कर्णालीबासीका दुःख उस्तै, गाउँमा केवल साइनबोर्ड मात्र

सुर्खेत, १२ असोज ।

स्थानीय सरकार गठन भएको साढे तीनवर्ष वित्यो । यो अवधिमा दुर्गमका नागरिकले गाउँमा सिंहदरबार आएको अनुभूति गर्न सकेका छैनन् । न त नागरिकको त्यो अपेक्षालाई स्थानीय तहले नै पूरा गर्न सकेका छन् । बरु कर्णालीका अधिकांश स्थानीय तहका गाउँमा केवल साइनबोर्ड मात्र छन् । ति स्थानीय तहले अहिले पनि जिल्ला सदरमुकामबाटै सेवा प्रवाह गरिरहेका छन् । कर्णालीका विकट हुम्ला, डोल्पा, मुगु र जाजरकोटमा केही स्थानीय तहको काम अहिले पनि सदरमुकामबाटै हुन्छ ।

गाउँमा केवल स्थानीय तहका साइनबोर्ड र कार्यालय सहयोगी मात्र छन् । सामान्य सिफारिसका लागि पनि यहाँका बासिन्दा जनप्रतिनिधि र कर्मचारी खोज्दै सदरमुकाम धाउन बाध्य छन् । गाउँमै रहेको वडा कार्यालयबाट पाइने सुविधा लिन पनि सर्वसाधारण हप्तौ पैदल हिँडेर सदरमुकाममा रहेका स्थानीय तहका सम्पर्क कार्यालयमा धाउन बाध्य छन् । डोल्पाका शे–फोक्सुण्डो, डोल्पोबुद्ध र काइके गाउँपालिकाको सबै काम सदरमुकाम दुनैबाट हुन्छ । यी स्थानीय तहका नागरिकले ‘गाउँका सिंहदरबार’ भनिने स्थानीय तहको सेवा गाउँमै पाउँदैनन् ।

गाउँमा यी स्थानीय तहका केवल साइनबोर्ड मात्र छन् । यहाँका जनप्रतिनिधि र कर्मचारी गाउँसभाको बेलामा मात्र गाउँ पुग्छन् । अरुबेला गाउँपालिकाको कार्यालय सुनसान हुन्छन् । स्थानीयहरु गाउँपालिकाको सेवा लिन दुईदेखि तीन दिनसम्म पैदल हिँडेर दुनै पुग्छन् । गाउँपालिकाको केन्द्रमा कर्मचारी जान नसक्ने भएकाले दुनैमा कार्यालय खोलेर काम गरिरहेको शेफोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसीतुन्डुप गुरुङ्गले बताए । हुम्लाका नाम्खा, अदानचुली र सर्केगाड गाउँपालिकाका कार्यालय पनि अधिकांश समय सुनसान हुन्छन् । स्थानीयहरु जनप्रतिनिधि र कर्मचारी खोज्दै सदरमुकाम सिमकोट पुग्न बाध्य छन् ।

जनप्रतिनिधि र कर्मचारी गाउँसभाको बेलामा मात्र गाउँ पुग्छन् । दुर्गमका स्थानीय तहमा कर्मचारी मात्र होइन, वडाध्यक्षहरु पनि सदरमुकाममै सम्पर्क कार्यालय खोलेर बसेका छन् । जाजरकोटको जुनीचाँदे गाउँपालिकले पनि सदरमुकाम खलंगामा सम्पर्क खोलेको छ । यहाँका जनप्रतिनिधि र कर्मचारी पनि गाउँमा बस्दैनन् । सर्वसाधारणहरु सेवा लिन सदरमुकाम धाउने गरेका हुन् । तीनबर्ष वितिसक्दा पनि गाँउपालिकाको कार्यालय गाँउमा नजाँदा स्थानीय निराश छन् । केन्द्र विवादका कारण गाँउपालिकाको कार्यालय सदरमुकाममा अड्किएको छ ।

स्थानीय सर्पराज रावतले भने,‘गाँउपालिकाको सबै काम सदरमुकामबाटै हुन्छ, योजनाको सम्झौता र भुक्तानीका लागी दुईदिन पैदल हिँडेर सदरमुकाम धाउनुपर्ने बाध्यता छ । हामीले गाँउपालिकाबाटै सेवा कहिले पाउँला ? हाम्रा लागि त दुख उस्तै छन् ।’ डोल्पाका स्थानीय सोनामाक्याजेन गुरुङले गाउँमा वडा कार्यालय भए पनि हालसम्म त्यहाँबाट सेवा पाउन नसकिएको बताए । उनले भने,‘देशमा शासन व्यवस्था बदलियो, तर हाम्रा लागि केही सुविधा मिलेन । पहिले पनि पैदलै जान्थ्यौं, अहिले पनि हप्तौसम्म हिँडेर सेवा लिन दुनै जानुपर्छ ।


अधिकांश वडा सचिवविहीन

स्थानीय तहमा कर्मचारीको अभाव कायमै छ । दुर्गममा कर्मचारी बस्न नमान्ने समस्याका कारण कर्णालीका अधिकांश वडाहरु सचिवविहीन छन् । जसलेगर्दा एउटै वडासचिवले एक दर्जन वडाको काम गर्नुपर्ने बाध्यता छ । धेरै वडाको काम एक्लैले गर्नुपर्ने भएकाले पनि वडा सचिवहरुले नागरिकलाई सेवा लिन सदरमुकाममा बोलाउने र आफूले सम्पर्क कार्यालय खोल्ने गरेका हुन् । आफु एक्लैले वडा तहमा गएर सबैलाई सेवा दिन नसक्ने भएकाले स्थानीयलाई नै दुनै बोलाउने गरेको डोल्पामा कार्यरत एक वडासचिवले बताए । ‘स्थानीय तहमा वडासचिव नहुँदा पनि समस्या भयो’ शे–फोक्सुण्डो गाँउपालिकाका अध्यक्ष टसिटुण्डुप गुरुङले भने,‘वडा तहमा सेवा दिन त सम्भव नै छैन, हामीले वडाबाटै सेवा दिने पर्यत्न गरी रहेका छौं । कर्मचारी नभएर समस्या परेको हो ।’ नगरपालिकाका ११ वटै वडामा बर्षौदेखी एकजना सचिवले मात्र काम गरी रहेको त्रिपुरासुन्दरी नगरपालिकाले जनानएको छ ।

त्यस्तै काइके गाँउपालिकामा पनि एकजना सचिवले सात वटा वडाको काम गरी रहेका छन् । डोल्पाका ६५ वटा वडाको काम २९ जना वडासचिवले धानेका छन् । जाजरकोटमा पनि एउटा वडासचिवले नै धेरै वडाको काम गर्दै आएका छन् । दुर्गममा कर्मचारी बस्न नमान्ने समस्याका कारण पनि वडाबाट सेवा प्रवाह हुन सकेको छैन ।

जनप्रतिनिधिले डोजर चलाउँदा स्थानीयले रोजगारी गुमाए

स्थानीय सरकार गठन भएपछि गाउँमा सडक निर्माण थालियो । कर्णालीका अधिकांश स्थानीय तहमा निर्माण हुने सडक तथा अन्य आयोजनामा डोजर प्रयोग गरेकै कारण स्थानीयले रोजगारी गुमाएका छन् । जनप्रतिनिधि कमाउ धन्दामा लाग्दा स्थानीयले रोजगारी गुमाउनुपर्ने अवस्था आएको हो । सुर्खेतको चौकुने गाउँपालिकाका धनबहादुर पुलामीले गाउँमै रोजगारी पाउने अपेक्षा गरेका थिए । तर कालापहाडमा मजदुरी गरेर परिवार पाल्दै आएका उनको त्यो अपेक्षा पनि अधुरै छ । कारण जनप्रतिनिधिले नै उनको रोजगारी खोसेका छन् । स्थानीयले गाउँमा निर्माण हुन लागेको सडकमा आफूहरुले काम गर्न पाउनुपर्ने माग गरेका थिए । तर स्थानीय जनप्रतिनिधिले जबर्जस्ती डोजर प्रयोग गरे ।

जनप्रतिनिधिको स्वार्थमा रातारात डोजरले सडक खनेपछि स्थानीयहरु मजदुरीका लागि भारत छिर्न बाध्य भए । ‘अहिले पनि गाउँमा निर्माण हुने सबै सडकमा डोजर प्रयोग गरिन्छ’ मुगुको छायाँनाथ रारा नगरपालिकाका राजबहादुर नेपालीले भने, ‘परिवार पाल्नकै लागि भए पनि बाध्य भएर कालापहाड छिर्नुपर्छ, गाउँमै रोजगारी दिनुको साटो जनप्रतिनिधिले नै रोजगारी खोस्ने काम गरेका छन् ।’ उनी जस्तै कर्णालीका सयौं युवा गाउँमा रोजगारी नपाउँदा वर्षेनी भारत छिर्छन् । भारतमा दुख गरेर पैंसा कमाउनुभन्दा आफ्नै ठाउँको बाटोघाटो बनाएर पैंसा कमाउने अपेक्षा रहेको स्थानीय जुम्लाका देवीप्रसाद पाण्डेले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार