दैलेख, १५ असोज ।
दुल्लु नगरपालिकाका व्यापारी तथा स्थानीयले विभिन्न काममा निर्माण कम्पनीलाई उपलब्ध गराएको नगद र जिन्सी सामानवापतको ४० लाख नपाएको भन्दै डोजर कब्जा गरेका छन् । तीन वर्षदेखि हिमाल कन्स्ट्रक्सनले दुल्लुका विभिन्न स्थानमा काम गर्दा व्यापारीबाट ४० लाख रकम लिए पनि माग गर्दा नदिएपछि कब्जा गर्नु परेको व्यापारीहरु बताउँछन् ।
काम सकेर सबै हरहिसाब राफसाफ गर्ने भने पनि रातारात डोजर अन्तै लैजान थालेपछि बाध्य भएर कब्जा गर्नु परेको स्थानीय व्यापारीको दाबी छ । व्यापारीहरुले डोजरका मेसिन झिकेर लैजान लागेको जानकारी इलाका प्रहरी हुँदै इलाका प्रशासन कार्यालयमा समेत दिइएको बताए ।सवारीधनी खगेन्द्र शाहीले तिर्नुपर्ने रकमको कागजात गरे मात्र डोजर चलाउन दिने अडानमा स्थानीय छन् ।
व्यापारीलाई साथ दिएका सर्वसाधारणले डोजर कब्जा गरेपछि चालकले नियतवश ब्याट्री पड्काएको आरोप स्थानीय काशीराम खड्काले लगाए । घटनाले उग्र रुप लिएपछि दुल्लु प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । स्थानीय प्रशासन, पीडित व्यक्तिहरु र सवारीधनीसँग समन्वय गरेर सहजीकरण हुन नसके दुवै पक्ष आ–आफ्नो अडानमा अदालती प्रक्रिया वा अन्य प्रक्रियामा जान सक्ने दुल्लु प्रहरीले जानकारी दिएको छ ।
युग संवाददाता । । १५ आश्विन २०७७, बिहीबार ११:४३