बजेट कार्यान्वयनमा प्रदेश सरकार गम्भिर बन्नुपर्छ

कर्णाली प्रदेशमा हिजोआज संसदको अधिवेशन चलेको छैन । संसद अधिवेशन र बैठक नभएका कारण प्रदेश सभाका सांसदहरु यतिबेला आआफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा गएका छन् । यतिबेला उनीहरु मतदातासँग भेट्ने र जिल्लामा भइरहेका प्रदेश सरकारका विकास आयोजनाहरुको अनुगमनमा पनि व्यस्त छन् । प्रदेश सांसद गुलावजंग शाह पनि यतिबेला आफ्नो निवार्चन क्षेत्र सल्यानमा छन् । सांसद शाहले निर्वाचित भएयता हालसम्म सल्यानको विकास निमार्णमा के कस्ता काम गरे त ? जनताका अपेक्षा कति पूरा भए ? जिल्लाको विकासमा उनको कस्तो पहल भइरहेको छ त ? यीनै विषयमा केन्द्रित रहेर हाम्रा सहकर्मी गीता थापाले सांसद शाहसँग कुराकानी गरेकी छन् । प्रस्तुत छ, कुराकानीको सांराशः

हिजोआज के गर्दै हुनुहुन्छ ?

हिजोआज आफ्नै जिल्ला सल्यानतिर छु । अहिले संसद चलेको छैन । त्यसकारण पनि सबै सांसदहरु आ आफ्नो निवार्चन क्षेत्रमा जानु भएको छ । म पनि आफ्नो निवार्चन क्षेत्रमा छु । आफ्नो जिल्लाको विकास निमार्णका काम र जनताको गुनासो सुन्ने काम भइरहेको छ । प्रदेश सरकारले विनियोजन गरेको बजेटहरु, योजना, विकास निमार्णका कामसँग जोडिएका जनताका गुनासा सुन्ने काम भइरहेको छ । सँगसँगै जिल्लामा पार्टीका कामहरुमा पनि व्यस्त छु ।

यहाँको निर्वाचन क्षेत्रमा भौतिक पूर्वाधारका काम कति गर्नुभयो ?

हामी जनतासँग यो गर्छु, त्यो गरिदिन्छु भनेर प्रतिवद्धता गरेर आएका त होइनौं । फेरी पनि जनप्रतिनिधि भएको नाताले भौतिक पूर्वाधारको क्षेत्रमा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा धेरै नै काम भएका छन् र भइरहेका छन् । भौतिक पूर्वाधारका क्षेत्रमा मेरो निवार्चन क्षेत्रमा सडक निर्माण कार्य भएका छन् । सामाजिक विकास मन्त्रालयबाट थुप्रै काम भएका छन् । हाम्रो निर्वाचन क्षेत्रमा पाँच वटा पालिका रहेका छन् । गतवर्ष ती पाँच वटै पालिकामा ६ कोठे भवनहरु निर्माण भएका छन् । त्यस्तै पाँच वटै पालिकामा दुई कोठे भवन पनि निर्माण भएको छ । वर्थिङ सेन्टरहरु, सिचाइँ, कुलो, विद्युत् निर्माण, विद्यालय भवन निर्माण, खानेपानीको व्यवस्थाका कामहरु कतिपय स्थानमा सम्पन्न भइसकेका छन् भने कतिपय स्थानमा काम भइरहेका पनि छन् । हामी निर्वाचित भएको साढे दुईवर्ष भएको छ । यो अवधीमा मेरो क्षेत्र नम्बर १ मा भौतिक निर्माणका काम थुप्रै भएका छन् । विकासका हिसावले हेर्दा मेरो जिल्ला धेरै अगाडी पुगेको छ । संघीय सरकारले ल्याएको अभियान ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई सार्थक बनाउन हामी लागी परेका छांै । प्रदेश सरकार र स्थानीय सरकारसँग मिलेर विकासको गतिलाई अगाडी बढाईरहेका छौं ।

तर योजना निर्माणका कामहरु किन समयमै सम्पन्न हुँदैनन् नी ?

