बढ्दै जटिल प्रकृतिका संक्रमित

सुर्खेत, १३ असोज ।

पछिल्लो समय लकडाउनलाई पूर्णरुपमा खुलुलो पारिएको छ । कोरोना संक्रमण नरोकिए पनि ६ महिनापछि आवागमनमा सहज पारिएको हो । अवस्था सहज बनाउन व्यापार व्यवसाय, लामो दुरीका याताया र विद्यालयहरु खुल्न थालेका छन् । तर लकडाउन खुकुलो भएसँगै कर्णालीमा कोरोना संक्रमणको दर भने दिन प्रतिदिन उकालो लाग्दै गएको छ ।

सुरक्षा र सावधानी उपायहरु पूर्णरुपमा पालन गरिएको छैन । जसकाकारण कर्णाली प्रदेशमा पनि संक्रमणको दर बढ्दै गएको हो । सहज आवागमनपछि जटिल प्रकृतिका संक्रमितको संख्या पनि बढ्दै गएको छ । कर्णाली प्रदेशमा हाल १८ जना जटिल प्रकृतिका संक्रमितहरु आईसीयूमा उपचाररत छन् । १८ जना नै प्रदेश अस्पताल सुर्खेतको आईसीयू कक्षमा छन् । प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकलपर्सन डाक्टर नवराज केसीका अनुसार संक्रमितमध्ये तीन जनाको अवस्था गम्भिर छ । उनीहरु लामो समयदेखि दीर्घरोगी र बृद्धहरु हुन् । यसअघि प्रदेश अस्पतालको आईसीमा राखिएका ४० जना उपचारपछि घर फर्किएका छन् । ‘लकडाउन खुकुलो भएसँगै जटिल प्रकृतिका संक्रमित बढेका छन्’ डाक्टर केसीले भने, ‘अझै तीन महिनासम्म संक्रमणको दर उच्च हुन्छ ।’ दशैं र तिहारमा संक्रमित क्षेत्रबाट आउनेहरुको संख्या बढ्दासंक्रमणको दर उच्च हुने उनको भनाइ छ ।

कर्णाली प्रदेशका अन्य जिल्लाको तुलनामा सुर्खेतमा संक्रमणको दर उच्च छ । चहलपहल बढी हुने भएकाकारण वीरेन्द्रनगरम संक्रमणको दर उच्च रहेको हो । पछिल्लो समय वीरेन्द्रनगरमा संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश अस्पतालको आइसोलेसन कक्षसमेत भरिन थालेको छ । डाक्टर केसीका अनुसार हाल प्रदेश अस्पतालको आइसोलेसनमा मात्रै ६० जना भन्दाबढी संक्रमित छन् ।

संक्रमित बढ्दै गएपछि लक्षण भएकालाइ मात्रै अस्पतालको आइसोलेसनमा राख्ने गरिएको छ । लक्षणविहीन संक्रमित भने होमआइसोलेसन र होटल आइसोलेसनमा बसेका छन् । सुर्खेतको तुलनामा अन्य जिल्लामा भने संक्रमितको संख्या न्यून छ । कुनैबेला कोरोनाको हटस्पट मानिने दैलेखमा हाल २१ जना मात्रै सक्रिय संक्रमित छन् । त्यहाँ हालसम्म कसैलाई पनि आईसीयूमा राख्नुपर्ने अवस्था नआएको दैलेखका कोरोना फोकलपर्सन थिरप्रसाद रेग्मीले बताए ।

७३ हजार जनाको पीसीआर

कर्णाली प्रदेशमा हालसम्म ७३ हजारभन्दा बढीको पीसीआर परीक्षण गरिएको छ । गत बैशाख २० गतेदेखि पीसीआर परीक्षण सुरु भएको कर्णालीमा आइतबारसम्म ७३ हजार ६ सय १० जनाको पीसीआर परीक्षण गरेको जनाएको हो । सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार सुर्खेतमा सबैभन्दा धेरै पीसीआर परीक्षण गरेको ।

सुर्खेतस्थित प्रदेश अस्पताल तथा पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा ३६ हजार तीनसय २५ जनाको पीसीआर परीक्षण गरिएको हो । त्यस्तै प्रतिष्ठानमा २५ हजार पाँचसय ९० जनाको पीसीआर परीक्षण गरेको छ । दैलेख अस्पताल दैलेखमा चार हजार सातसय १४ जना र रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशालामा ६ हजार नौसय ८१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

कहाँ छन् पाँचसय सक्रिय संक्रमित ?

कर्णाली प्रदेशभर हाल झण्डै पाँचसय अर्थात् चारसय ९३ जना संक्रिय संक्रमित छन् । संक्रमितमध्ये आधा संक्रमित होमआइसोलेसनमा बसेका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतका कुल तीनसय ४६ जना सक्रिय संक्रमित मध्ये दुईसय २३ जना होमआइसोलेसनमा बसेका छन् । सुर्खेतका सक्रिय संक्रमित मध्ये प्रदेश अस्पतालमा ६२ जना, वीरेन्द्रनगर आइसोलेसनमा १६ जना, वीरेन्द्रनगर होटल आइसोलेसनमा १५ जना, भेरीगंगा आइसोलेसनमा दुईजना, गुर्भाकोट आइसोलेसनमा २२ जना, वराहताल होम आइसोलेसनमा एकजना र सिम्ता गाउँपालिकाको आइसोलेसनमा तीन जना छन् । त्यस्तै दैलेखका २२ जना संक्रिय संक्रमित मध्ये दैलेख अस्पतालको आइसोलेसनमा चारजना, चामुण्डा आइसोलेसनमा पाँच जना, आठबिस आइसोलेसनमा आठजना र ठाँकीकाँध आइसोलेसनमा चारजना छन् ।

जाजरकोटको नलगाड आइसोलेसनमा ६ जना, सल्यानको सल्यान क्याम्पसको आइसोलेसनमा २३ जना, बनगाडकुपिन्डे आइसोलेसनमा ४८ जना, छत्रेश्वरी आइसोलेसनमा दुईजना र कपुरकोट आइसोलेसनमा एकजना संक्रिय संक्रमित छन् । त्यस्तै रुकुमपश्चिमका ४५ जना संक्रमित मध्ये चौरजहारी अस्पतालमा ३५ जना, सानीभेरी आइसोलेसनमा पाँचजना, मुसिकोट आइसोलेसनमा एकजना, त्रिवेणी गाउँपालिकामा होमआइसोलेसनमा चार जना र डोल्पाको त्रिपुरासुन्दरी आइसोलेसनमामा एकजना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशका जुम्ला, हुम्ला, कालिकोट र मुगुमा भने सक्रिय संक्रमितको संख्या शुन्य छ ।

कुल संक्रमितमध्ये सुर्खेतमा संक्रमितको संख्या सबैभन्दा बढी छन् । सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार सुर्खेतका एकहजार एकसय ८६ जना, दैलेखका एकहजार एकसय २६ जना, सल्यानका तीनसय ५५ जना, जुम्लाका एकसय ९४ जना, कालिकोटका एकसय २१ जना, रुकुमपश्चिमका एकसय १८ जना पुगेका छन् । त्यस्तै जाजरकोटका ७५ जना, हुम्लाका ११ जना, मुगुका १४ जना, डोल्पामा नौ जना, र अन्य अन्य प्रदेशका दुईसय ३३ जना छन् ।

जाजरकोटका संक्रमितको बाँकेमा मृत्यु

जाजरकोटको जुनीचाँदी–५ की ७६ वर्षीया महिलको कोरोना संक्रमणबाट मृत्यु भएको छ । होमआइसोलेसनमा बसेकी उनको सोमबार बाँकेमा मृत्यु भएको छ । बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठका अनुसार उनी संक्रमण पुष्टि भएपछि होमआइसोलेसनमा बसेकी थिइन् । उनलाई असोज ६ गते कोरोना पुष्टि भएको थियो । होमआइसोलेसनमा बसेकै बेलामा गम्भिर विरामी भएपछि उपचारका लागि कोहलपुर मेडिकल कलेज पु¥याइएको थियो । अस्पतालमा पु¥याए पनि उपचार हुन नपाउँदै मृत्यु भएको हो । उनी लामो समयदेखि बाँकेमा बस्दै आएकी थिइन् ।

१९ जना प्रहरीमा संक्रमण

कर्णाली प्रदेशमा सोमबार ३३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित मध्ये सुर्खेतस्थित महेश्वरी वाहिनीमा कार्यरत १९ जना सुरक्षाकर्मी छन् । ठेगानाका आधारमा संक्रमितहरु सुर्खेतमा २० जना, जाजरकोटका तीन जना, दैलेख र जुम्लामा दुइ÷दुइ जना, कालिकोटका एक जना र अन्य प्रदेशका तीन जना छन् । योसँगै कर्णालीमा कुल संक्रमित हुनेको संख्या तीन हजार चारसय ४२ जना पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै कर्णाली प्रदेशका विभिन्न अस्पताल र आइसोलेसनबाट १५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या दुई हजार आठ सय ४२ जना छ ।

तपाईको प्रतिक्रिया