ओली–प्रचण्डबीच भेटवार्ता एकाएक स्थगित, मन्त्रिपरिषद् पुनर्गठन अनिश्चित

काठमाडौं, १४ असोज ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार हुने भनिएको भेटवार्ता एकाएक स्थगित भएको छ । ओली र प्रचण्डबीचको भेटवार्ता स्थगित भएसँगै मन्त्रिपरिषद् पुनगर्ठन पनि अनिश्चित भएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सहमति जुटाउन अध्यक्षद्वयबीच गत विहीबारयता दैनिकजासो भेटवार्ता हुँदै आएको थियो । मंगलबार दुई नेताबीच भएको छलफलमा भेटवार्तालाई निरन्तरता दिँदै जाने सहमति भएपनि अध्यक्ष प्रचण्डले आजको भेटवार्ता स्थगित गर्न आग्रह गरेपछि भेटवार्ता स्थगित भएको स्थायी समिति सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

उनले बुधबार हुने भनिएको दुई अध्यक्षबीचको भेटवार्ता स्थगित भएको तर कारणबारे आफूलाई थाहा नभएको जानकारी दिए । ‘अध्यक्ष प्रचण्डबाट भेटवार्ता स्थगित गराँ भन्ने खबर आएकाले बुधबार हुने भनिएको वार्ता स्थगित भएको छ । कारण के हो भन्नेचाहिँ थाहा भएन’, नेम्वाङको भनाइ छ ।

भेटवार्ता स्थगित हुनुको कारणबारे अध्यक्ष प्रचण्डको सचिवालयमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । यसअघि लगातार भएका छलफल र भेटवार्तामा दुवै अध्यक्षले आआफ्ना अडान नछोड्दा मन्त्रिपरिषद पुनगर्ठनमा ढिलाई भइरहेको छ ।

प्रधानमन्त्री समेत रहेका केपी ओली अहिलेको मन्त्रिमण्डलमा रहेका धेरैजसो मन्त्रिहरुलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् भने अर्का अध्यक्ष प्रचण्ड राम्रो पर्फमेन्स देखाउन नसक्ने मन्त्रिहरुलाई विदाइ गरेर नयाँ र काम गर्नसक्नेलाई समेट्नुपर्ने पक्षमा छन् । स्थायी समिति र सचिवालय बैठकको म्याण्डेटलाई समेत ख्याल गरेर मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने भएपनि उक्त म्याण्डेट विपरित ओली जान खोजेपछि सहमति जुट्न नसकेको प्रचण्ड पक्षको बुझाई छ ।

गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठक र असोज ४ गते सम्पन्न सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठन गर्ने निर्णय गरेको थियो । ति दुवै बैठकले अध्यक्षद्धयको सहमतिका आधारमा मापदण्ड तय गर्ने र सोही आधारमा नयाँ मन्त्री छनोट गर्ने टुुंगो लगाएको थियो । तर त्यसपछि मापदण्डबारे छलफल गर्न जुटेका ओली र प्रचण्ड आआफ्नो अडानबाट टसको मस नभएपछि कुरा मिल्न सकेको छैन ।

रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया