एक वर्षमा २५ हजार सुत्केरीलाई पोषण कोशेली

सुर्खेत, १४ भदौ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले २५ हजारभन्दा बढी सुत्केरीलाई पोषण कोशेली दिएको जनाएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा २५ हजारभन्दा बढीलाई पोषण कोशेली दिएको मन्त्रालयले जनाएको छ । सुत्केरी महिलाको मृत्युदर घटाउन र नवजात शिशुलाई कुपोषणबाट बचाउन प्रदेश सरकारले सुत्केरीलाई पोषण कोशेली कार्यक्रम सञ्चालन गरेको थियो ।

कुपोषणकै कारण नवजात शिशु र मातृ मृत्युदर घटाउन कर्णाली प्रदेशमा नवजात सुत्केरीलाई पोषण कोशेली कार्यक्रम सञ्चालन गरेको थियो । सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा पाँच वर्ष मुनिका एकसय ८६ जना बालबालिकाको मृत्यु भएको छ । त्यस्तै गत आर्थिक वर्षमै कर्णालीमा १३ जना सुत्केरीको मृत्यु भएको छ । पोषण अभाव लगायतका विभिन्न कारणले गतवर्ष कर्णालीका एकसय ४३ जना शिशु जन्मजात मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा दुईवर्ष मुनिका पाँच प्रतिशत बालबालिका कम तौल भएका छन् । भौगोलिक विकटता, दुर्गम बस्तीमा स्वास्थ्य संस्था नहुनु र जनचेतना अभावका कारण कर्णालीका ३० प्रतिशत बालबालिकाहरु खोपबाट बन्चित हुँदै आएका छन् ।

कर्णाली प्रदेश सरकारले आमा र शिशुको सुरक्षाको लागि भन्दै खानपान र स्वास्थ्य जनचेतनामा विशेष जोड दिँदै आएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा ५६ प्रतिशत सुत्केरीमात्रै स्वास्थ्य संस्थाबाट प्रसुति सेवा लिने गरेका छन् । भौगोलिक विकटता र जनचेतनाको अभाव कारण कर्णालीमा स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या न्यून छ । गर्भवतीको ज्यान जोगाउन कर्णाली प्रदेश सरकारले गाउँगाउँमा स्वास्थ्य संस्थाको स्थापना र स्वयमसेविकाहरुको संख्या बृद्धि गर्दै आएको छ । गत वर्षमात्रै कर्णाली प्रदेश सरकारले कर्णालीका चार हजार तीन सय ४१ जना स्वयमसेविकाहरुलाई थप भक्ता उपलब्ध गराएको थियो । कर्णाली प्रदेशमा हाल विभिन्न ६ सय २६ वटा सेवा प्रदायक स्वास्थ्य संस्थाहरु छन् । प्रदेशभर २० वटा अस्पताल, १४ वटा प्राथमिक केन्द्र, तीनसय ३५ वटा स्वास्थ्यचौकी, एउटा आयुर्वेद औषधालय, तीनसय चार वटा बर्थिङ् सेन्टर छन् ।

त्यस्तै चार हजार एक सय १४ जना महिला स्वास्थ्य स्वयंमसेविका, एक हजार तीन सय ४३ वटा खोप क्लिनिक, नौसय ९८ वटा गाउँघर क्लिनिक, ९४ वटा सामुदायिक स्वास्थ्य इकाई, ८९ वटा आधारभूत स्वास्थ्य संस्थाहरु रहेका छन् । तर पनि कर्णालीका सबै गर्भवतीहरुले सहज रुपमा स्वास्थ्य सेवा लिन सकेका छैनन् । आर्थिक वर्षमा ६८ प्रतिशत सुत्केरीले मात्रै स्वास्थ्य संस्थाबाट सेवा लिएका छन् । त्यस्तै ५६ प्रतिशत मात्रै दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी भएका छन् । कर्णालीको यही विकराल अवस्थाको अन्त्यका लागि गत आर्थिक वर्षदेखि कर्णालीमा सुत्केरीलाई पोषण कोशेली सञ्चालनमा ल्याएको हो ।