योजना निर्माणका कामहरु समयमै सम्पन्न् हुन नसक्नुको मुख्य कारण कर्णाली प्रदेश सरकार नै हो । किनभने असारको महिना पास भएको बजेट असोजको आधा समयमासमेत कार्यान्वयन हुँदैन । समयमा बजेट तल्लो तहसम्म नपुगेपछि छोटो समयमा कसरी बजेट खर्च हुन्छ । अथवा समयमा नै कसरी काम सम्पन्न् हुन्छन् त ? चालु वर्षमा गत असार १ गते बजेट भाषण भयो । असार २८ गते बजेट संदनबाट पास पनि भयो । तर, अहिले असोजको आधा महिना वितिसक्दासमेत स्थानीय निकायहरुमा बजेट पुगेको छैन । न त कार्यविधी नै बनेको छ, न त काम गर्ने संरचना नै । अनि कसरी हुन्छ समयमै काम सम्पन्न ? प्रदेश सरकारले अहिलेसम्म एउटा बजेट पनि कार्यान्वयनगर्न सकेको छैन । यसरी हेर्दा त सरकारकै कमजोरी देखियो नी । बजेट पास भइसकेपछि बजेट कार्यान्वयन गर्ने जिम्मेवारी त सरकारको हो नी । सरकारले साउन १ गतेदेखि नै टेण्डर आह्वान गरेर, कार्ययोजना बनाएर काम गर्नु पर्ने हो । तर एउटा काम पनि अहिलेसम्म हुन सकेको छैन । हाम्रो काम भनेको सदनबाट बजेट पास गर्ने हो । त्यो काम हामीले असार २८ गते नै गरिसकेका छांै । अबको काम भनेको प्रदेश सरकारकै हो । सरकार अन्तिम समयमा आएर रकम रकमान्तर गर्छ अनि कसरी सकिन्छ समयमै काम ? अब गत वर्षकै बजेटको तुलना गरौ न । गत वर्ष ३४ अबै बजेट मध्ये १३ अर्ब बजेट समयमा काम सम्पन्न नहुँदा फ्रिज भयो । त्यो कसको कमजोरी ? सरकारकै हो । प्रदेश सरकारले बजेट कार्यान्वयनमा ध्यान नदिँदा समयमै काम सम्पन्न हुन नसकेको हो ।

अब संसदको अधिवेशन कहिले सुरु हुन्छ त ?


यो कुरा पनि प्रदेश सरकारमा नै भर पर्छ । प्रदेश सरकारले सदनलाई विजनेश दिए न सदनको बैठक चल्ने हो । प्रदेश सरकारले विजनेश नै दिएको छैन । कसरी सदन चल्छ त । सरकारले हो सदनमा काम लगाउने । प्रदेश सरकारले विजनेश दिएपछि मात्र सदनको बैठक बस्ने, छलफल हुने, समितिमा छलफल गर्ने हो । तर, सरकारले विजनेश नै दिएको छैन । प्रदेश सरकारले विजनेश नदिएसम्म सदन बस्नुको अर्थ नै छैन ।

कोरोना नियन्त्रणमा प्रदेश सरकारले खेलेको भुमिकाप्रति यहाँको धारणा के छ ?

कोरोना महामारी नियन्त्रणका लागी कर्णाली प्रदेश सरकारले पनि आफ्नो तहबाट राम्रो नै भुमिका खेलेको छ । यदी स्थानीय तह नभएको भए कोरोना महामारी नियन्त्रणमा समस्या नै हुन्थ्यो । स्थानीय तहहरुले कोरोना नियन्त्रणका लागी महत्वपूर्ण भुमिका खेलेका छन् । भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिकको व्यवस्थापनदेखि क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापनमा ठुलो भुमिका छ । म ७९ वटै पालिकालाई यसको लागी धन्यवाद दिन चाहान्छु । कोरोना महामारी नियन्त्रणमा यति ठुलो भुमिका निर्वाह गरिदिनु भएकोमा । उहाँहरुको कामको म प्रशंसा पनि गर्छु । यसका साथ साथै कर्णाली प्रदेश सरकारले पनि स्थानीय तहहरुलाई सहयोग गरेको छ । राहत पठाउने, सचेतना फैलाउने काम भइरहेका पनि छन् ।

कोरोना कारण रोजगारी गुमाएका युवालाई कसरी आत्मनिर्भर बनाउन सकिएला ?

गत चैत ११ गतेदेखि भएको लकडाउनले भारत र विदेशबाट स्वदेश फर्केने युवाहरु धेरै नै हुनुहुन्छ । ती युवाहरुलाई रोजगारी दिनका लागी प्रदेश सरकार नै अग्रसर हुनु जरुरी छ । सरकारले युवालाई तत्काल रोजगारी सिर्जना गर्न नसके पनि उनीहरुलाई बाख्रापालन, तरकारी खेती लगायतका विभिन्न पेशामा आवद्ध गराउन उत्प्रेरणा दिने र सहुलियतमा ऋण दिने व्यवस्था गर्नुपर्छ । युवालाई आफ्नै देशमा बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भनेर प्रदेश सरकारले सकारात्मक सोचको विकास गर्नुपर्छ ।

अबको योजना के छ ?

अबको योजना भनेको सल्यानलाई सडक संजालमार्फत प्रदेश राजधानीसँग जोड्नु हो । हामीले उक्त सडक खण्डको कामको सुरुवात पनि गरेका छौं । गतवर्ष जनता सडक निमार्ण गरेका छौं । उक्त काम पनि अबको योजनामा छ । उक्त सडकलाई सकेसम्म यो चालु वर्षमा कालोपत्रे गर्ने र नसके ग्राभेलसम्म भए पनि गर्ने योजना छ । हाम्रो निवार्चन क्षेत्रमा विद्युत् नपुगेको क्षेत्रमा विद्युत् प¥याउने योजना छ । विद्यार्थीहरुलाई व्यवस्थित विद्यालयको व्यवस्था गर्नेछांै । पुर्वाधारको क्षेत्रमा सानो बाटो पनि निमार्ण गर्ने । खानेपानी, सिचाइँको व्यवस्था गर्ने अबको हाम्रो योजना रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार