समुदायमा खटेर काम गरेको छु । आफ्ना सदस्यहरुलाई सेवा गरिरहेका छौं ।

संचालक समितिका सदस्यहरु, लेखा सुपरिवेक्षण समितिका सदस्यहरु विभिन्न उप समितिका सदस्यहरु सम्पूर्ण शेयरहरु लगायतको म प्रतिको गरेको विश्वास कर्मचारी साथीहरुको ईमानदारिता, लगनशीलता अथक मेहेनत र सहयोगले आज हामी यो अवस्थामा पुग्न सफल भएकाछाै‌ । म सम्पूर्ण टीमलाई उच्च सम्मानका साथ कदर गर्दछु सम्पूर्ण शेयर सदस्यहरुको खूसी, सूखी र सम्वृद्ध जीवनको कामना गर्दछु ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार