ऐपेन्डिसाईटिसको सफल शल्यक्रिया

हुम्ला, १३ असोज ।

जिल्ला अस्पताल हुम्लामा पहिलो पटक ऐपेन्डिसाईटिस भएकी युवतीको शल्यक्रिया गरिएको छ । सिमकोट गाउँपालिका वडा नम्बर २ की १८ वर्षीया सरिता भण्डारीलाई शंका लागेपछि किल्निकल डाग्नोसिस र ल्याब परीक्षण गर्दा ऐपेन्डिसाईटिस भएको पत्ता लागेपछि उनको शल्यक्रिया गरिएको हो ।

आवश्यक उपकरण र दक्ष जनशक्तिको व्यवस्थापन भएपछि बिरामीको शल्यक्रिया गर्न सफल भएको अस्पतालले जनाएको छ । समयमै उपचारका लागि अस्पताल पुगेका कारण युवतीको सही समयमा उपचार गरी ज्यान जोगाउन सफल भएको डा. अमित बिष्टले बताए । उनले भने,‘उहाँ अस्पताल पुगेपछि हामीले सानो युएसबीको सहायताले दुखेको भागमा हेर्दा ऐपेन्डिसाईटिस भएको पत्ता लागेपछि तत्काल शल्यक्रिया गरेका हौँ । अहिले उहाँ ठिक हुनुहुन्छ ।’

चिकित्सक बस्न नमान्ने र उपचारका लागि आवश्यक उपकरण नहुँदा हुम्लाका बिरामीले सास्ती खेप्नु परेको थियो । तर साउन यता अस्पतालमा विभिन्न उपकरणहरु जडान भएका कारण बिरामीहरुलाई उपचारमा सहजता हुन थालेको छ ।

तपाईको प्रतिक्रिया