आमाबुवाको इच्छा पूरा गर्न निजामतिमा आएँ

‘तँ आँट, म पु¥याउँछु’ सायद भाग्यले कर्मलाई यस्तै भन्छ होला । यही विषयलाई कतिपय व्यक्तिले आफ्नो व्यवहारमा पनि उतार्ने प्रयास गर्छन् । तर कर्मदेखि हार्नेहरु भाग्यलाई दोष दिन्छन् । बरु ‘मेरो त भाग्य नै यस्तै रहेछ’ भनेर आफू असफल भएको प्रतिक्रिया दिन्छन् । तर कर्ममा विश्वास गर्नेहरु निरन्तर लागि पर्छन् र लक्ष्यसम्म पुग्छन् । यस्तै मध्येकी एक हुन् लक्ष्मी खरेल । ‘छोरीहरु साहसी र छोराहरु जस्तै निडर बन्नुपर्छ’ आत्मबल बढाउन बाआमाले सानैदेखि खरेललाई भन्ने शब्द हो यो । प्रस्तुछ,  हाल सुर्खेत कारागार कार्यालयमा जेलरको रुपमा कार्यरत खरेलको जीवन भोगाइ र निजामति सेवाको अनुवभ समेटिएको शारांस ः

भागेर रोपाइँमा जान्थिन्

लक्ष्मी आमा नन्दकुमारी र बुवा मोतिप्रसाद खरेलको पहिलो सन्तान हुन् । विस २०४४ साल पुस १५ गते सुर्खेतको साविक नेटा गाविसमा जन्मिएकी उनको बाल्यकाल भने लेखफर्सामा वित्यो । आमाबुवा शिक्षित भएका कारण बढ्ने घरमा पढ्ने बातावरण पाइन् । बुवा व्यापार व्यवसायमा संलग्न भएका कारण उनले मेलामात गर्नु परेन । ‘किसान परिवारमा जन्मिए पनि मैले मेलापात गर्नु परेन’ उनी भन्छिन्, ‘घरमा एउटा मात्रै गाइ पालेका थियौँ, जग्गा जमिन सबै अरुले लगाउँथे ।’ तर सानोमा उनी मेलापात गर्न भने रहर मान्थिन् । कहिलेकाँही भागेर पनि मेलापात जान्थिन् । रहरै रहरमा गाइको स्याहरसुहार गर्थिन् । ‘मलाई घाँसदाउरा गर्न र रोपाइँ जान खुब मन पथ्र्याे’ उनी भन्छिन् ‘कहिलेकाँही त म भागेर भए पनि रोपाइँ गर्न जान्थे ।’ सानोमा रहर भए पनि बुझ्ने भएपछि आमाबुवालाई सघाउने गर्थिन् । ‘बुवा नभएको बेला पसल कुर्थे’ उनी भन्छिन्, ‘जेठी छोरी भएका कारण घरको काम र भाइबहिनीको रेखदेख पनि गर्र्नै पथ्र्याे ।’ ‘छोरी तिमी साहसी हुनुपर्छ’ पढाइ लेखाइ गर्दा होस् या अन्य घरायसी काम । बाआमाले उनलाई हौसला प्रदान गर्न यसैगरी सम्झाउँथे । आमाबुवाले ‘छोरी पनि छोरा जस्तै निडर हुनुपर्छ भनिरहँदा कहिलेकाँही के साँचिक्कै छोरीहरु कमजोर हुन्छन् ?’ भनेर सोच्ने उनी भन्छिन् । व्यापार व्यवसाय राम्रो भएका कारण उनले कहिलै आर्थिक अभाव बेहोर्नु परेन ।

अनि कम्प्युटर पढिन्…

सायद २०५७ सालको कुरा हो । लक्ष्मी भर्खर १३ बर्षिकी थिइन् । बुवासँग घुम्न नेपालगञ्ज गएकी थिइन् । त्यहीबेला हर्लिक्स कम्पनीमा कसैले कम्प्युटर चलाइ रहेका थिए । ‘ऊ कम्प्युटर भनेको त्यही हो’ बुवाले उनलाई पहिलो पटक कम्प्युटर देखाए । त्यही दिनदेखि उनलाई कम्प्युटर चलाउन पाएको भए हुन्थ्यो भन्ने लाग्यो । यही रहरका कारण एसएलसीपछि तीन महिने वेशिक कम्प्युटर पढिन् । एसएलसीपछि कम्प्युटर विषयमै उच्च शिक्षा हाँसिल गरेकी छिन् । गाउँकै जन प्राथमिक विद्यालय औपचारिक अध्ययन सुरु गरेकी उनले त्यहाँ कक्षा १ देखि ५ सम्म अध्ययन गरिन् । ६ देखि एसएलसीसम्म आदर्श मावि लेखफर्सा, तत्कालिन आदर्श उच्च मावि (हाल मावि) नेपालगञ्जबाट प्लसटु, इन्जिनियरिङ्ग कलेज धनगढीबाट ब्याचलर र शंकरदेव क्याम्पस काठमाडौबाट स्नातकोत्तरको अध्ययन गरेकी छिन् । एसएलसीपछि स्नातकोत्तरसम्म कम्प्युटर विषय अध्ययन गरेकी उनले कानूनी ज्ञानका लागि नेपाल ल क्याम्पसबाट एलएलवीसमेत गरेकी छिन् ।

निजामतिमा क्षेत्रमा प्रवेश

लक्ष्मी सानो छँदा सानो गाडीमा एन्टेना राखेका संघसंस्थाका कर्मचारीहरु गाउँमा पुग्थे । उनीहरुले नागरिकको पक्षमै पैरवी गर्थे । समाजलाई केही नयाँ ज्ञान सिकाउँथे । उनीहरुको गाउँघरमा खुब चर्चा र सम्मान हुन्थ्यो । ‘भोलि एनजीओ÷आइएनजीमा आइटी अफिसर बन्न पाए हुन्थ्यो’ कहिलेकाँही उनले पनि सोच्थिन् । संयोगवस एसएलसीपछि कम्प्युटर विषयमै उच्च शिक्षा हाँसिल गरिन् । त्यतिबेलासम्म उनको रुचि भनेकै कुनै संघसंस्थामा कम्प्युटर अफिसर बन्ने थियो । तर जब निजामति क्षेत्रमा क्रियाशिल व्यक्तिलाई जीवनसाथी बनाइन् । त्यसपछि लक्ष्मी पनि निजामति क्षेत्रमै प्रवेश गर्ने वातावरण मिल्यो । ‘छोरी पनि सरकारी कर्मचारी बन्नुपर्छ, हाम्रो इच्छा पनि यही हो’ बुवाआमालाई छोरीले सरकारी जागिर खाएको हेर्ने धोको सुनाएपछि उनी निजामित क्षेत्रमा आएको बताउँछिन् । ‘सानैदेखि एनजीओ÷आइएनजीकोओमा कम्प्युटर अफिसर बन्ने रहर थियो, निजामित क्षेत्रमा आउने त सोचेकी पनि थिइँन’ उनी भन्छिन्, ‘जीवनसाथी र आमाबुवाको इच्छा अनुसार नै निजामित क्षेत्रमा आएकी हुँ ।’ २०७० सालमा जिल्ला अदालत जाजरकोटमा कम्प्युटर अप्रेटर पदबाट निजामति सेवामा प्रवेश गरेकी हुन् ।

उनले २०७१ सालमा शाखा अधिकृतमा पदमा सफल भएपछि गृह मन्त्रालय अन्तरगतका कार्यालयमा रहेर सेवा गर्दै आएकी छिन् । तत्कालिन क्षेत्रिय प्रशासन कार्यालय सुर्खेत, जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सेवा गरिसकेकी उनीे करिव डेढ वर्षदेखि सुर्खेत कारागार कार्यालयमा जेलरको रुपमा कार्यरत छिन् । गृह मन्त्रालयले जिम्मेवारी दिँदा सजिलै कारागार चलाउन सकिएला जस्तो लागेको थिएन । ‘सुरुमा कारागारको नेतृत्व गर्न सकिदैन भन्ने थियो, मनमा अलिअली डर पनि लागेको थियो’ कारागारको जिम्मेवारी पाउँदाका क्षण सम्झदै उनी भन्छिन्, ‘आमाले छोरीहरु साहसी हुनुपर्छ भन्ने कुरा सम्झीए, आँटेपछि सबै सकिदो रहेछ ।’ उसो त कारागारको जागिर २४ घण्टे डिउटी जस्तै हो । ‘कारागारमा आउने व्यक्तिको कुनै टुङ्गो हुँदैन, कहिले राती १२ बजेट त, कहिले विहान ६ बजे नै कारागार पुग्नुपर्छ’ उनी सुनाउँछिन्, ‘कारागारमा कोही विरामी भए अति संवेदनशिल हुनुपर्छ ।’ कारागार बस्ने अधिकांश व्यक्ति मानसिक रोगी हुनसक्ने भन्दै उनले मानसिक अवस्था बुझेर मनोपरामर्श र उत्प्रेरणाका कुराहरु सिकाउनुपर्ने उनको भनाइ छ ।

गृह मन्त्रालयको सचिव बन्ने रहर

निजामति सेवामा प्रवेश गरेको साढे सात बर्षमै विभिन्न कार्यालयमा रहेर प्रशासनिक काम गरिरहेकी लक्ष्मीलाई भने एक पटक गृह मन्त्रालयको सचिव बन्ने रहर छ । ‘हरेक चुनौतिहरु मेरा लागि अवसरहरु हुन्’ उनी भन्छिन्, ‘समयले साथ दिएछ भने एकपटक गृह मन्त्रालयको सचिव हुने धोको छ ।’ छोरीप्रति समाजको कमजोर मानसिक सोचाइ बदल्न हरेक नारीहरु साहसी र निडर हुनुपर्ने उनको सुझाव छ । शारीरिक व्यायाम र ध्यानमा विशेष रुचि राख्ने उनी सूचनामा नजिक हुन्छिन् । ‘रेडियो त मेरो सबैभन्दा नजिकको साथी हो, वीवीसी र विहानको समाचार कहिलै छुटाउँदिन’ उनी भन्छिन् ‘ गुगलको प्रयोग गरेर ज्ञानहरु बढाउँछु ।’

तपाईको प्रतिक्रिया