कोशेलीमै सकियो पाँच करोड बजेट


कर्णाली प्रदेश सरकारले सुरु गरेको ‘सुत्केरीलाई पोषण कोशेली’ कार्यक्रममा झण्डै पाँच करोडभन्दा बढी रकम खर्च भएको छ । सुत्केरी आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउने उद्देश्य अनुसार प्रदेश सरकारले प्रति सुत्केरीलाई दुई हजार रुपैयाँ वितरण गरेको हो । प्रदेश सरकारको सिको गर्दै कर्णालीका विभिन्न स्थानीय तहलेसमेत गर्भवती लक्षित कार्यक्रम सुरु गरेका छन् । स्थानीय तहले कोशेली कार्यक्रममा अन्तरगत सुत्केरी आमालाई अण्डा, फलफूल वितरण गर्दै आएका छन् । त्यस्तै केही स्थानीय तहले भने बच्चा तथा आमाको सरसफाइका सामानहरू दिँदै आएका छन् । कोशेली कार्यक्रम स्थानीय तहका महिला जनप्रतिनिधको एउट लोकप्रिय कार्यक्रमसमेत हो ।

क्यान्सरपीडितलाई यातायात खर्च

यस्तै कर्णाली प्रदेश सरकारले ४९ जना क्यान्सरपीडितलाई यातायात वापतको रुकम उपलब्ध गराएको छ । प्रदेशका विभिन्न जिल्लाका ति क्यान्सरपीडितलाई यातायात शुल्क वापत प्रतिव्यक्ति दश हजार रुपैयाँ उपलब्ध गराएको हो । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत उनीहरुलाई सो रकम उपलब्ध गराएको मन्त्रालयले जनाएको छ ।

तथ्याङ्क अनुसार सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा मन्त्रालयले कोरोना भाइरसबाट नागरिकको ज्यान जोगाउनुलाई सबैभन्दा ठूलो उपलब्धि ठानेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा झण्डै ५० हजार नागरिकलाई क्वारेन्टाइनमा राखेको जनाएको छ । तथ्याङ्क अनुसार आर्थिक मसान्तसम्म क्वोन्टाइनमा बस्नेको संख्या ४९ हजार नौ सय २९ जना छन् । जसमध्ये डोल्पामा चारसय ८३ जना, मुगुमा एक हजार तीन सय १७ जना, हुम्लामा सातसय ५१ जना, जुम्लामा एक हजार पाँच सय ४४ जनालाई क्वारेन्टाइनमा राखेको जनाएको छ ।

त्यस्तै कालिकोटमा ६ हजार दुईसय तीन जना, दैलेखमा १२ हजार आठसय ५१ जना, जाजरकोटमा तीन हजार ५७ जना, रुकुमपश्चिममा दुई हजार आठसय ६६ जना, सल्यानमा पाँच हजार दुईसय ६६ जना र सुर्खेतमा १५ हजार पाँच सय ९१ जनालाई सेवा दिएको मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोना संक्रमणपछि एक हजार सात सय १४ जनालाई विभिन्न अस्पतालका आइसोलेसनमा राखेर सेवा दिएको छ । समुदायमा कोरोना फैलिन नदिन र नागरिकको सुरक्षालाई ध्यानमा कोरोना नियन्त्रणको काम नै मन्त्रालयले सबैभन्दा ठूलो उपलब्धि ठानेको छ । मन्त्रालयका अनुसार आर्थिक मसान्तसम्म विभिन्न जिल्लामा गरी एक हजार तीन सय ८८ बेडको आइसोलेसन कक्षा निर्माण गरेको थियो । त्यस्तै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने प्रदेश अस्पताललाई तीन सय शैयाको सञ्चालनको लागि भौतिक पूर्वाधार निर्माण गरेको, प्रदेशका सबै जिल्ला अस्पताललाई स्तरोन्नती गरेर ५० शैयाको बनाउनुलाई पनि स्वास्थ्य क्षेत्रको उपलब्धि ठानेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार